गोरा जोडीको कालापत्थरमा प्रेमालाप (फोटो फिचर)
बिहे स्मरण उत्सव मनाउने धेरै उपाय हुन सक्छन्। तर अमेरिकन एक जोडीले अचम्मको उपाय रोजे। उनीहरु पाँचौ विवाह उत्सव मनाउने ठाउँ खोज्दै नेपाल आए । एनिभर्सरी मनाउन क्यालिफोर्नियाबाट हुत्तिएर नेपाल आइपुगेको डेविड रिचार्डसन र जेस्सिका रिचार्डसनको जोडी नेपालमा महँगो र कहिल्यै बिर्सन नसक्ने एनिभर्सरी मनाएर नेपालप्रति धन्य भएर फर्किएको छ।
यो जोडीले अघिल्ला एनिभर्सरी भन्दा महँगो र उत्कृष्ट समय नेपालमा विताएको छ। सगरमाथा छेउको ५ हजार ६ सय मिटर अग्लो कालापत्थर उनीहरुको एनिभर्सरी डेटस्पट बन्यो। त्यो मात्रै हैन काठमाडौंका ६ वटा युनेस्को विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदाको अघिल्तिर पनि यो जोडीले फोटोसुट गर्यो।
उनीहरुको एनिभर्सरी मनाउने बेग्लै रित रहेछ– विवाह गर्दा लगाएकै पोसाकमा सजिने र मनपर्ने ठाउँमा पुगेर फोटो सुट गर्ने । जसरी नेपालमा उनीहरुले पाँचौ एनिभर्सरी महँगो घुमघाम गरेर धुमधामले मनाए । त्यस्तै प्रकारको एनिभर्सरी उनीहरुले यसअघि सल्जबर्ग, ब्रसेल्स, रोम र मरिसस पुगेर फोटो खिचाएर मनाएका रहेछन्।
भनिन्छ, विवाह स्वर्गमै जुरेको हुन्छ। केही फरकपन दिँदै यो जोडीले हरेक वर्ष विवाह उत्सव अविस्मरणीय बनाउने प्रण गरेको रहेछ ।
'नेपाल आउने कुरा अघिल्लो बर्षको माघमै पक्का गर्यौं,' डेविड भन्छन् 'हामीलाई थाहा थियो, भूकम्पले थिलथिलो बनाएको नेपाल यतिबेला नाकाबन्दीले हैरानमा छ,' नेपालबारे उतै छँदा अपडेट रहेका डेविडले नागरिकन्युजसँग भने 'हमीले पहिले नै प्रण गरिसकेका थियौं, त्यसैले कठिन भएपनि भ्रमण रद्द गरेनाैं।'
जेस्सिकाले डेविडको हो मा हो थपिन् 'हामीलाई विश्वकै अग्लो स्थानमा बिहेको वार्षिकउत्सवमा फोटो खिचाउनु थियो, त्यो अग्लो स्थान नेपाल नै थियो।' उनी भन्छिन् 'हामीलाई नेपाल सुरक्षित छ भनेर सन्देश प्रवाह गर्नु पनि थियो ।'
यहाँ आफूहरूले कुनै अप्ठेरो सामना गर्नु नपरेको डेविड बताउँछन् । 'बाहिर प्रचार गरेजस्तो रहेनछ,' उनले हाँस्दै भने, 'हामीलाई एउटामात्र गाह्रो भनेको विवाह गर्दाको पोसाकअनुसारकै शरीर मेन्टेन गरिराख्नुमात्र हो, जुन साँच्चिकै गाह्रो थियो ।' डेविड बोल्दा उनकी पत्नी मुस्कुराइन्।
यहाँका मान्छेको स्नेहले उनीहरू प्रभावित भए । नेपालीको धैर्य देखेर अचम्मित भए । महिनाैंदेखि इन्धन र ग्यासको लाइन । दैनिक उपभोग्य सामानको अभाव । त्यही पनि नेपालीको आत्मीय व्यवहार पाउँदा खुसी लागेको उनीहरूले सुनाए । 'हामीले त यहाँको हिमालसँग आफ्नोपन साटिएको अनुभूति गरेका छाैं,' डेविडले भने ।
'हामीले गुगलमा धेरै खोज्यौं कतै हामी जाने कालापत्थरमा यसअघि कुनै जोडीले विवाहको पोसाकमा फोटोसुट गरेको पो छ कि?' जेस्सिकाले खुलाईन् 'तर भेटेनौं, हामीले सायद रेकर्ड नै राख्यौं जस्तो लाग्छ ।'
उनीहरू अमेरिका फर्केर विश्वलाई सन्देश बाँड्न चाहन्छन्–नेपाल घुम्न सुरक्षित छ ।
शब्द/तस्विरः दिपेश श्रेष्ठ/नागरिक