१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

स्थिर समयमा मतदाता ओसार्दै उम्मेदवार

घरदैलो र चुनावीसभा सम्पन्न गरेका राजनीतिक दलहरुले निर्वाचनको स्थिर समयलाई कार्यकर्ता र मतदाता ओसार्ने अवसरको रुपमा लिएका छन्।

काम र अध्ययनका लागि जिल्ला बाहिर तथा सदरमुकाम र शहरमा रहेकाहरुलाई गाउँ पुर्‍याउन राजनीतिक दल र तिनका उम्मेदवारहरुले बस, जीप रिर्जव गरेर लगिरहेका छन्।  

स्थानीय तह जस्तो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको रौनक गाउँमा छैन्। कर्णालीका धेरै मतदाताहरु धान भित्र्याएर कालापहाड (भारत) कमाउन गएका छन्।

राजनीतिक दल र उम्मेदवारहरुले जिल्ला बाहिर रहेका सदरमुकाम र बजार क्षेत्रमा रहेका आफूलाई मत दिने मतदाताहरुलाई फोनमार्फत, सामाजिक सञ्जालमार्फत सम्पर्क गरेर गाउँ ल्याउने गरेका छन् ।  

जुम्लाबाट गठबन्धन दलबाट एकीकृत समाजवादीका पदमबहादुर रोकाय प्रदेशसभा सदस्यको उम्मेदवार छन्। उनको निर्वाचन क्षेत्र जुम्लाको सिंजा क्षेत्रमा पर्छ। कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका रोकायका सचिवालयका कर्मचारी नन्दराम जैसीले शुक्रबार फेसबुकमार्फत जुम्ला बजारमा रहेका गठबन्धनका मतदाताहरुलाई सिंजा जानका लागि बसपार्कमा सम्पर्क राख्न आग्रह गरेका छन्।

‘जुम्ला बजारबाट सिंजा जाने गठबन्धनका मतदाताहरु हुनुहुन्छ भने गाडीको व्यवस्था गरिएको छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘जुम्ला बसपार्कमा सम्पर्क राख्नुहोला।’ स्टाटससँगै निःशुल्क बसको यात्रा गराउने सम्पर्क व्यक्तिहरुको नम्वर पनि उनले फेसबुकमा राखेका छन्।

उम्मेदवार र राजनीतिक दलहरुले जिल्ला सदरमुकाम र आसपासबाट मात्रै होइन्, राजधानी काठमाडौं, बुटवल, नेपालगञ्ज लगायतका ठाउँबाट पनि आफ्ना मतदाता र कार्यकर्ताहरुलाई यातायातका साधनहरु रिर्जव गरेर कर्णाली भित्र्याउन थालेका छन्। कर्णालीका पाँच जिल्ला मध्ये हुम्ला सडक सञ्जालसँग जोडिएको छैन्। डोल्पामा सडक पुगे पनि यातायातका साधन चल्दैनन्। यी जिल्लाहरुमा राजनीतिक दल र मतदाताहरुले कार्यकर्तालाई हवाइजहाजको टिकट काटिदिएरै गाउँ पुर्‍याएका छन्।  

साविकको कर्णालीका जुम्ला, कालिकोट र मुगुमा मात्रै नियमित यातायातका साधन चल्छन्। तिहार लगत्तै कर्णालीका अधिकांश युवाहरु धान भित्र्याएर तथा गहुँ छरेर पढ्न र कमाउन सहर परेका थिए। कर्णालीका मतदाताहरुलाई गाउँ पस्न सहज छैन्। दूरीका हिसावले प्रदेश राजधानीसँग जति टाढा छ, खर्च पनि त्यतिनै हुन्छ। कालिकोटका जीवन शाही तिहार लगत्तै काठमाडौं फर्केका थिए। चुनाव आएसँगै राजनीतिक दलका कार्यकर्ताहरुले गाउँ बोलाउन थाले। ‘केही दिन त खर्च नभएकाले भोट हाल्न नआउने सोच बनाएर विभिन्न बहाना बनाएँ,’ उनले भने, ‘गाडी रिजर्व गरेर गाउँ ल्याउँछौं, मत हालेपछि फेरि काठमाडौंसम्म पुर्‍याउँछौं भनेर प्रतिवद्धता गरेपछि आउन कर लाग्यो,’ शुक्रबार सुर्खेतको मंगलगढी चोकमा भेटिएका उनले भने, ‘गाडीमा चढेका सबैलाई राजनीतिक दलका कार्यकर्ताले यसैगरी गाउँ बोलाएका छन्।’

उम्मेदवारले आफ्नोसँगै कलिक मत प्रभावित गर्न सक्ने मतदातालाई विशेष प्राथमिकता दिने गरेका छन्। त्यस्ता मतदातालाई बसको सट्टा साना सवारीमा यात्रा गराउने, बाटो खर्चको पनि छुट्टै व्यवस्था गर्ने गरेका छन्। ‘हुन पनि चुनावमा एक मतको धेरै महत्व हुन्छ, स्थानीय तहमा पनि त्यस्ता घटना भएका छन्,’ जीवनसँगै आएका अर्का मतदाताले भने, ‘आफ्नो मात्रै मत दिने र अरुको पनि मत तान्न सक्ने मतदातालाई उम्मेदवारले फरक–फरक व्यवहार गर्दा रहेछन् भन्ने यो पटक अनुभूति गर्न पाए।’

कांक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटा चुनावको मुखमा कर्णाली भित्रिने यात्रुहरुको संख्या ह्वात्तै बढेको बताउँछन्। ‘काठमाडौं लगायतका ठूला शहरबाट आउने यात्रुहरुको चाँप अत्याधिक छ,’ उनले भने, ‘प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गरेर नियमित यातायातका साधनहरु थपेका छौं।’ सापकोटाका अनुसार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट साविकको कर्णालीमा जाने अधिकांस यात्रुहरुले बस रिर्जव गर्ने गरेको बताए। ‘काठमाडौंबाट सुर्खेत र सुर्खेतबाट साविकको कर्णालीका रुटमा चल्ने नियमित साधन भन्दा रिर्जव गरेर जानेहरुको संख्या बढेको छ,’ उनले भने, ‘एक साताअघिनै शनिबारसम्म रुटमा सञ्चालन हुने यातायातका सिटहरु बुक भइसकेकाले पनि रिर्जव गर्नेहरुको संख्या बढेको हुनुपर्छ।’

राजनीतिक दलहरुले स्थिर समयलाई आफ्ना मतदाता खोजेर गाउँ पुर्‍याउने अवसरका रुपमा लिएका छन्। अरु बेला चुनावी सभा र घरदैलोमा समय खर्चिएका दल र तिनका उम्मेदवारहरु गाउँ बाहिर रहेका आफूलाई मत दिने मतदाताहरु खोज्दै गाउँ पुर्‍याइरहेका छन्। ‘यातायात खर्च, खाना–खाजा खर्च नदिँदासम्म मतदाता गाउँमै आउन छाडे,’ गठबन्धनका एक उम्मेदवारले भने, ‘उम्मेदवारको सबैभन्दा धेरै खर्च मतदाता ओसार्दा हुँदो रहेछ।’

प्रकाशित: २ मंसिर २०७९ ०८:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App