१४ भाद्र २०८३ आइतबार
image/svg+xml
अन्य

सहकर्मीको चुरोटको ‘गन्ध सहन सक्दिनँ’ भन्दै जागिर छाडिन् !

कार्यालयमा सहकर्मीले पिउने चुरोटको धुवाँ सहन नसकेपछि एक कर्मचारीले जागिरबाट राजीनामा दिएकी छन्।

उनको राजीनामा इमेल सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कार्यस्थलमा धूम्रपान र निष्क्रिय धूम्रपानको विषयमा बहस सुरु भएको छ।

जान्हवी चावडाले सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेको राजीनामा इमेलको स्क्रिनसट भाइरल भएको हो। उनले गत बिहीबार पोस्ट गर्दै लेखेकी थिइन्, ‘हिजो मेरो जागिरबाट राजीनामा दिएँ।’

इमेलमा उनले कार्यालयमा फैलिने चुरोटको गन्धसँग मिलेर काम गर्ने प्रयास गरे पनि अन्ततः त्यस्तो वातावरणमा काम गर्न नसकेको बताएकी छन्। उनले लेखेकी छन्, ‘म चुरोटको गन्ध सहन सक्दिनँ। मैले सकेसम्म समायोजन गर्ने प्रयास गरेँ तर सकिनँ।’

उनले चुरोटको धुवाँको सम्पर्कले स्वास्थ्यमा असर गर्न सक्ने जानकारी पनि साझा गरेकी छन्। धुवाँका कारण नाक, घाँटी र श्वासनलीमा जलन हुनुका साथै केही मानिसमा छाती असहज हुने वा कसिलो महसुस हुन सक्ने बताइएको छ।

जान्हवीको निर्णयमा सामाजिक सञ्जाल प्रयोगकर्ताको प्रतिक्रिया भने मिश्रित छ। केहीले स्वास्थ्यलाई प्राथमिकता दिँदै जागिर छाड्ने उनको निर्णयको समर्थन गरेका छन् भने केहीले राजीनामा दिनुअघि व्यवस्थापनसँग समस्या राख्नुपर्ने बताएका छन्।

एक प्रयोगकर्ताले मानिसहरूले आफूलाई असहज बनाउने कुरालाई समेत बेवास्ता गर्ने गरेको बताएका छन्। अर्का प्रयोगकर्ताले जान्हवीको निर्णयको समर्थन गर्दै भनेका छन्, ‘तपाईंले आफ्नो जीवनका लागि सही निर्णय गर्नुभयो।’

अर्का प्रयोगकर्ताले कार्यस्थलमा धूम्रपान र मदिरा सेवनसम्बन्धी कडा नियम लागू गर्नुपर्ने बताएका छन्।

प्रकाशित: १४ भाद्र २०८३ १०:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App