१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

खोटाङको चुनावमा १९ सय सुरक्षाकर्मी परिचालित

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि खोटाङमा झण्डै २ हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ। यहि मंसिर ४ गते हुन गइरहेको चुनावमा मतपत्र लगायत निर्वाचन सामग्री, उम्मेदवार, मतदाता र मतदान केन्द्रको सुरक्षाका लागि सो संख्याको सुरक्षाकर्मी परिचालन गर्न खटाइएको हो।  

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार खोटाङमा आसन्न चुनावका लागि १ सय ३६ मतदानस्थल, १ सय ९४ मतदान केन्द्र र २ अस्थायी मतदान केन्द्र तोकिएको छ। ती सबै केन्द्रको सुरक्षा तथा निर्वाचन सामग्रीको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिएको हो। सहायक निर्वाचन अधिकृत रमाकान्त यादवका अनुसार सुरक्षाकर्मीसँगै जिल्लाभरी १ हजार ५ सय ५८ जना कर्मचारी पनि परिचालन हुने छन्।

एउटा प्रतिनिधिसभा र २ प्रदेशसभा रहेको खोटाङका १० वटै स्थानीयतहमा रहेका मतदान केन्द्रमा पुग्ने गरी सबै निर्वाचन सामग्री पठाइसकिएको पनि यादवले बताए। समयमै मतदानस्थलमा निर्वाचन सामग्री पुगोस् भन्ने उदेश्यले गएको मंगलबारदेखि नै सामग्री बुझाएर सम्बन्धित केन्द्रतर्फ लाने क्रम चलिरहेको उनले बताए। मतदान अधिकृतहरुले आवश्यक सामग्री बुझेर आआफ्नो मतदान केन्द्रतर्फ लाने क्रम चलिरहेको र कतिपय ठाउँमा पुगिसकेको खवर आएको उनले बताए।  

पूर्णरुपमा पहाडी भूभाग रहेको खोटाङका अधिकतर क्षेत्र अझै पनि दुर्गम र बिकट छन्। १ लाख ४२ हजार ७ सइ ९२ मतदाता रहेको जिल्लाका कतिपय केन्द्रसम्म पुग्न मोटरबाटो नभएकाले भरियाले बोकेर लानुपर्ने अवस्था रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार सदरमुकामदेखि बस र जिपमा हिडाइएका सामग्री केन्द्रमा पु¥याउन कतिपय ठाउँमा मान्छेले बोकेरै लानुपर्ने अवस्था भएकाले जनशक्ति पनि तयार गरिएको छ।  

४ गते खसेको मतपत्रसहितको बाकस ५ गते साँझसम्म सदरमुकाम ल्याई पु¥याउनुपर्ने निर्देशन दिइएको निर्वाचन कार्यालयले जनाएको छ। मतपत्रको बाकस आईसकेपछि सोही दिनदेखि जिल्ला अदालतमा गणना कार्य थाल्ने कार्यतालिका बनेको निर्वाचन कार्यालयको भनाइ छ। अदालतमा फरक फरक ३ ठाउँमा गनिने मतपत्र पहिले प्रतिनिधिसभा र त्यसपछि प्रदेशसभातर्फको गर्ने सहमति भएको छ।  

खोटाङमा प्रतिनिधिसभातर्फ सत्तारुढ गठबन्धनको तर्फबाट माओवादी केन्द्रका पोलिटव्युरो सदस्य रामकुमार राई (पासाङ) उम्मेदवार छन्। उनी प्रदेश १ सरकारका बहालवाला खानेपानी, सिंचाई तथा उर्जामन्त्रीसमेत हुन्। प्रदेशतर्फ (क) मा एकीकृत समाजबादीका बीरबल काजी राई र (ख) मा नेपाली काँग्रेसका प्रदेश १ समितिका महामन्त्री भूपेन्द्र राई उम्मेदवार छन्।  

मुख्य गरी गठबन्धन र एमालबीच द्वीपक्षीय प्रतिस्पर्धा हुने आँकलन गरिएको खोटाङमा प्रतिनिधिसभामा पासाङसँग एमाले पोलिट्व्युरो सदस्य विशाल भट्टराईले प्रतिस्पर्धा गर्नेछन् भने प्रदेशतर्फ क र ख मा क्रमशः पाँचकर्ण राई (पिके) र रामप्रसाद दंगाल उम्मेदवार रहेका छन्।  

प्रकाशित: २ मंसिर २०७९ १३:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App