मनमोहक मिरिक
मिरिकमा 'झिल' भनेर चिनिने सुमेन्दु ताल
वर्षमा एकपल्ट पारिवारिक भ्रमण घुम्न रुचाउने बंगाली र पूर्वोत्तर भारतमा बसोबास गर्ने नेपालीभाषीका लागि मिरिक नौलो ठाउँ होइन। सुरुमा दार्जिलिङ घुम्नेहरु फर्किँदा मिरिकलाई गन्तव्य बनाउँछन् भने कतिपयले सोझै मिरिकै ताकेर घुमघामका पाइला बढाउँछन्। प्रकृतिसँग रम्नलाई पशुपतिनगर र काँकडभिट्टा नाका नाघेर दार्जिलिङ आइपुग्ने हूलका हूल नेपालीमध्ये थुप्रै मिरिकको मनमोहक सौन्दर्यसँग साक्षात्कार हुन्छन्।
ताल नजिकैको पार्कमा हिँड्दै बालबालिका
प्राकृतिक सौन्दर्य र सजिलै पुगिने गन्तव्यका कारण मिरिकमा असोज-मंसिर तथा चैत-जेठसम्म स्वदेशी विदेशी पर्यटकको घुइँचो लाग्छ। एकातिर सल्लाले ढाकिएको र अर्कातिर पार्क रहेको सुमेन्दु ताल मिरिकको प्रमुख आकर्षण हो, जसलाई चलनचल्तीमा 'मिरिक झिल' भनिन्छ। मिरिकको चारैतिर फैलिएको चिया बगानले पनि पर्यटकको मन तान्छ। झिलदेखि पूर्वमा अवस्थित बौद्ध गुम्बाको कलाकृति भव्य छ।
मिरिकको शोभा बन्न सफल बुकर बौद्धगुम्बा
घाम लाग्दा ३० र जाडोमा शून्य डिग्रीसम्म मौसम हुने मिरिक नेपालीले थोरै पैसा खर्चिँदा घुम्नसक्ने नजिकको गन्तव्य हो। सिलिगुडीबाट डेढ घण्टामा पुग्न सकिने मिरिक पशुपतिनगरबाट आधा घण्टामै पुगिन्छ। झिल छेउकै कृष्णनगरमा सुविधायुक्त होटल र लज छन्। ब्रिटिशकालीन दार्जिलिङको शिक्षाको प्रभाव यहाँ पनि छ। महँगा स्कुल र कलेजमा अंग्रेजी माध्यमबाट स्तरीय पठनपाठन हुन्छ, जहाँ नेपाली विद्यार्थी धेरै छन्।
ताल वारपार गर्न बनाइएको पुरानो पुल
नयाँ वर्षमा होस् वा चाडवाडका बेला, मिरिकमा नेपालीको घुइँचो लाग्छ। नेपालीभाषीकै बाहूल्य रहेकाले मिरिक घुम्न खासै समस्या छैन। मेचीपारिको इलामका पशुपतिनगर, श्रीअन्तु, समालवुङ आदि गाविसका थुप्रै मानिसको प्रमुख व्यापारिक केन्द्र पनि मिरिकै हो। वैवाहिक सम्बन्ध, जन्ती र मलामीमा वारी पारिका मानिसवीच दरिलो सम्बन्ध छ। मिरिक आसपासको चियाको ख्याति संसारभर फैलिएको छ।
मिरिक बजारवीचको डाँडामा सञ्चार टावर
बुकर गुम्बामा अध्ययनरत बौद्धमार्गीहरु
बौद्धगुम्बामा कालचक्र पूजानिम्ति सामग्री बनाइँदै
मिरिक मुन्तिरको चिया कारखाना
चिया बगानमा हरियो पत्ती टिपेर फर्कंदै नेपालीभाषी
कारखानामा हरियो पत्ती पुर्यााएर फर्कँदै मजदुर
तस्बिर : बेनुपराज भट्टराई