१५ वैशाख २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

धमाधम स्याउ टिप्दै मुस्ताङका किसान (फोटोफिचर)

अबको केही दिनमा बजारमा मुस्ताङको स्याउ आउँदैछ। गुलियोपना कम हुने भन्दै असोज १ अगाडि स्याउ टिप्न नपाइने निर्णय जिल्लामा भएकोले मुस्ताङको स्याउ चाख्नका लागि अझै केही दिन भने कुर्नुपर्नेछ।

असोज १ पछि टिप्न पाइने भनेपनि किसानले ‘हाइ डेन्सिटी’ को ‘गाला’ र ‘किङरोट’ ब्राण्डको स्याउ भने टिप्न थालेका छन्। किनकी यो ब्राण्डको स्याउ पाकिसकेको छ। जिल्लामा ‘हाइ डेन्सिटी’ को खेती निकै नै कम छ। स्थानीय जातको तुलनामा ‘हाइ डेन्सिटी’ को स्याउ केही अगाडि नै पाक्छ।

केहीवर्ष अघिसम्म त्यहाँ भदौ पहिलो साता नै स्याउ टिप्ने गरिएको थियो। तर, राम्रोसँग पाक्न नपाउँदै टिप्दा त्यसको वास्तविक स्वाद नपाइएको भन्दै पछिल्लो दुइवर्षदेखि स्याउ टिप्ने समय तोक्न थालिएको हो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई (स्याउ जोन) जोमसोमका अनुसार यो वर्ष असोज १ पछिमात्र मुस्ताङको स्याउ टिपेर बजार ल्याउन पाइनेछ। टिप्नुअघि नै ठेकेदारले बगैंचाबाटै स्याउ खरिद गरिसकेको भएपनि टिप्न भने थालिएको छैन।

जिल्ला समन्वय समिति, स्थानीय तह र किसान सहितको भेलाले यो पटक असोज १ देखि मात्र स्याउ टिप्न पाउनेगरि समय तोकिदिएको परियोजनाका सूचना अधिकारी नेत्रप्रसाद भट्टले जानकारी दिए। ‘यो पटक असोज १ देखि मात्र स्याउ टिप्न पाउनेगरि निर्णय भएको छ,’ भट्टले भने, ‘स्याउको वास्तविक स्वाद आउने भएकोले असोजसम्म पर्खिनुपरेको हो।’

मुस्ताङको स्याउ देशभर प्रख्यात छ। चिसो हावापानी भएको भूगोलमा फल्ने भएकोले मुस्ताङको स्याउले उपभोक्ताको मन जितेको हो। तर पछिल्लो समय मुस्ताङी स्याउको स्वाद हराउँदै गएको गुनासो आउने गरेको थियो। सूचना अधिकारी भट्टका अनुसार ‘हाइ डेन्सिटी’ को ‘गाला’ र ‘किङरोट’ ब्राण्डको स्याउ भने यतिबेला नै पाकिसकेको छ। केही किसानले टिप्न पनि थालिसकेका छन। हाइ डेन्सिटीमा गाला, किङरोट, गोल्डेन डेलिसियस, फुजी, र जोनाप्रिन्स जातको स्याउ हुन्छ। अरु भन्दा केही समय छिटो पाक्ने यो स्याउ टिप्न योग्य भईसकेको छ।

उनका अनुसार मुस्ताङमा हाइ डेन्सिटीको स्याउ खेती करिब ५५ हेक्टर क्षेत्रफलमा मात्र गरिएको छ। पोहोरसम्म यो क्षेत्रफल ४० हेक्टर मात्र थियो। ५५ हेक्टर क्षेत्रफलमा हाइ डेन्सिटीको स्याउ खेती भएपनि ३० हेक्टरमा रोपेको मात्र फलेको छ। स्थानीय जातको स्याउमा भने रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन र फूजी जातको स्याउको उत्पादन बढी छ।

मुस्ताङमा सबैगरि १५ सय हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ। ती सबै विरुवामा दाना भने लाग्दैन। करिब ५५० हेक्टर क्षेत्रफलमा गरिएको स्याउ खेतीमा मात्र दाना लाग्ने गरेको छ। पोहोर मुस्ताङले करिब ६० करोड रुपैयाँको स्याउबाट भित्र्याएको भट्टको अनुमान छ। किसानले बगैंचाबाट  प्रतिकिलो ८० देखि ९० रुपैयाँमा स्याउ बिक्री गरेका थिए। परार भने मुस्ताङले स्याउ बेचेर ५० करोड रुपैयाँ कमाएको थियो। 

भट्टका अनुसार योपटक भने उत्पादनमा केही गिरावट आएको छ। यो वर्ष २० प्रतिशत उत्पादन घट्ने अनुमान रहेको उनले बताए। यो पटक स्याउ उत्पादन घट्नुमा मुख्य कारण बेलैमा हिउँ नपर्नु मुख्य रहेको उनले बताए। त्यसबाहेक फूल फुल्ने बेलामा पानी पर्दा पनि असर परेको हो। पानी पर्दा परागसेचन हुन नपाएर उत्पादनमा कमी भएको भट्टले बताए।

उनका अनुसार यो पटक सबैगरि ५५ सय मेट्रिक टन स्याउ फल्ने अनुमान छ। गत वर्ष ६ हजार मेट्रिक टन फलेको थियो। किसानले प्रतिकिलो एकसय रुपैयाँको दरले बेचेकोले पनि करिब ५५ करोड रुपैयाँ यो पटक मुस्ताङले स्याउबाट मात्र भित्र्याउने उनले सुनाए।

मुस्ताङको धमाङ कृषक समुहका सचिव दिपक लालचनले पनि योपटक पोहोरजति स्याउ नफलेको बताए। ‘करिब २० प्रतिशत मात्र घटेको अनुमान छ,’ लालचनले भने, ‘योपटक हिउँ परेन। फूल खेल्ने बेलामा पानी परेकोले उत्पादनमा असर परेको हो।’ उनले आफ्नो बगैंचामा चारसय जति स्थानीय र ३ हजार विरुवा हाइ डेन्सिटीका रोपेका छन्। ‘२० लाख रुपैयाँ जति कमाई हुन्छ। हामी त स्याउ टिप्न व्यस्त छौं,’ लालचनले भने, ‘असोज १ सम्म हाइ डेन्सिटीको स्याउ बजारमा आउँछ। हाइ डेन्सिटीको स्याउ टिप्न थालिएको छ। अरु बिस्तारै टिप्दै जाने हो।  

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App