४ वैशाख २०८१ मंगलबार
फोटो फिचर

इलाममा रोपाइँजात्राको रौनक (फोटोफिचर)

भदौको महिना। असार–साउनमा रोपाइँ सकिएपछि खेतमा रोपो फर्केर हरियाली छाउँदैछ। बर्खाभरि हिलोआली गरेका किसान भदौ लाग्नेबित्तिकै त्यही रोपाइँको मैजारो अर्थात्, रोपाइँजात्रामा रमाउँछन्।  

इलाममा रोपाइँकै झल्के दिनेगरी हरेक वर्ष रोपाइँजात्रा मनाइन्छ। गएका ३ वर्ष कोभिड महामारीले चम्किन नसकेको रोपाइँजात्राको रौनक आज (बिहीबार) इलाम चोक बजारमा देखियो। हल गोरु अघि–अघि, बाहुसे पछि–पछि अनि उनीहरूका पछि–पछि रोपाइँकै अभिनय गरिरहेका बालिका र महिला। सँगसँगै गाईजात्राकै जस्तो लाखेनाच पनि। इलाम सदरमुकाममात्र होइन, अहिले जिल्लाका देउमाई नगरपालिकास्थित मंगलबारे, माईजोगमाई गाउँपालिकाको नयाँबजार, इलाम नगरपालिका–५ को बरबोटेलगायत क्षेत्रमा पनि रोपाइँजात्रा धुमधाम हुन थालेको छ।  

बिहीबार मंगलबारे बजारमा पनि धुमधामसाथ रोपाइँजात्रा आयोजना गरिएको छ। स्थानीय झरेन्द्र बरालका अनुसार २०१८ सालमा मंगलबारेमा रोपाइँजात्रा मनाउन सुरु गरिएको हो। ऐतिहासिक, सांस्कृतिक पर्वका रूपमा मानिने रोपाइँजात्रामा विविध जातजातिका झाँकी प्रदर्शन गरिएको उनले जनाए। कोभिड महामारीले रोकिएको रोपाइँजात्रा स्थानीय भानुभक्त माविले आयोजना गरेको हो।  

पहाडी क्षेत्रका खेतमा जेठदेखि साउनसम्म रोपाइँ गरिन्छ। रोपाइँ सकेर दिन उघ्रिन लागेपछि (प्रायः भदौमा) इलाम चोक बजारमा गरिने त्यसैको अभिनयले परम्परागत रोपाइँकै झल्को दिन्छ। खेतमा बेठी लगाएर रोपाइँ गर्न करिब–करिब छाडिएपनि बजारमा मनाइने रोपाइँजात्रा बेठीसहितको हुने भएकाले यो दिन बजार नै नौमतीले घन्किन्छ।  

हल गोरुले खेत जोतेजस्तो, रोपाहारले हात–हातमा धानकै बीउ बोकेर धान रोपेजस्तो गरिन्छ। रोपाहारलाई खेतमा बीउ पु¥याइदिन अर्का व्यक्ति डोकामा धानको बीउ बोकेर हिँड्दै हुन्छन्। आफ्ना परम्परागत पोसाक, दौरा–सुरुवाल, भादगाउँले टोपी लगाएर लौरो टेक्दै नाच्नेको भिड पनि कम हुँदैन। बर्सेनि इलाम, पाँचथर, तेह्रथुम, ताप्लेजुङलगायत पूर्वीपहाडी जिल्लाका सहरमा यसैगरी रोपाइँजात्रा मनाइन्छ।

हुलका हुल युवक–युवती नौमतीको सुर–तालमा कम्मर मर्काइ–मर्काइ नाचिरहेको दृश्यले सबैको मन छुन्छ। बालबालिका, युवा, प्रौढ, वृद्धवृद्धा सबै जात्रामा झुम्मिने गर्छन्। केही बालबालिका जीउमा कालो दलेर थाल ठटाउँदै हिँड्छन्। लाखेहरू पनि सँगसँगै गीतको धुनमा नाच्छन्। हरेक श्रीकृष्ण जन्माष्टमीनजिकको बिहीबार (हाटको दिन) इलाम बजारमा रोपाइँ जात्रा निकाल्ने चलन छ। नेपाल भाषा तथा संस्कृति समाजले इलाम बजारमा रोपाइँजात्रा आयोजना गर्नेगरेको छ।  

जात्रा हेर्न इलामसहित बाहिरी जिल्लाका नर–नारीसमेत यो दिन सदरमुकाम आउँछन्। जाति, धर्म, लिंग वा समुदाय कुनै आधारमा न विभेद छ, न बाधा–विरोध नै। सबैले एकैठाउँ भेला भएर रोपाइँजात्रा मनाउने चलन छ। विशेषगरी नेवार समुदायले मनाउने भनिएपनि यो जात्रा अहिले कुनै जातिविशेषको नभएर साझा पर्व हुँदैछ। जात्रामा ब्राह्मण, क्षेत्री, राई, लिम्बू, तामाङ, गुरुङ, मगरलगायत सबै जात्रामा सक्रिय देखिन्छन्।  

बिहीबारको जात्रामा चाहिँ ‘वनकाइँला’, ‘वनकाइँली’ र ‘स्टिल म्यान’ले मानिसको ध्यान खिचे। करिब ३५ वर्षअघि प्रायः राजाको सवारी हुँदा झाँकीसहित देखाइने वनकाइँला, वनकाइँली बिहीबारको रोपाइँजात्रामा घुमाएको देख्न पाउँदा धेरैलाई अनौठो लागेको थियो। पराल र कपडाबाट बनाइएको मान्छेभन्दा करिब तीन गुणा अग्लो काल्पनिक पुरुष आकृतिलाई वनकाइँला र महिलाको आकृतिलाई वनकाइँली भनिन्छ। र, शरीर र लुगाभरि रंग दलेर मूर्तिजस्तो देखिने व्यक्तिलाई स्टिल म्यान भनिएको जात्राका अगुवा बुद्धिमान राईले बताए। स्टिल म्यानसँग सेल्फी र फोटो खिच्न बालबालिकादेखि वृद्धवृद्धासम्मको आकर्षण देखियो।  

इतिहासकार युद्धप्रसाद वैद्य करिब सय वर्षदेखि पूर्वीपहाडका इलाम, पा“चथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभालगायत जिल्लामा यो जात्रा मनाइने गरेको बताउँछन्। जातीय र सांस्कृतिक सद्भाव बलियो बनाउने अवसर पनि यही जात्रा हुने गरेको उनले बताए। ‘यो जात्रा इलामको ऐतिहासिक हो,’ उनले भने, ‘अहिले सदरमुकाममा आयोजना गरिने यो जात्रामा सहभागीको संख्या घटिरहेको छ तर जिल्लाका अन्य सहरमा पनि मनाउन थालिएको छ।’ वैद्यले वनकाइँला र वनकाइँलीको परम्परा पुरानो भएपनि त्यो चाहिँ मान्छे आकर्षित गर्न प्रदर्शन गरिने बताए।  

उहिले दिनभर रोपाइँजात्रा मनाएर बेलुका लिम्बू समुदायको सांस्कृतिक धाननाचमा रमाउने चलन थियो। धाननाचको अचेल हराएको केही वर्ष बितेपछि अब पुनः ब्युँताइएको छ।  

तस्बिरहरू: भीम/नागरिक

 

 

 

प्रकाशित: २ भाद्र २०७९ ११:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App