११ माघ २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

असमको अर्को पाटो

भारतको उत्तरपूर्वी राज्य हो– असम। कोही कोही यसलाई 'आसाम' पनि भन्छन्। अढाई करोडभन्दा धेरै जनसंख्या रहेको असममा नेपालीभाषी मात्रै ४० लाख हाराहारी छन्। २७ जिल्लामा फैलिएको असमभित्र सबैतिर नेपालीभाषी बसोबास गर्छन्। सुरुवाती दिनमा खेतीपाती र पशुपालनलाई जीविकोपार्जनको माध्यम बनाएका नेपालीभाषी अहिले उद्योग, व्यापार, जागिर र अरु प्रतिष्ठित व्यवसायतर्फ लम्किँदैछन्। शिक्षा र चेतनाको विकाससँगै रोजीरोटीको जोहो गर्ने माध्यम पनि फेरिँदैछन्।
भारतका २८ राज्यमध्ये सबैभन्दा बढी नेपालीभाषी रहेको मानिने असम हिन्दु धर्मावलम्बी अधिक रहेको ठाउँ हो। एक सर्वेक्षणअनुसार, यहाँ हिन्दुको जनसंख्या एक करोड ८० लाख हाराहारी छ। हिन्दुपछि मुस्लिम धर्म मान्ने मुसलमानको संख्या धेरै छ। हिन्दु अधिक भएकैले असममा प्रसिद्ध मठ मन्दिर छन्, जसलाई पवित्र तीर्थस्थल मान्दै नेपालबाट दर्शन गर्न जानेहरू पनि धेरै हुन्छन्। ती मठमन्दिरमा नेपाली मुहार सदैव देखिन्छन्। मकर संक्रान्तिलाई असममा 'बिहु पर्व'का रूपमा मनाइँदैछ।
भिन्दाभिन्दै माग राखेर असममा एक दर्जनभन्दा बढी समूहले हिंसात्मक आन्दोलन गरेको धेरै भइसकेको छ। भर्खरै पनि झन्डै ८० जनाको ज्यान लिने हिंसा मच्चिएको थियो। हिंसाको बादल जतिसुकै मडारिए पनि यहाँका मठमन्दिर घुम्दा लाग्छ– असममा केही गडबड छैन। राजधानी गुवाहटीभित्रैको कामाक्ष मन्दिर हिन्दु धर्मावलम्बीको पवित्र तीर्थस्थल हो, जहाँ वर्षभरमा लाखौं नरनारी दर्शननिम्ति आइपुग्छन्। कामाक्ष दर्शन गर्न नेपालीहरू हूलका हूल आउने स्थानीय अर्जुन क्षेत्री सुनाउँछन्।
मनोकामना पूरा हुने विश्वासमा कामाक्ष घुम्ने नेपाली कहिल्यै नघटेको उल्लेख गर्दै क्षेत्री भन्छन्, 'बेला–बेला हिंसात्मक घटना भए पनि तीर्थयात्रीलाई असुविधा नभएकाले यहाँका मठमन्दिरमा नेपाली मनग्गे भेटिन्छन्।' झापाको काँकरभिट्टा नाका हुँदै बस रिजर्भ गरेर असमका मठमन्दिर घुम्ने चलन छ। कतिसम्म भने झापामा महत्वपूर्ण कार्यालयमा प्रमुख भएर आउने सरकारी अधिकारी काम सुरु गर्नुअघि एकपल्ट कामाक्ष मन्दिर आएकै हुन्छन्। यो अघोषित चलन भइसकेको छ।
असमिया र बोडो भाषा चल्तीमा रहे पनि नेपाली भाषा बुझ्ने धेरै छन्। त्यसैले ब्रह्मपुत्र किनारको उमानाथ मन्दिर जाँदा होस् या वशिष्ठधाम पुग्दा, नेपालीहरू गाडी छेउ लगाएर निसंकोच घुमिरहेका भेटिन्छन्। न्यु जलपाइगुडी स्टेसनबाट रेल चढ्दा सात घन्टामै असम आइपुगिन्छ। बस यात्रा गरेर आइपुग्ने नेपाली पनि उत्तिकै भेटिन्छन्। जातिय स्वायत्तता दिइनुपर्ने माग राख्दै आदिवासीले आन्दोलन चर्काइरहँदा नेपालीभाषी आतंकित हुने गरे पनि उनीहरूको पुस्तौनी व्यवसायमा खासै असर देखिँदैन।
asam1
ब्रह्मपुत्र किनारमा स्नान गर्दै नेपाली तीर्थयात्री महिला
 
asam2
उमानाथ मन्दिर दर्शन गर्न जाँदै नेपालीभाषी परिवार
 
asam3
वशिष्ठधाममा बेच्न राखिएका रंगीचंगी फूलमाला
 
asam4
खोला किनारमा अवस्थित वशिष्ठधाम
 
asam5
कामाक्ष मन्दिर परिसरमा फूलमाला बेच्दै महिला
 
asam6
गुवाहटीनजिकैको प्रसिद्ध कामाक्ष मन्दिर
 
asam8
मन्दिरमा नेपाली तीर्थयात्रीको लर्को
 
asam9
ब्रह्मपुत्रमा डुंगा चढेर रमाइलो गर्दै तीर्थयात्री
 
asam10
असमको राजधानी गुवाहटी।
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App