१० माघ २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

चियावारीका शिल्पी

इलाम-निथ्रुक्क भिजाउने दर्केपानी। मुटु कमाउने हुर्लेहुरी। चिप्लिने लेदो माटो। स्याउँ स्याउँ जुगा। मनसुनपछिको मौसम हो यो। पशुपालन गर्नेलाई समेत घाँसपातमा मन नलाग्ने समय सुरु भइरहँदा चिया मजदुर भने फरक छन्। पानीझरी पर्ने बर्षायाम होस् वा हिउँ तुषारो खस्ने शिशिरयाम, बर्षका बाह्रै महिना बगानमा काम गर्ने चिया मजदुरले अल्छी गर्न पाउँदैनन्। एकैनासको कामले उनीहरुको दैनिक आठ घण्टा बित्ने गर्छ।
1 3

 

'१० मिनेटमात्र छ समय' कुराकानी नथाली नाडीको घडी हेर्दै डोमा घलेले भनिन्, 'छिटो छिटो बात गरिहालौं।' चिया मजदुरका गुनासा सुन्न सूर्योदय नगरपालिकाको हर्कटेस्थित बगानमा पुग्या बेला ६३ बर्षीया घले खाजा खाइसकेर हरियो पत्ती टिप्न जाने तरखरमा थिइन्। खाजा छुट्टीको समय सकिनैलाग्दा भेटिएकी उनले हतारमा केही बोलिन् र कुराको बिट मार्दै भनिन्, 'जिन्दगी चियावारीमै बित्यो, तर केही उपलव्धि भएन।'
1 1
५० बर्षलाई निजीकरण भएका इलामका चार (कन्याम, इलाम, सोक्तिम र चिलिमकोट) बगानमध्ये सबैभन्दा ठूलो कन्याममा घलेले चार दशक बिताइसकेकी छन्। २०२८ देखि मजदुरका रुपमा बगान छिरेकी उनको न कुनै बढुवा भएको छ न सुविधा नै धेरै बढेको छ। सुरुवातमा दैनिक ज्याला अढाई रुपैयाँ थियो, अहिले एक सय ८५ छ। तर, यसवीचमा घलेको परिवार ठूलो छ, दैनिक खर्च जुटाउनै हम्मे हम्मे पर्छ।
1 2
'दैनिक ज्याला दुई सय एक बनाइदिने पुरानै सम्झौता थियो तर अहिलेसम्म लागू भएन' घलेले विस्मात मान्दै सुनाइन्, 'हाम्रो कुरा सुनिदिने कोही छैन, सधैं दुःखको दुःखै जिन्दगी जाने भो।' बिहान ४ बजे उठेर हतारमा घरधन्दा गरी हतारमै खाना खाएर उनी टोकरी बोकेर बगान पुगि सक्छिन्। घरबाटै ल्याएको खाजा दिउँसो खाएर ४ बजे बगान छोड्छिन्। उनीजस्तै दिनचर्या बिताउने मजदुर कन्याममै झण्डै दुई सय छन्।
1 4
नयाँ हुन् या पुराना, बगानमा कार्यरत मजदुरले पाउने सुविधा एकै खाले छ। ज्याला– दैनिक एक सय ८६। चिया– मासिक तीन सय ग्राम। छाता– दुई बर्षमा एउटा। थर्मस– तीन बर्षमा एउटा। झाडीभित्र पसेर चिया पत्ती टिप्ने काममा अत्यावश्यक गमबुटसमेत मजदुरले आफैं किन्नुपर्छ। खाजा आफैं जोहो गर्नुपर्छ।
1 5
सरकारले २०५७ सालमा ५० बर्षलाई निजीकरण गरिदिएपछि नेपाल चिया विकास निगमको स्वामित्व त्रिवेणी ग्रुप (सांघाई समूह) सँग छ। निगमअन्तर्गत इलाममा चार र झापामा तीन (टोकला, बर्ने, बाह्रदशी) कमान तथा कारखाना सञ्चालित छन्। समूहका प्रमुख हुन्– सुवास सांघाई। मजदुरले सांघाईको नाम जान्दछन्, व्यक्ति देखेकै छैनन्। आफ्नो गुनासा उनलाई सुनाउन पाउँदैनन्, अरुमार्फत राखेका गुनासा उनीसमक्ष पुग्दैनन्।
1 6
'कति राम्रो चियावारी भन्दै घुम्न सयौं आउँछन् तर मजदुरका दुःख पीडा बुझिदिने कोही हुन्नन्' बगानकी अर्की मजदुर तारादेवी चापागाईं भन्छिन् 'चियाको आम्दानीले मालिक पनि मोटाए, मजदुर भने सुकेको सुक्यै।' निजीकरण हुनुअघि निगममा दुई हजारभन्दा बढीको संख्यामा कार्यरत मजदुर अहिले आधाभन्दा कम छन्। थोरै ज्याला र न्युन सुविधाले बगान छोड्नेक्रम जारी छ। चियावारी कुँद्ने असली शिल्पी समस्यामा छन्।

1 7

1 8

1 9

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App