युएईको लटरीमा १० करोड दिराम जितेको एक वर्षपछि भारतीय नागरिक अनिलकुमार बोल्लाले आफ्नो जीवनमा आएको परिवर्तनबारे बताएका छन्।
उनले ठुलो रकम जित्नुलाई मात्रै सबैभन्दा ठुलो उपलब्धि मानेका छैनन्। परिवारका सदस्यसँग गुणस्तरीय समय बिताउन पाउनु उनका लागि सबैभन्दा महत्त्वपूर्ण बनेको छ।
विगत एक वर्षमा अनिलकुमारले परिवारलाई सहयोग गरेका छन्, युएई र भारतमा सम्पत्ति किनेका छन्, यात्रा गरेका छन् र आफ्नै व्यवसाय सुरु गर्ने सम्भावनाबारे सोच्न थालेका छन्। ‘अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा परिवारसँग गुणस्तरीय समय बिताउन पाउनु हो,’ उनले भने।
गल्फ न्युजका अनुसार तेलंगाना राज्यका तत्कालीन २९ वर्षीय आइटी पेसाकर्मी अनिलकुमारले सन् २०२५ अक्टोबर १८ मा आयोजित युएई लटरीको ‘लक्की डे ड्र’ मा १० करोड दिरामको चिट्ठा जितेका थिए। उक्त रकम युएईमा लटरीमार्फत दिइएको सबैभन्दा ठुलो पुरस्कार थियो। त्यतिबेला उनी करिब १८ महिनादेखि युएईमा बस्दै आएका थिए। उनले सात वटै विजयी नम्बर मिलाएर पुरस्कार जितेका थिए। उक्त पुरस्कार जित्ने सम्भावना करिब ८८ लाखमध्ये एक थियो।
किसान परिवारमा जन्मिएका अनिलकुमारले उक्त ड्रका लागि १२ वटा टिकट किनेका थिए। तीमध्ये ११ नम्बर उनले आमाको जन्ममहिनाको सम्झनामा रोजेका थिए। विगत एक वर्षलाई एउटै शब्दमा वर्णन गर्नुपर्दा उनले ‘परिवर्तनकारी’ भनेका छन्। ‘लटरी जितेपछि मेरो जीवन र महत्वाकांक्षा दुवै फेरिए,’ उनले भने।
पुरस्कार जितेपछि उनले सबैभन्दा पहिले आमाको इच्छा पूरा गर्न सुनको हार, केही औंठी र चुरा उपहार दिए। ‘केही गहना राख्ने उहाँको सपना थियो। त्यसैले मैले सबै गहना एकैपटक किनेर उपहार दिएँ,’ उनले भने। उपहार पाएपछि आमाको आँखामा खुसीका आँसु आएका थिए।
अनिलकुमारका परिवारका सदस्य अझै पनि भारतमा त्यही घरमा बस्छन्, जसलाई उनले बुबाको सपनाको घर बताएका छन्। बुबाको रुचिलाई सहयोग गर्न उनले जैविक खेती गर्न मिल्ने कृषि जग्गासमेत उपहार दिएका छन्। ‘मेरो खुसी सधैं परिवारसँग जोडिएको हुन्छ। उनीहरूका लागि गरेका काम मेरा लागि विशेष छन्। आफ्ना लागि गर्ने कामभन्दा परिवारका लागि केही गर्न पाउँदा मलाई बढी खुसी लाग्छ,’ उनले भने।
समय बित्दै जाँदा अनिलकुमारको ध्यान पुरस्कार जितेको खुसी मनाउनुभन्दा भविष्यको योजना बनाउनतर्फ केन्द्रित भएको छ। उनले पुरस्कारको रकम दीर्घकालसम्म उपयोग गर्ने उद्देश्यले युएई र भारत दुवै देशमा सम्पत्ति किनेका छन्। साथै, अन्य व्यवसाय र सम्भावित व्यावसायिक अवसरको खोजी पनि थालेका छन्।
उनको भविष्यको योजनामा युएई महत्त्वपूर्ण छ। भारतसँगको सम्बन्ध कायम राख्दै युएईमै आफ्नो भविष्य निर्माण गर्ने उनको सोच छ। ‘केही सपना पूरा गरिसकेको छु भने केही सपना पूरा गर्न भविष्यमा अझै काम गर्नुपर्नेछ,’ उनले भने।
विगत १२ महिनामा अनिलकुमारले साथीभाइ र परिवारसँग यात्रा गर्ने तथा नयाँ अनुभव बटुल्ने अवसर पाएका छन्। तर पुरस्कार जित्दाको उत्साह समयसँगै कम हुँदै गएको उनी बताउँछन्। ‘कुनै न कुनै रूपमा जित्दाको उत्साह कम भएको छ। तर मैले पाइरहेका अवसर र गरिरहेका कामप्रति म निकै आभारी छु,’ उनले भने।
लटरीमा १० करोड दिराम जितेका व्यक्तिका रूपमा चिनिएपछि कतिपय मानिसले उनलाई देखेर सम्पर्क गर्ने गरेका छन्। तर एक वर्षपछि उनको ध्यान जितका कारण पाएको चर्चाभन्दा भविष्यमा के गर्ने भन्ने विषयमा केन्द्रित छ।
ठुलो पुरस्कार जित्ने अन्य व्यक्तिलाई के सुझाव दिनुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘करोडपति समूहमा स्वागत छ। विनम्र रहनुहोस् र आफ्नो पैसा अनुशासित तरिकाले खर्च गर्नुहोस्।’
प्रकाशित: ५ कार्तिक २०८३ १५:३४ बिहीबार




-600x400.jpg)
