आज शिवरात्रि पर्व मनाइँदै छ। आज बिहानैदेखि महाशिवरात्रिको अवसरमा काठमाडौँको पशुपतिनाथसहितका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ। हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने शिवरात्रि पर्व भगवान शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ।

यस्तै आज पशुपति क्षेत्रमा साधुसन्त एवम् भक्तजनहरुको भिड लागेको छ। शिवरात्रिको दिन बिहानै नुहाइधुवाइ गरी चोखो लुगा लगाएर महादेवलाई तामाको लोटाबाट जल, गङ्गाजल, गाईको दूध र सखरले स्नान गराइ फलफूल, मिठाइ, धतुरो र बेलपत्र चढाउने परम्परा छ। महाशिवरात्रिको दिन महादेवलाई पूजा गर्नाले घरमा सुख, शान्ति र पारिवारिक समृद्धि बढ्ने भन्ने धार्मिक मान्यता छ।

त्यसैगरी अविवाहिता महिलाले महादेवको पूजा गर्नाले राम्रो वर पाउने धार्मिक विश्वास छ। महाशिवरात्रिको अवसरमा सर्वसाधारण भक्तजनका लागि मन्दिरको ढोका खुला गरिएको छ। मन्दिरमा विशेष पूजाका साथै हवन र रुद्धाभिषेक गरी पञ्चस्नान गराउने व्यवस्थासमेत मिलाएको छ।

पशुपति परिसर एवम् वाग्मती किनारामा गएरातिदेखि नै दर्शनार्थी एवम् भक्तजनको भिड छ। शिवरात्रिलाई लक्षित गर्दै पशुपति क्षेत्रलाई सिँगारिएको छ। पशुपतिमा शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आउने गरेका छन्।





प्रकाशित: १७ फाल्गुन २०७८ ०७:५९ मंगलबार





