७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

तोरी बारीमा घुम्न जानेको भिड (फोटोफिचर)

म्याग्दीको बेनी नगरपालिका–१,रत्नेचौर तोरीको फूल फुलेर पहेँल पुर भएको छ। बेनी–बागलुङ सडक खण्डमा पर्ने रत्नेचौरको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी र फाँटको बिचमा चिटिक्कै परेको कालोपत्रे सडकमा रमाउन यहाँ यो सिजनमा आन्तरिक पर्यटकहरूको भीड लागेको छ। 

झुलिरहेको तोरीको सौन्दर्यमा युवायुवती र सर्वसाधारणहरू टिकटक बनाउन, नाच्दै रमाउन व्यस्त छन्। रत्नेचौर–अर्जम–ज्यामरुककोट सडक खण्डअन्तर्गत ९०० मिटरको कालोपत्रे सडकको दायाँ र बायाँतर्फ लमतन्तै परेको खेतको फाँटमा फुलेको तोरी, धौलागिरि हिमाल सहितको दृश्यलाई पृष्ठभूमिमा पारेर फोटो खिचाउन र टिकटक बनाउन कलिला बालबालिकादेखि बृद्धबृद्धासम्म आउने गरेको स्थानीय भानु माविका प्रधानाध्यापक भरत खत्रीले बताए।  

‘गतबर्षको तुलनामा पर्यटकको आगमन कम भएपनि बिदाको दिनमा थामिनसक्नु भिड हुन्छ,‘पर्यटकको चापले यहाँ आर्थिक कारोबार समेत बढेको छ’ प्रम खत्रीले भने। उनका अनुसार सवारीसाधन र पैदल मार्गमार्फत तोरी बारीमा घुम्न आएकाहरूले रत्नेचौर–अर्जम–ज्यामरुककोट सडक खण्ड बिदाको समयमा जाम समेत हुने गरेको छ। गतबर्षदेखि स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यम, सामाजिक सञ्जाल फेसबुक, टिकटक, युट्युब लगायतमा रत्नेचौरको फोटो, भिडियो भाइरल भएपछि घुम्न आउनेको चाप बढेको हो। 

चारैतिर पहाड, उत्तरतर्फ मुसुक्क मुस्कुराइरहेको संसारकै सातौँ अग्लो धौलागिरि सहितका हिमालको दृश्यसँगै समथर फाँटको पहेँल पुर तोरी बारीमा जनजातिको भेषभुषा लगाएर समेत तस्बिर खिच्नेको भ्याई नभ्याई छ। तोरी बारीमा गएर फोटो र भिडियो खिच्दा क्षति हुने भएकाले आसपासको क्षेत्रबाट खिच्ने गरेको घुम्न गएकी अमिस्ता भण्डारीले बताइन्। उनले गतबर्षको तुलनामा स्थानीयले कम तोरी लगाए पनि घुम्न आउनेको कमी नभएको बताइन्।  

रत्नेचौरका वडा अध्यक्ष टेकबहादुर थापाले आन्तरिक पर्यटकलाई व्यवस्थित बनाउन रत्नेचौरमा विभिन्न पूर्वाधारहरू थपिएको बताए। उनका अनुसार अगामी बर्ष युवाहरूको सक्रियतामा तोरी महोत्सवको तयारी गरिएको बताए। ‘तोरीबारीले नै आन्तरिक पर्यटक प्रर्बधनमा सघाइरहेको छ,‘तोरी खेतीका लागि अनुदान सहितका कार्यक्रम ल्याउँछौ’ वडा अध्यक्ष थापाले भने। 

उनले मानव निर्मित पोखरी, रत्नेचौर र बागलुङको कुँडुले ९फेदी० जोड्ने ३ सय ८८ मिटर लामो झोलुङ्गे पुलले समेत पर्यटकलाई आकर्षित गरेको बताए। रत्नेचौर र उपल्लाचौरका करिब पाँच घरधुरीले तोरी खेती गरेका छन्। घर आँगन, खेतबारीमा लगाएको तोरीको तेल खोज्दै गाउँमा आउने गरेका छन्। छिमेकी जिल्ला बागलुङको  कुँडुले फेदीमा समेत प्रशस्तै तोरी हुन्छ। गाउँ बस्तीमा फुलेको तोरीले ग्रामीण सुन्दरतालाई समेत निखार ल्याउने गरेको छ। म्याग्दीमा रत्नेचौरलाई तोरीको हब मानिन्छ।  

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App