२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मतदानपछि नेताहरूले के भने?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण तरिकाले सम्पन्न भएको बताएका छन्। उनले निर्वाचनमा अत्यन्त उत्साह, संयम र धैर्यका साथ सरिक भई अमूल्य मत दिएकोप्रति सबै निर्वाचनमा जनताको सक्रियता र उत्साहपूर्ण सहभागिताले सरकार र राजनीतिक दलहरूलाई थप प्रेरणा दिएको पनि जनाएका छन्। ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत गर्न ठूलो योगदान पु¥याएको छ,’ उनले भनेका छन्।

त्यस्तै नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदान गरेका छन्। मतदानपछि ओलीले निर्वाचनमा एमालेले बहुमत ल्याउने बताएका छन्।

मंसिर १५ भित्र एमालेको सरकार बन्ने उनले दाबी गरेका छन्। मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले चुनावपछि एमालेको बहुमतको सरकार बन्ने, त्यो नभए एमालेसँग साझेदार गरेका अन्य दलसँग सहकार्य गरी नयाँ सरकार गठन हुने बताए।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीका लागि गठबन्धन नटुट्ने बताएका छन्। चितवनको भरतपुर महानगरपालिका-१४ स्थित प्रहरी स्कुल शिवनगरमा मतदान गरेपछि दाहालले निर्वाचनपछि सजिलैसँग प्रधानमन्त्री चुनिने दाबी गरे। ‘मैले सार्वजनिक कार्यक्रममा भन्दै आएको छु।

प्रधानमन्त्रीका कारण गठबन्धन टुट्दैन,’ उनले भने। तर उनले प्रधानमन्त्री को हुन्छ भन्ने विषय भने खुलाएनन्।

‘मैले पनि सबैतिर भनेको छु, प्रधानमन्त्री हाम्रा लागि समस्याको विषय हुँदैन,’ उनले भने, ‘आरामसँग त्यसलाई हल गरिन्छ।’ उनले निर्वाचनपछि सरकार गठबन्धनकै बन्ने दाबी गरेका छन्। ‘देशैभर चुनावी प्रचारमा सबैभन्दा बढी म नै हिँडेको छु। निर्वाचनको हाम्रो पक्षमा माहोल छ,’ उनले थपे, ‘गठबन्धनकै सरकार बन्छ।’ यो निर्वाचनले देशलाई विकास र समृद्धिको नयाँ प्रक्रियातर्फ लाने विश्वास उनको छ।

नेकपा एसका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गृहनगर गौर नगरपालिका–२ स्थित रामजानकी कन्या आधारभूत मावि मतदान केन्द्रमा मतदान गरेका छन्। मत खसालेपछि नेता नेपालले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै यसपटक निर्वाचनमा धेरै अवाञ्छित क्रियाकलाप देखिएको बताए।

उम्मेदवारहरूले गाउँगाउँमा रातिको समयमा मदिरा, पैसा, मासु, माछा वितरण गरेर निर्वाचनको स्वच्छता धुमिल बनाएको उनले आरोप लगाए। पैसा र पम्पलेटसहित उम्मेदवारका समर्थक रौतहटमा पक्राउ पर्नुले निर्वाचन सुरक्षामाथि यावत् प्रश्न खडा भएको नेता नेपालले बताए।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले विराटनगर महानगरपालिका-१४ स्थित स्नातकोत्तर क्याम्पसस्थित मतदान केन्द्रमा मतदान गरेका छन्। मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै यादवले नेपालीको भविष्य राम्रो भएको बताउँदै राजनीतिक उतारचढावबाट नेपालमा लोकतन्त्र बलियो हुने बताए।

प्रकाशित: ५ मंसिर २०७९ ०२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App