एकीकृत प्रवेश परीक्षा नतिजा प्रकाशनमा भएको गम्भीर त्रुटिप्रति विद्यार्थीहरूको विरोध
चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा गरेको त्रुटि लुकाएर भ्रष्टाचार गरेको भन्दै मेडिकल अध्ययन गर्न चाहने पिडित विद्यार्थीहरु बुधबारदेखि आन्दोलनमा उत्रेका छन् ।
आयोगले गत शुक्रबार प्रकाशित गरेको एकीकृत प्रवेश परीक्षाको नतिजामा एमबीबीएसतर्फ गम्भीर त्रुटि गरेको तथ्य बाहिरएसँगै विद्यार्थीहरुले आफुले लेखेको उत्तरपुस्तिका, अयोगले दिएको नम्बरको एन्सर कि र आयोगले सोधेको प्रश्नपत्र हेर्न पाउनु पर्ने माग राख्दै आन्दोलनमा उत्रेको आन्दोलनको नेतृत्व गरिरहेका जीवन सिंहले बताए । उनले सोमबार र मंगलबार आयोगका पदाधिकारीसँग भएको छलफलमा विद्यार्थीको माग अनुसार सहमति नभएपछि विद्यार्थीहरु सडकमा उत्रनु परेको बताए ।
‘अयोगका पदाधिकारीले प्रश्नपत्र नदिने भन्नु हुन्छ । अनि प्रश्नपत्र बिनाको एनसर कि के काम ? हामी प्रश्न बिनाको उत्तर कसरी हेर्ने ?’ जीवनले नागरिकसँग भने, ‘हामीले के गल्ती गरेको हो त्यो हेर्न पाउनु पर्छ । गल्तीनै नहेराई फेल गर्नु अयोगको भ्रष्टाचार हो ।’ उनले थपे, ‘यति मात्र होइन उत्तरपुस्तिका हेर्न आयोगमै भौतिक उपस्थितमा निवेदन दिनु पर्ने आयोगले सूचना प्रकाशन गरेको छ । १० दिनको अवधिमा दूर दराजका विद्यार्थी कसरी भक्तपुर पुग्न सक्छन् ? ’
अनलाइन निवेदनको माग पनि आयोगले सुनेन । यसकारण एकीकृत प्रवेश परीक्षाका विद्यार्थी आन्दोलनमा उत्रनु परेको अर्की छात्रा रक्षा कार्कीले बताइन् । ‘अनलाइन निवेदनको ब्यवस्था गरे सबै विद्यार्थीले निवेदन दिने पहुँचमा हुन्छन्,’ रक्षाले भनिन्, ‘तर आयोग त हाम्रो कुनै पनि माग पुरा गर्न तयारै छैन । गल्ती बिना फेल गराउनु पनि भ्रष्टाचार हो । शिक्षालाई राजनीति र व्यापारको रुपमा दिन आयोगाक पदाधिकारी लागि परेका छन् ।’ उनले चेतावनी दिइन्, ‘यो हामी विद्यार्थीले कदापि सहन गर्दैनौं । हामी अदालतको ढोकामा पुग्ने तयारीमा जुटेका छौं । ’ बुधबार एकीकृत प्रवेश परीक्षाको त्रुटिपुर्ण नतिजाबाट पिडित विद्यार्थीहरु माइतीघर मण्डलामा अयोगको गैरजिम्मेवारपूर्ण रवैयाप्रति विरोध प्रदर्शन र नाराबाजी गरिरहेको भेटिए ।
प्रधानमन्त्री अध्यक्ष तथा शिक्षामन्त्री र स्वास्थ्यमन्त्री सहअध्यक्ष रहेको चिकित्सा शिक्षा अयोगले चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा गरेको गम्भीर त्रुटिका कारण मेडिकल अध्ययन गर्न चाहना लिएका विद्यार्थी अध्ययनको तयारीको साटो सडक आन्दोलनमा उत्रनु पर्ने बाध्य बनेका छन् । अयोगले प्रकाशित गरेको त्रुटिपुर्ण नतिजाले वर्षदिनदेखि कडा परिश्रम गरेर परीक्षामा सहभागिता जनाएका विद्यार्थीको भविष्यमाथि खेलवाड भएको छ ।
केहि महिनाअघि पनि माध्यमिक शिक्षा परीक्षा एसईईमा प्रकाशित नतिजाको गम्भीर त्रुटि गरेको तथ्या बाहिरिएको थियो । विद्यार्थीलाई प्राप्त नतिजामा चित्त नबुझेर पुनःर्योगका लागि दिएको निवेदनले ५ प्रतिशतको नतिजा फेरबदल भयो । फेल भएका विद्यार्थी पुनःर्योगका लागि निवेदन दिएपछि ए प्लस ल्याएका छन् । यसरी पछिलो समय परीक्षा बोर्ड तथा अयोगका त्रुटि एकपछि अर्को गरि बाहिरिँदा विद्यार्थीहरु बोर्ड र आयोगाको परीक्षाका काम कारवाहीलाई शंकाका दृष्टिले हेर्न थालेका छन् ।
अयोगले विश्वास गुमाएको भन्दै विद्यार्थीको एउटै माग छ 'आफुहरुले लेखेको उत्तरपुस्तिका, आयोगले दिएको एन्सर कि र प्रश्नपत्र अयोगले उपलब्ध गराउनु पर्यो । जुन हाम्रो अधिकार हो ।'
आयोगले तीन दिनभित्र दुइ पटक नतिजा प्रकाशन गरिसक्यो अब विद्यार्थीले कुन नतिजालाई सत्य मन्ने? परीक्षार्थी शेख सालेहा अखतरको प्रश्न छ । शेख सालेहाले भदौं १ गते आयोगले संचालन गरेको मेडिकलको परीक्षाहरुमध्ये एमबीबीएसको एकीकृत परीक्षामा सहभागिता जनाएकी थिइन् । तर आयोगले शुक्रबार नतिजा प्रकाशन गर्दा उनको सिम्बोल नम्बरमा अर्कै विद्यार्थीको अंक थियो । उनी आतिएर दोहो¥यार आफ्नो सिम्बोल नम्बर पुनः राखेर नतिजा हेर्न खोज्दा सर्भरनै डाउन भएको उनले सुनाइन् । सुधारिएको नतिजमा उनको नाम नआएकोमा उनको आयोगमाथि विश्वास उठेको छ ।
‘म फेलनै हुँ भने पनि मैले लेखेको उत्तर पुस्तिका, मलाई आयोगले दिएको एनसर कि र मैले प्रश्नको आधारमा लेखेको प्रश्नपत्र उपलब्ध गराउनु पर्छ,’ शेष सालेहाले भनिन, ‘तर आयोग १६ हजार विद्यार्थीको उत्तरपुस्तिका दिन तयार छ तर १६ पेजको प्रश्नपत्र दिन किन तयार छैन ।’ उनले थपिन्, ‘हाम्रो गल्ती नहेराई फेल गराउनु अयोगको त्रुटि लुकाउन खोजेको प्रमाणित भएको छ ।’
तस्बिरमा हेरौँ विरोध प्रदर्शनको केही झलक (तस्बिर : दिपेश दर्शनधारी/नागरिक) :