कोरोना भाइरस संक्रमणका कारण नौमहिनादेखि बन्द रहेको फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिर विहीबारदेखि भक्तजनका लागि खुला भएको छ । स्वास्थ्यका सबै मापदण्ड पुरा गरेर मात्र मन्दिरमा भक्तजनले दर्शन गर्न पाउने गरि मन्दिर खुला गरेको व्यवस्थापन समितिले बताएको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले विहीबारदेखि भक्तजनले पुजा गर्न पाउनेगरि मन्दिर खुला गरेको बताए । ‘कोरोना संक्रमणका कारण नौ महिनादेखि मन्दिर बन्द थियो । मन्दिर बन्द हुँदा धेरैतिर गुनासो पनि सुनियो,’ उनले भने, ‘तर, स्वास्थ्यका सबै मापदण्ड पुरा गरेर मात्र दर्शन गर्न जान पाउनेगरि विहीबारदेखि खुलाएका छौ ।’
मन्दिर बन्द हुँदा पोखरा आएका आन्तरिक पर्यटक घुम्न जान पाएका थिएनन् । फेवातालको बीच भागमा रहेको यो मन्दिर प्रवेशका लागि डुंगा चढेर जानुपर्छ । मन्दिर नखुल्दा पोखरा आएका सिमित आन्तरिक पाहुना पनि घुम्नै नपाई फर्किने गरेको पर्यटन व्यवसायीले गुनासो गरिरहेका थिए । पोखरा भित्रिएका करिब ९० प्रतिशत आन्तरिक पाहुना मन्दिर घुम्नकै लागि डुंगा चढ्छन् । मन्दिरसम्म आउजाउ गर्ने भक्तजनलाई ओसारपसार गरेकै भरमा डुंगा व्यवसायीले पनि कमाई गर्दै आएका थिए ।
मन्दिरका पुजारी नारायण अधिकारीले एकठाउँबाट मात्र प्रवेश गर्नेगरि पुजाआजा गर्न पाउने बताए । उनका अनुसार मन्दिर प्रवेश गर्नुअघि भक्तजनले स्यानिटाइजर प्रयोग गर्नुपर्नेछ । त्यसबाहेक कम्तिमा २ मिटर दुरी पनि कायम गर्नुपर्ने उनले बताए । मन्दिर प्रवेश गर्दा मास्क अनिवार्य गरिएको छ ।
अध्यक्ष कुँवरका अनुसार शनिबार र मंगलबार तालबाराही मन्दिरमा अधिक भीड हुने गरेको थियो । तर पछिल्लो समय पोखरा घुम्न आउने आन्तरिक पाहुना अधिक बढेकोले शनिबार र मंगलबार बाहेकका दिन पनि भक्तजनको भीड हुने गरेको थियो । ‘पहिला पहिला शनिबार र मंगलबार मात्र भीडभाड हुन्थ्यो । तर पोखरा घुम्न आउने आन्तरिक पाहुना बढ्न थालेपछि कुनैपनि दिन खचाखच हुन्छ,’ उनले भने,‘कोरानाले गर्दा यतिबेला भने दर्शन गर्ने भक्तजन पक्कै कम संख्यामा हुनेछन् ।’
पोखरा भ्रमण गर्ने जमात बढ्नासाथ मन्दिरमा भीढ बढिहाल्ने उनले बताए । उनका अनुसार पोखरा घुम्न आएका ९० प्रतिशत भक्तजन तालबाराही मन्दिर घुम्न जान्छन् । भित्रि मनले भगवानको प्राथना गर्दा इच्छा पुरा हुने मान्यता भएकोले तालाबाराहीमा भक्तजनको भीड लाग्ने उनले बताए ।
यो पनि पढ्नुहोस
प्रकाशित: २ पुस २०७७ ०९:५५ बिहीबार