७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

नयाँ वर्षमा मस्त पोखरा (फोटोफिचर)

नयाँवर्षका पहिलो दिन बुधबार बिहान पोखराको तालबाराही मन्दिर दर्शन गर्न आउजाउ गर्नेको भीड । तस्बिरः उमेश पुन÷नागरिक

कोरोना भाइरस संक्रमणको दोश्रो लहरको जोखिममध्येको सहरमध्ये पर्यटकीय सहर पोखरा परेको भन्दै सरकारले सचेत हुन आग्रह गरिरहेको छ । तर, पर्यटकीय सहर पोखरा नेपाली नयाँवर्षमा मस्त छ । मानौ, पोखरामा कोरोनाको कुनै डरत्रास छैन । 

 

नयाँवर्षको अघिल्लो बेलुकी मंगलबारदेखि पर्यटकीय क्षेत्र लेकसाइड खचाखच हुन थालेको थियो । बुधबार बिहान त लेकसाइडमा हिडडुल गर्न पनि सकस थियो । गाडीको चाँप बढ्दा सवारी चलाउन पनि सहज थिएन । लेकसाइड प्रवेशको नाका सहीदचोकबाट लेकसाइड हुँदै हल्लनचोक निस्कँदा निकै नै जाम खेप्नुपर्ने अवस्था थियो ।  

बाटोमा सर्वसाधारण बिन्दास तरिकाले हिडिरहेका थिए । समुहमा हिडडुल उत्तिकै थियो । गाडीमा भीडभाड उस्तै थियो । मन्दिर दर्शन गर्ने, तालमा डुंगा सयर गर्ने र रेस्टुरेन्टमा खानेको भीडभाड पहिलेजस्तै देखिन्थ्यो । बुधबार दिनभरजसो लेकसाइड क्षेत्रमा भीडभाड थियो । डुंगा चढ्न पालो कुर्नुपर्ने अवस्था थियो ।  

कोरोनाको त्रास सुरु भएपछि पोहोर यो बेला लकडाउन थियो । पोहोर घरबाहिर निस्कन पनि नपाउने अवस्था हुँदा नयाँवर्ष पुरै सुनसानमा बितेको थियो । तर, अहिले भने व्यवस्थापनमै सकस हुनेगरि भीडभाड बढेको तालबाराही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिकमत बहादुर कुँवरले बताए ।  

‘लकडाउन सुरु भएपछिको सबैभन्दा बढी भीडभाड अहिले भयो,’ कुँवरले भने, ‘डुंगा चढेर मन्दिर दशृन गर्न जान पनि सहज थिएन । मन्दिरमा दर्शन गर्न पनि पालो कुर्नुपर्ने अवस्था आयो ।’

पोखराकै स्थानीय पनि मंगलबार बेलुकी रमाउन लेकसाइड झरेका थिए । ती बाहेक बाहिरबाट भित्रिएका पाहुना र उनीहरु सवार सवारीको लामले पनि उत्तिकै भीड बढाएको थियो । आन्तरिक पाहुनाको भीडभाडले पोखरा नै ‘कोरोना फ्रि’ जस्तै देखिन्थ्यो ।  

रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराका अध्यक्ष लक्ष्मण बराल भन्छन्, ‘कोरोना सुरु भएपछिको सबैभन्दा बढी भीड यतिबेला देखिएको छ । आन्तरिक पाहुना धेरै नै भित्रिए ।’

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपि भट्टराई पनि लेकसाइडमा नयाँवर्ष मनाउन आउनेको भीडले व्यवसायमा चमक थपिएको बताउँछन् । ‘पार्कमा पनि उस्तै भीडभाड थियो । 

लेकसाइडमा निकै नै चहलपहल थपियो । अघिल्ला पटकका नयाँवर्षमा पनि पोखरामा यस्तै भीडभाड हुने गरेकोमा यो पटक पनि लेकसाइड खचाखच भएको उनले बताए ।

प्रकाशित: १ वैशाख २०७८ ११:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App