जापानको नारा पार्कमा एक महिला घाइते मृगमाथि चढ्न खोजेको भिडियो सार्वजनिक भएपछि आलोचनाको शिकार भएकी छिन्।
घटनाको भिडियो गत मंगलबारमा पोस्ट भएको थियो। भिडियो भाइरल भएपछि उनले अनलाइनमा 'जनावर दुर्व्यवहार' गरेको भन्दै आलोचना गरिएको हो। भाइरल क्लिपमा सेतो लुगा र हिल लगाएकी एक महिलाले मृगको पछाडि चढ्न खोजेको देखिन्छ। तर मृग टाढा जाँदा असफल हुन्छिन्।
त्यसपछि उनी त्यसलाई पछ्याउँछिन् र आफ्नो देब्रे खुट्टामा अडेस लागेर फेरि त्यसमा चढ्न खोज्दै सहाराको लागि त्यसको घाँटी समातेको देखिन्छ। भिडियोमा पृष्ठभूमिबाट अर्का एक पुरुषले 'यसमा चढ्न मिल्छ, चढ्न मिल्छ' भनिरहेको समेत सुनिन्छ।
शिन्तो परम्परा अनुसार मृगहरूलाई पवित्र मानिन्छ, र देवताहरूको दिव्य दूतको रूपमा लिइन्छ।
त्यसको एक दिन पहिला (सोमबार) सामाजिक सञ्जालमा नै एक पोस्टमार्फत सो मृग ट्राफिक दुर्घटनामा परेर अगाडिको खुट्टा भाँचिएपछि अशक्त भएको जानकारी गराइएको थियो।
'उपचार भइरहेको बेला म यो मृगको हेरचाह गर्न स्वयंसेवा गरिरहेको थिएँ,' ती प्रयोगकर्ताले लेखेका थिए, 'अगाडिको खुट्टा बांगो भए पनि बाँच्न यति धेरै प्रयास गरिरहेको जनावरको लागि यस्तो व्यवहार अस्वीकार्य छ।'
भिडियो भाइरल भएपछि नारा प्रान्तका सरकारी अधिकारीहरूले यस घटनाप्रति गम्भीर चासो देखाएका छन्। एक अधिकारीका अनुसार भिडियोबाट मात्रै यो कानुनी रूपमा 'हानीकारक कृत्य' हो वा होइन भन्ने किटान गर्न गाह्रो भए पनि महिलाको यस्तो व्यवहार 'अत्यन्तै अनुपयुक्त' हो।
यस्ता कार्यले जनावरलाई चोट पुग्ने मात्र नभई मानिसमा समेत कडा रोगहरू सर्ने जोखिम हुने भन्दै प्रशासनले पर्यटकहरूलाई मृगसँग प्रत्यक्ष शारीरिक सम्पर्क नगर्न र दुरी कायम राख्न सचेत गराएको छ।
धेरैले ती महिलाले 'घृणित' कार्य गरेको भन्दै निन्दा गरेका छन्। कतिले उनलाई अनादरपूर्ण भएकोमा गाली समेत गरेका छन्।
एक इन्टरनेट प्रयोगकर्ताले दुर्घटनामा मृगको अगाडिको खुट्टामा चोट लागेको भन्दै महिलालाई 'असहाय मृग विरुद्ध जनावर दुर्व्यवहार' गरेको आरोप लगाए।
अर्कीले लेखिन्, 'यस महिलाले मृगलाई जे गरिरहेकी छिन् त्यसले यसलाई दुःख दिइरहेको छ। कृपया रोक्नुहोस्।'
'मृगलाई पछ्याउँदै गर्दा ठीकै देखिन्थ्यो तर मृगमाथि बसेर? होइन,' एक जना नेटिजनले लेखे। एजेन्सी
प्रकाशित: २४ जेष्ठ २०८३ १२:४८ आइतबार





