डब्ल्यूएफपीले कुहिएको चामल यसरी नष्ट गर्यो
गोरखा– लाप्राकका भूकम्पपिडितलाई वितरण गर्दा कुहिएको भेटिएर फिर्ता ल्याएको चामल विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले सोमबार नष्ट गरेको छ।
गोरखाको देउराली गाविस ५ मझुवामा रहेको स्टोरको काम्पाउण्ड भित्रै खाल्डो खनेर (७.८) मेट्रिक टन चामल नष्ट गरिएको हो।
जेसिभिले डोजरले खाल्डो खनेर बोराको चामल खाल्डोमा पुरिएको हो।
कुहिएको भेटिएर बोरामै रहेको चामल खाल्डोमा खन्याउँदा सबैजसो बोराबाट डल्ला परेका, ढुसी आएको चामल देखिएको थियो।
जेठ अन्तिम साता त्यहाँ लगिएको चार सय १७ बोरा मध्ये एक सय २० बोरा चामल कुहिएको भेटिएपछि डब्लुएफपीले जेठ १७ गते फिर्ता ल्याएर नकुहिएको चामल पठाएको थियो।
कुहिएको चामल भेटिएपछि खाद्य तथा गुण नियन्त्रण विभागले समेत उक्त चामलको ल्याब परीक्षण गर्दा मानव स्वास्थ्यका लागि अयोग्य रहेको पुष्टि गरेको थियो।
विभागले जिल्ला प्रशासन कार्यालय गोरखालाई पत्राचार गर्दै उक्त चामल नष्ट गर्न भनेपछि करिब एक महिनापछि चामल नष्ट गरिएको हो।