सामान्यतया चाडपर्वमा कर्मचारीलाई मिठाई, उपहारका सामग्री वा अन्य उपयोगी वस्तु दिने चलन भए पनि एक कम्पनीले स्मार्टफोन उपहार दिएर सबैलाई चकित पारेको छ।
भारतको दिल्लीस्थित एक कम्पनीले तिहारको अवसरमा आफ्ना कर्मचारीलाई आईफोन १६ उपहार दिएको हो। त्यहाँको रोहिणीमा रहेको फाइनान्सरसाब कम्पनीले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा १५ सेकेन्डको भिडियो सार्वजनिक गरेर यसबारे जानकारी गराएको छ। भिडियोमा कर्मचारीका डेस्कमा रिबनले सजाइएका सेतो, हरियो, निलो र कालो रंगका आईफोन १६ राखिएको देखिन्छ। उपहार पाएपछि केही महिला कर्मचारी खुसी हुँदै प्रतिक्रिया दिएको दृश्य पनि भिडियोमा छ।
कम्पनीले पहिलो भिडियोसँगै ‘कुनै प्रतिस्पर्धा छैन, तपाईंले के पाउनुभयो?’ भन्ने क्याप्सन राखेको छ। भिडियोमा कर्मचारीका डेस्कमा आईफोन १६ राखिएको देखिन्छ। त्यस्तै, अर्को भिडियो सार्वजनिक गर्दै कम्पनीले ‘हामीले त दियौँ’ भन्ने क्याप्सन लेखेको छ। दुवै भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन् र प्रयोगकर्ताहरूले कम्पनीको उदारताको प्रशंसा गरेका छन्।
भिडियो सार्वजनिक भएपछि केही प्रयोगकर्ताले यो वास्तविक नभई कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर बनाइएको हुन सक्ने आशंका गरे। तर कम्पनीले त्यस्तो दाबी अस्वीकार गर्दै भिडियो फेरि हेर्न आग्रह गरेको छ।
भिडियोमा आएका प्रतिक्रियाहरू पनि रोचक छन्। एक प्रयोगकर्ताले कम्पनीमा जागिर खाली छ कि छैन भन्दै प्रश्न गरेका छन्। अर्काले यस्ता उपहार देखेर ईर्ष्या नहोस् भन्नका लागि तिहारमा इन्स्टाग्राम चलाउनै छाड्नुपर्ने बताए।
केही प्रयोगकर्ताले महिला कर्मचारीले आईफोन पाउँदा पुरुष कर्मचारीले सुनका सिक्का पाएको भन्दै ठट्टा गरेका छन्। अर्का प्रयोगकर्ताले आफूले त रोजगारदाताबाट सोन पापडीको बट्टासमेत नपाएको भन्दै टिप्पणी गर्दैछन्।
प्रकाशित: २० कार्तिक २०८३ १२:४६ शुक्रबार





