१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

मुस्ताङमा जौ भित्र्याउने चटारो (फोटो फिचर)

मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङमा जौ भित्र्याउने चटारोमा रहेका किसान। तस्बिर: सौजन्य/सन्तोष शेरचन

सहरतिर चुनावी चर्चा अझै चलिरहेको छ। तर, हिमाली जिल्ला मुस्ताङका बासिन्दा भने यतिबेला जौ भित्र्याउनमा व्यस्त छन्। चुनाव सकेर गाउँलेहरु पूर्ण रुपमा कृषि कर्ममा फर्केका छन्। मुस्ताङको २७ सय मिटर उचाईदेखि माथिसम्म जौ, फापर, उवा, लगायतका बाली लगाइन्छ। सदरमुकाम जोमसोम आसपासका क्षेत्रमा बढी जौ खेती हुने गरेको छ। माथिल्लो भेगमा भने उवा खेती गरिन्छ। उवा पनि जौ जस्तै खेती हो।  

किसानले गत मंसिरमा त्यहाँ जौ रोपेका थिए। त्यो जौ जेठ लागेपछि बल्ल पाक्न थाल्छ। अहिले काट्ने, सुकाउने र थन्क्याउने चटारोमा किसान छन्। स्थानीय सन्तोष शेरचनका अनुसार जौ थन्क्याएपछि त्यहाँ फापर, मकै खेती सुरु हुन्छ। आलु पनि त्यहाँको मुख्य बाली हो। गत फागुनमा आलु रोपेका किसानले असोजदेखि बल्ल आलु खन्न थाल्छन्। पहिला तल्लो भेगमा मात्र मकै खेती हुन्थ्यो। अहिले माथिल्लो भेगमा पनि मकै खेती गर्न थालिएको छ।  

शेरचनका अनुसार जनशक्ति नहुँदा अहिले गाउँमा खेतीयोग्य जमिन बाँझो छ। परिवारले सकेजति खेती गर्छन, नसक्ने अवस्थामा बाँझो राख्न थालेका छन्। अहिले उत्पादन भएको जौ सातु, दानाको रुपमा उपयोग हुन्छ। कतिपयले मदिरा समेत बनाउँछन्। जौ स्वास्थ्यका लागि निकै नै लाभदायक खाद्यवस्तुको रुपमा मानिन्छ।

प्रकाशित: १० जेष्ठ २०७९ ०७:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App