साउने साेमबार, गेरुवस्त्रको व्यापार(फोटोफिचर)
धरान– साउनको सोमबार धरान र चतरा बजारमा पहेँलो(गेरु) वस्त्रधारीहरुको लर्को देखिन्छ। बजारमा पनि हरेक पसलअघि शिवको तस्बिर अंकित गेरुवस्त्र बिक्रीमा झुण्डिएको छ।
युवा युवति हुन् चाहे बालबालिका र वृद्धवृद्धाहरु नै । धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा जल चढाउन आउने तीर्थालु भक्तजनहरु पहेँलो वस्त्रमा नै देखिनछन् । धरानका मात्रै होइन, विभिन्न जिल्लाबाट पिण्डेश्वरमा दर्शन एवं जल चढाउन आउने तीर्थालुहरु पनि गेरुवस्त्रमा नै आउका छन्।
प्रायः सबैतिरको शिवालयमा यही पहिरनमा भक्तजनहरुको घुइँचो देखिन्छ । साउनमा गेरुवस्त्रको व्यापार कति होला ? यसै भन्न सकिँदैन । 'साउनमा गेरुवस्त्रको त राम्रो व्यापार हुन्छ,' पिण्डेश्वर बाबाधाम समितिका सदस्य विकास वनेपालीले भने, 'आजै पनि बिहान ७ बजेसम्म गेरुवस्त्रधारी २५ हजार तीर्थालु भक्तजनहरुले जल चढाइसकेका छन् ।'
कोशीबाट जल बोकेर पिण्डेश्वरमा चढाउन आएका इनरुवा ७, सुनसरीका ओमप्रकाश रामले पनि यसपाली २ सय ५० रुपैयाँमा नयाँ गेरुवस्त्र खरीद गरेको सुनाए । उनका अनुसार उनीसँगै आएका अन्य ७ जनाले पनि त्यही दाममा नयाँ गेरुवस्त्र किनेका छन् । गेरुवस्त्र सरदर अढाई सयदेखि ५ सय रुपैयाँसम्म पर्ने व्यापारीहरुको भनाई छ ।
पिण्डेश्वरमा साउनभर करिब दुई लाख भक्तजनहरु जल चढाउन आउछन् । ती मध्ये आधाले मात्रै नयाँ गेरुवस्त्र खरीद गर्दा एक करोड रुपैयाँभन्दा बढीको व्यापार हुने सुनसरी उद्योग वाणिज्य संघका सदस्य उपेन्द्र चाम्लिङले बताए । 'पिण्डेश्वरमा २ लाख बढी भक्तजन आउछन्,' उनले भने, 'एक चौथाई अर्थात् ५० हजारले मात्रै नयाँ गेरुवस्त्र खरीद गर्दा पनि अढाई सयको दरले एक करोड २५ हजारको व्यापार हुन्छ । कतिले पहिला किनेकै लगाउलान्, तर अधिकांशले नयाँ नै खरीद गर्छन्।'
बाबाधाम समितिका अनुसार साउनमा गेरुवस्त्रको मात्रै होइन, हरियो चुरा पोते र मेहन्दीको पनि राम्रो व्यापार हुन्छ । सौभाग्यको प्रतिक मानिने भएकोले साउनमा महिलाहरुले हरियो चुरा, पोते र हातमा मेहन्दी लगाउँछन् ।
युवा पुस्तामाझ हरियो चुरा, मेहन्दीप्रति फेशनको रुपमा आर्कषण बढ्दो छ । साउन महिना हिन्दू आराध्य देव शिवको प्रिय महिना हो ।
आफ्नो मनोकांक्षा पूरा हुने विश्वासका साथ भक्तजनहरुले साउनमा शिवालयमा जल चढाउने गर्छन् । यो वर्ष तिथीले साउन १६ बाटमात्रै साउन महिना लागेकोले तेस्रो सोमबार गेरुवस्त्रधारी भक्तजनहरुको घुइँचो भएको हो ।
बाबाधाम समितिका अनुसार मन्दिरमा आइतबार साँझ ७ बजेदेखि नै भक्तजनहरुको घुइँचो थियो । अत्यधिक भीड बढेपछि मध्यरातमा नै मन्दिरको ढोका खोलिएको समितिले जनाएको छ।