काठमाडौं महानगरपालिकाले पुरानो बजार क्षेत्रका रूपमा चिनिएको असनलाई आजदेखि प्रत्येक शनिबार “भेहिकल फ्री जोन” घोषणा गरेको छ। महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आज यसको औपचारिक उद्घाटन गरिन ।

अबदेखि हरेक शनिबार कःमिलाछी (कमलाक्षी) चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म तथा महाबौद्धबाट असनसम्मको क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाइएको छ।
सवारी निषेधसँगै असन क्षेत्रमा सामाजिक, सांस्कृतिक तथा रैथाने ज्ञान–सीप झल्काउने प्रदर्शनी, गायन, वादन र नृत्यलगायत विविध कार्यक्रम सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ।

महानगरका अनुसार जमलतर्फ कःमिलाछी (कमलाक्षी) सिंहढोकाबाट असनतर्फ, भोटाहिटी कलशढोकाबाट असनतर्फ, वीर अस्पतालबाट महाबौद्ध स्तूपतर्फ तथा वटु गणेश र भोँसीस्थित गणेश मन्दिरबाट महाबौद्ध स्तूपतर्फ सवारी लैजान पाइने छैन।
यसका साथै इन्द्रचोक, मच्छिन्द्र बहाल, मास गल्ली, गणेश मन्दिरबाट पिलान्तु गल्लीतर्फ, न्हकेटलाबाट असनतर्फ र ज्याठा अन्नपूर्ण स्कुलबाट भमुलु गल्लीतर्फ पनि प्रवेश रोकिनेछ।

शनिबार असन आउने आगन्तुकहरूले धरहरा भूमिगत पार्किङ, जमल बहाल, दरबार हाइस्कुल तथा अन्य तोकिएका स्थानमा सवारी पार्किङ गरी पैदल यात्रा गर्नुपर्ने व्यवस्था गरिएको छ।









प्रकाशित: ५ वैशाख २०८३ १५:२७ शनिबार





