
आजबाट सुरू भयो रमजान (तस्बिरहरू)

42 SHARES

इस्लाम परम्पराको एकमहिने रमजान ‘रोजा’ (व्रत) सुरु भएको छ। हिजरी (उर्दू) संवत्को ‘सवान’ महिना अन्त्य हुनुसँगै बिहीबार साँझ चन्द्रमा देखिएपछि इस्लाम धर्मगुरु मोल्वी, मौलानाले तत्कालै ‘तराबी’ नमाज (प्रार्थना) गरेर यस वर्षको रमजान अब सुरु भएको बताएका हुन्।
‘सवान’ महिना सकिनासाथ पहिलो पटक चन्द्रमा देखिएपछि तत्काल ‘तराबी’ नमाज (विशेष प्रार्थना) गरेर भोलिपल्टदेखि रमजान सुरु हुने इस्लाम परम्परा छ। सोअनुसार बिहीबार साँझ ‘तराबी’ सम्पन्न गरेका इस्लाम धर्मावलम्बीले आज ‘रोजा’ सुरु गरेका हुन्।
हिजरी संवत् परम्परामा चन्द्र उदयको गणनाले महिना प्रारम्भ हुन्छ। यसअनुसार ‘सवान’ सकिएपछि बिहीबार साँझ चाँद (चन्द्रमा) देखिएको हुँदा रमजान महिना आज प्रारम्भ भएको महोत्तरीको भङ्गाहा–४ का बासिन्दा ८५ वर्षीय हाजी (मक्का मदिना पुगेर विशेष धार्मिक अनुष्ठान पूरा गरेका इस्लाम धर्मावलम्बीलाई दिइने उपाधि) बिहारी अन्सारी बताउछन्।














