coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

१२ वर्ष देखि मौरीपालन गर्दै आएका भुर्तेल (फोटोफिचर)

रुपन्देही जिल्ला देवदह नगरपालिका वडा नं–५ का छविलाल भुर्तेलले १२ वर्ष देखि मौरी पालन व्यवसाय गर्दै आएका छन्। उनले मौरी पालन व्यवसायबाट वार्षिक लाखौँ आम्दानी गर्छन्। उनको मुख्य आम्दानी नै यही हो पारिवारिक खर्च पनि यसै आम्दानीबाट टर्ने गर्छ। 

उनले उत्पादन गरेको मह विभिन्न देशमा समेत पुग्ने गर्छ। २० घार अनुदानको मौरीबाट सुरु गरेका उनले  विगत एक दशकदेखि व्यावसायिक रुपमा मौरी पालन गर्दै वार्षिक दश लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्। उनले भने, ‘ मैले अनुदानको २० वटा मौरीको घारबाट बढाएर ५६ वटा घारसम्म बनाएको छु। यो मौरीको सिजन नहुँदा मात्र हो। सिजनमा त सय भन्दा बढी मौरीको घार हुने गर्छ। मैले एपि सेरेना जातको मौरी पाल्दै आएको छु।’

भुर्तेलले थपे, ‘केही वर्ष मौरी पालनबाट घाटा व्यहोरे तर अहिले आफूले सोचे जस्तै आम्दानी भएकोले घाटा व्यहोरेकोमा दुःख नै लाग्दैन। किन भने दुःख पछि नै सुख पाउने रहेछ।’ 

उनले गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुने गरेको बताए। विभिन्न संस्थाको सहयोगमा तालिम लिएपछि उनी  मौरी पालनमा हौसिएका हुन्। उनले मह मात्र बिक्री गर्दैनन् मौरीको घार र गोला समेत बिक्री गर्ने गरेका छन्। उनले वर्षमा दुई दर्जन भन्दा बढी घार समेत बिक्री गर्ने गरेको बताए। उनको व्यवसायमा श्रीमती र छोराछोरीले समेत सहयोग गर्ने गरेका छन्। उनले प्रतिकिलो ६  सय रुपैयाँका दरले मह बिक्री गर्ने गरेका छन्। उनले एक सिजनमा ६ क्विन्टल भन्दा बढी मह काढ्ने गर्दछन्। एपी सेरेना जातको मौरीको मह भीर मौरीकै जस्तै गुणस्तरीय हुने भएकाले राम्रो फाइदा हुने उनको भनाइ छ।

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App