प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार मोहबहादुर बस्नेतले लगातार अग्रता लिइरहेका छन्।
गठबन्धनको बलमा उनले एमाले उम्मेदवार शेरबहादुर तामाङविरुद्ध मतान्तर बढाउँदै लगेका छन्। झण्डै १२ हजार ५९ मतगणना हुँदा बस्नेतले ६ हजार ५ सय ९२ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका तामाङले ४ हजार ६ सय ४२ मत ल्याएका छन्।
हालसम्म इन्द्रावती गाउँपालिकाको आठवटा वडाको मतपरिणाम सार्वजनिक हुँदा बस्नेतले १ हजार ९ सय ५० मतको अग्रता बनाएका छन्। सुरुदेखि अग्रता लिएका बस्नेत अहिलेसम्म पछि परेका छैनन्। एमाले पकड क्षेत्रमै उनले सहज अग्रता बनाए। अझै यो पालिकाको तीनवटा वडाको मत गन्न बाँकी छ।
पूर्वमन्त्री रहेका तामाङ २०७४ को निर्वाचन यसै क्षेत्रबाट निर्वाचित भएका थिए। उक्त चुनावमा क्षेत्र नं. १ बाट पराजित पूर्वमन्त्री नै रहेका बस्नेत गठबन्धनको कारण यो पटक क्षेत्र नं. २ मा पुगेका हुन्। तामाङ लगातार तीन पटक जितेर ह्याट्रिक गर्ने र बस्नेत तेस्रो पटक निर्वाचित हुने रस्साकस्सीले हेभिवेट प्रतिस्पर्धा भइरहेको यहाँको चुनाव सबैको चासोमा परेको छ।
प्रकाशित: ६ मंसिर २०७९ १२:५९ मंगलबार