बारपाकदेखि तातोपानीसम्म भूकम्पको कहर
काठमाडौं- महाभूकम्प गएको दुई साता बितिसक्दा पनि अति प्रभावित क्षेत्रको अवस्था सामान्य बन्न सकेको छैन। भूकम्पमा परी भएको मानवीय तथा भौतिक क्षतिको विवरण अनुमान गरिए पनि यथार्थ सार्वजनिक हुन सकेको छैन।
सरकारले राहत र उद्धारका काम गरिरहेको बताइरहेका बेला सम्बन्धित ठाउँमा पुग्दा भने अत्यावश्यक बस्तु नपुगेको पीडितले गुनासो गर्छन्। मानिसहरु अब के गर्ने भन्नेमा अन्योल र त्रसित देखिन्छन्।
सहजै गाडी पुग्ने ठाउँमा विभिन्न संघ/संस्था, व्यक्ति पुगेर राहत वितरण गरिरहेपनि विकट ठाउँमा त्यस्तै आभास हुन सकेको छैन। ठाउँ ठाउँमा सुख्खा पहिरो जानेक्रम रोकिएको छैन।
भूकम्पको केन्द्र रहेको बारपाक क्षेत्र र हेलिकप्टरमार्फत् त्यहाँ पुग्ने राहत हात्तीको मुखमा जिराजस्तै भएको छ। सिन्धुपालचोक र धादिङमा पुग्दा पनि दुर्गम गाउँका जनताले राहत नपाएको बताइरहेका छन्। विभिन्न मित्रराष्ट्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्ति तथा संस्थाको सरकारलाई गरेको सहयोग व्यवस्थापन पनि राम्रोसँग हुन सकेको छैन।
तस्बिरहरु : चन्द्रशेखर कार्की, मदन चौधरी, टेकनारायण भट्टराई, ध्रुव दंगाल