११ माघ २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

मिस नेपालका प्रतिस्पर्धी (भिडियोसहित)

काठमाडौं- मिस नेपाल २०१० मा धरानको प्रतिनिधित्व गरेकी प्रिया रानी लामा यसवर्षको मिस नेपालमा सहभागी भएकी छिन्। मिस नेपाल २०१० मा सहभागी हुँदा उनले मिस ब्युटीफूल कम्पेक्सनको उपाधिसमेत हात पारेकी थिइन्।

मिस पूर्वाञ्चल २०१० की फष्ट रनरअपसमेत रहेकी २४ वर्षीय लामा यसवर्ष मिस नेपालको उपाधि जित्न लागि परेकी छिन्। 'मिस नेपाल एउटा प्ल्याटफर्म हो। जीवनको अन्त्य भने होइन्। प्रतियोगितामा जित-हार भए पनि यो प्ल्याटफर्मबाट सिक्ने कुराहरु धेरै छन्,' उनले भनिन्। उनले मिस पूर्वाञ्चल २०११ को कोरियोग्राफी गरेकी थिइन्।

त्यस्तै मिस नेपाल युके २०१२ की दूर्गा गुरुङ मिस नेपालमा सहभागी हुन लण्डनबाट नेपाल आएकी छिन। पोखराको प्रतिनिधित्व गरिरहेकी दूर्गा गायन र शास्त्रीय संगीतमा रुचि राख्छिन्। 'मिस नेपालको प्ल्याटफर्मले मलाई प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ। फेसनबाट समेत सामाजिक सेवामा सक्रिया हुन प्रोत्साहित गरेको छ,' उनले भनिन्।

रंगमञ्चमा नाटकमार्फत् कला प्रस्तुत गरिसकेकी २० वर्षे मेधा कोइराला मिस नेपालमा सहभागी भइसकेकी छिन्। 'मिस नेपाल जित्नको लागि आएको हुँ। त्यसबाहेक प्रशिक्षणमा दिइने व्यक्तित्व विकासको प्रशिक्षणले मलाई थप सहयोग गर्ने अपेक्षा गरेकी छु,' उनले भनिन्।

यसरी दिइन परिचय। भिडियो हेर्नुस्:

विभिन्न र्याअम्प सोमा देखिएकी मोडल दिव्यता वैद्य यसपटक मिस नेपाल प्रतियोगितामा सहभागी भएकी छन्। 'मोडलिङको लागि चाहिने प्रशिक्षणहरु पाइरहेको हुँदा प्रोत्साहित भएको छु,' उनले भनिन्। हालः होटल व्यवस्थापन अध्ययन गरिरहेकी सोनु थापा मगर व्यत्तित्व विकासको प्रशिक्षण पाइरहेकोमा खुसी छिन्। 'यहाँ आएपछि आत्मविश्वास बढेको महसुस गरेकी छु,' उनले भनिन्।

द हिडन ट्रेजरले आयोजना गर्ने मिस नेपालको यो २०औं संस्करण हो। यसपटक मेधा कोइराला, रेबिका क्षेत्री, सृष्टि भट्टराई, पूजा श्रेष्ठ, प्रियारानी लामा, सुजाता खनाल, रिता केसी, सोनु थापा मगर, अनु खड्का, सुदिपा पाठक, निश्मा चौधरी, दिव्यता वैद्य, प्रशंसा पराजुली, इभाना मानन्धर, दुर्गा गुरुङ, एसिना पौडेल, कृपा न्यौपाने, स्नेहा पौड्याल र नुनिङ लिम्बुले सहभागिता जनाएका छन्। यसपटक मिस नेपालमा काठमाडौंबाहेक ललितपुर, तनँहु, सिराहा, रुपन्देही, कास्की, झापा, चितवन, सुनसरी र ललितपुरका सहभागीले प्रतिस्पर्धा गर्दैछन्।

कोरियोग्राफर रचना गुरुङ शर्मा र माल्भिका सुब्बाले प्रतियोगीहरुलाई कुपण्डोलस्थित द हिडन ट्रेजरमा प्रशिक्षण दिइरहेका छन्। 'हरेक पटक नयाँ शैलीले प्रशिक्षण दिने प्रयास गर्छु। मैले पनि सिक्ने मौका पाएको छु,' कोरियोग्राफर रचना शर्माले भनिन्। आगामी वैशाख ४ मा अन्नपूर्ण होटलमा अन्तिम प्रतिस्पर्धा हुँदैछ। पूर्व मिस नेपालहरु स्वेता सिंह, माल्भिका सुब्बा, प्रिती सिटौला, सदीक्षा श्रेष्ठ, मलिना जोशी, सृष्टि श्रेष्ठ, इशानी श्रेष्ठ र सुविना लिम्बुलगायतले सहभागिहरुलाई प्रशिक्षण दिइरहेका छन्।

विजेताले एक लाख र डब्लुडब्लुएफको सद्भावना दूत हुनेछिन्। त्यस्तै दोस्रोले ६० र तेस्रोले ४० हजार पाउँनेछन्। मिस नेपालअन्तर्गत ट्यालेन्ट राउन्ड आगामी चैत २३ मा रसियन कल्चर सेन्टरमा आयोजना हुँदैछ। 'यसपटकको मिस नेपालको लागि राजधानीबाहेक विभिन्न स्थानमा अडिसन गरेका थियौं। त्यसैले मिस नेपालमा सहभागी भएका प्रतिनिधित्वमा विविधता भेट्न सकिन्छ। हामीले सहभागिलाई व्यक्तित्व विकासलगायतका विभिन्न प्रशिक्षणहरु प्रदान गरिरहेका छौं,' आयोजककी सुवर्ण क्षेत्रीले भने।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App