६ वैशाख २०८१ बिहीबार
फोटो फिचर

खोप पाउन सधैं सास्ती (फोटो फिचर)

पोखराका विभिन्न खोप केन्द्रमा सोमबार दिउँसो कोरोना विरुद्धको खोप लगाउन लामवद्ध पोखरेली नागरिक । तस्बिरः उमेश पुन÷नागरिक

कोरोना भाइरस संक्रमण विरुद्ध साउन ४ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाएका व्यक्तिहरुका लागि सोमबारदेखि दोश्रो डोज खोप लगाउन थालिएको छ । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले विभिन्न खोपकेन्द्र तोकेर दोश्रो डोज खोप लगाउन थालेको बताएको छ । पोखरा महानगरपालिकाभित्रका केन्द्रमा खोप लगाउन पुगेका नागरिकको भीडभाड रहेको छ ।

महानगरले विभिन्न २३ वटा केन्द्र तोकेर खोप लगाउने तयारी गरेको बताएको छ । विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रमा खोप दिइएको छ । सोमबारेदेखि सुरु भएको यो अभियान तीन दिनसम्म चल्ने महानगरका स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्माले बताए । उनका अनुसार अघिल्लो पटक भन्दा यो पटक केही खोपकेन्द्र थप गरिएको छ । पहिला १९ वटा केन्द्र थिए । अहिले ४ वटा खोपकेन्द्र थप गरिएको छ ।  

तीनदिनमा पोखरा महानगरपालिका भित्रका करिब ३५ हजार नागरिकले दोश्रो मात्रा पुरा गर्ने उनले बताए । ती मध्ये विद्यालयका शिक्षक र ५५ वर्ष उमेर समुह माथिका नागरिक छन् । खोप केन्द्रको संरचना कमजोर हुनु र कोरोना विरुद्धको खोपप्रतिको विश्वास बढ्दा खोपकेन्द्रमा नागरिकको भीडभाड भएको उनले बताए ।

 ‘पहिला खोप लगाउन डराएका नागरिक अहिले पाउनासाथ खोप लगाउने गरेका छन् । खोपप्रतिको विश्वास पनि बढेकै हो,’ उनले भने, ‘भविश्यमा खोप नआउने हो की भन्ने आशंकाले गर्दा भीडभाड गरेर भएपनि नागरिकले खोप लगाएका छन् ।’  

यही उमेर समुहका पहिलो मात्रा लगाउने बेलामा भने नागरिकले निकै नै सास्ती खेपेका थिए । स्थानीय वडातहमा तोकिएका स्वयंसेवकले नै आफन्त र चिनजानका मान्छेलाई प्राथमिकता दिँदा उमेर समुहका नागरिकले खोप लगाउन सास्ती खेपेका थिए ।दोश्रो डोज खोप लगाउन खोप केन्द्रहरुमा विहानैदेखि भीड लागेको छ । पहिलो मात्रा लगाएकाहरु खोपको दोश्रो मात्रा लगाउन खोप केन्द्रहरुमा पुगेका हुन् । तर, लाईनलाई ब्यबस्थित नबनाउँदा सर्वसाधारणले खोप लगाउन सास्ती भोग्नु परेको सर्वसाधारणले गुनासो गरेका छन् ।

  

पहिलो मात्रा लगाउने बेलामा भन्दा अहिले केही ब्यबस्थित गर्ने प्रयास भएपनि स्वयंसेवी नहुँदा ढिला आउनेले छलछाम गरेर छिटो छिटो लगाउँदा पहिले नै आएर लाइनमा बस्दा आफुहरुले सास्ती भोग्नुपरेको उनीहरुको गुनासो छ । त्यसबाहेक आवश्यक खोपको मात्रा केन्द्रमा नपुग्दा पनि नागरिकले सास्ती खेपेका थिए । विभिन्न खोप केन्द्रमा आवश्यक भन्दा कम मात्रामा खोप लैजाँदा कतिपय नागरिकले खोप नै लगाउन नपाई फर्केका थिए ।  

यद्दपी यसपटक महिला र पुरुषको छुट्टाछुट्टै लाईन राखेकाले केही सहज भएको उनीहरुले बताएका छन् । पहिले अव्यवस्थित लाईन हुँदा झनै समस्या भोग्नु परेको थियो । पहिलो डोज लगाउने क्रममा उमेर समुह भन्दा आफन्त र निकटका व्यक्तिलाई खोपमा प्राथमिकता दिँदा उमेर समुह र लामो समय लाममा पालो कुरेर बसेका नागरिकले सास्ती खेपेका थिए । 

प्रकाशित: २५ श्रावण २०७८ १०:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App