विवाहमा महँगो उपहारभन्दा आफ्नो रुचि र चाहना बुझेर दिइएको उपहार विशेष हुन्छ। यस्तै एउटा उपहार पाएपछि विवाह समारोहकै बिच बेहुला भावुक भएर रोएको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा छ।
चीनका एक बेहुलाले विवाहको दिन दुलहीबाट महँगो ग्राफिक्स कार्ड उपहार पाएपछि आफूलाई सम्हाल्न सकेनन्। दुलहीले उनलाई करिब तीन हजार अमेरिकी डलर पर्ने आसुस आरओजी एस्ट्रल आरटीएक्स ५०९० ग्राफिक्स कार्ड उपहार दिएकी थिइन्। उपहार देखेपछि बेहुला भावुक हुँदै दुलहीलाई अँगालो हालेर रोएका थिए। उक्त दृश्यले विवाह समारोहमा उपस्थित पाहुनाहरूलाई समेत उत्साहित बनाएको थियो।
भिडियोमा दुलहीले ठुलो बाकसभित्र राखिएको ग्राफिक्स कार्ड बेहुलालाई दिएकी छन्। उपहार खोलेर त्यसमा आफूले चाहेको सामान देखेपछि बेहुलाको खुसी आँसुमा परिणत भएको देखिन्छ। उनले दुलहीलाई अँगालो हालेपछि समारोहमा उपस्थित पाहुनाहरूले पनि खुसी व्यक्त गरेका थिए।
लाइभमिन्टका अनुसार यो भिडियो हालैको नभई पुरानो (सन् २०२५ को) हो। तर, सामाजिक सञ्जालमा पुनः साझा हुन थालेपछि यसले फेरि चर्चा पाएको छ। विशेषगरी कम्प्युटर र प्रविधिमा रुचि राख्ने प्रयोगकर्ताहरूले यो उपहारलाई निकै विशेष मानेका छन्।
आसुस आरओजी एस्ट्रल आरटीएक्स ५०९० उच्च क्षमताको ग्राफिक्स कार्ड हो। यसको प्रयोग विशेषगरी उच्च गुणस्तरका कम्प्युटर गेम खेल्न, ग्राफिक्ससम्बन्धी जटिल काम गर्न र अन्य शक्तिशाली कम्प्युटिङ कार्यका लागि गरिन्छ। करिब तीन हजार अमेरिकी डलर पर्ने यो उपकरण (त्यस समयको मूल्य) महँगो हुनुका साथै बजारमा यसको उपलब्धता पनि सधैँ सहज नहुने भएकाले उपहारको चर्चा थप बढेको हो।
सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले दुलहीले आफ्नो जीवनसाथीको रुचि र चाहना राम्ररी बुझेको भन्दै प्रशंसा गरेका छन्। एक प्रयोगकर्ताले ‘उनले सही महिलासँग विवाह गरेको थाहा पाए’ भन्दै टिप्पणी गरेका छन्। अर्का प्रयोगकर्ताले ‘यसले आफ्नो जीवनसाथीको रुचि बुझ्नु कति महत्त्वपूर्ण छ भन्ने देखाउँछ’ भनेका छन्।
केही प्रयोगकर्ताले महँगो उपहार पाउनु मात्र ठुलो कुरा नभएको भन्दै त्यसपछाडिको भावना महत्त्वपूर्ण हुने बताएका छन्। आफ्नो रुचि र चाहनालाई जीवनसाथीले सम्झेर त्यसअनुसार उपहार दिनु सम्बन्धमा आपसी समझदारी र आत्मीयताको संकेत भएको उनीहरूको भनाइ छ।
एक प्रयोगकर्ताले ‘यो केवल ग्राफिक्स कार्ड होइन, साँचो माया हो’ भन्दै टिप्पणी गरेका छन्। अर्का प्रयोगकर्ताले भने बेहुलाले विवाहपछि आफ्नो खेल खेल्ने कम्प्युटर चलाउन हतार गर्ने भन्दै ठट्टा गरेका छन्।
प्रकाशित: ३१ आश्विन २०८३ १५:४५ शनिबार



-600x400.jpg)

