उदयपुरगढी गाउँपालिकाको घ्याम्पाथुम्का सम्भावित तामा, फलाम र सुनखानी रहे पनि ओझेलमा परेको भन्दै विस्तृत अनुसन्धान गर्न स्थानीय एक युवतीले माग गरेकी छन्।
उदयपुरगढी-६ की सामाजिक कार्यकर्ता रमा मगरले लगभग चार दशकअघि नै तामाखानी पत्ता लागिसकेको उदयपुरगढी ४ र ५ नं सीमास्थित घ्याम्पेथुम्कामा बहुमूल्य खनिजको अनुसन्धान गर्न सरकारसँग माग गरेकी हुन्।
मगरले आइतबार खानी तथा भूगर्भ विभागलाई एक पत्र लेख्दै घ्याम्पेथुम्कामा २०४२ सालमै तामा, सुन र फलाम खानी रहेको सम्भाव्यता अध्ययन तत्कालीन भूगर्भ कार्यालयबाटै भएको स्थानीयले बताएको भन्दै त्यसपछि ओझेलमा परेको यो खानीको अनुसन्धान थालिहाल्न माग गरेकी छन्। केही दिनअघि स्थलगत भ्रमण गरेर फर्केकी मगरले सो क्षेत्रमा महत्त्वपूर्ण प्राकृतिक सम्पदाको सम्भावना देखाएकाले राज्यले यसबारे अनुसन्धान थालिहाल्नुपर्ने माग गरेकी हुन्।
उदयपुरगढी गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार तथा संघीय सरकारलाई बोधार्थ दिएर लेखिएको उनको पत्रमा २०४२ सालमै सो ठाउँमा भूगर्भ विभागले प्रारम्भिक अध्ययन गर्दा खनिज सम्भावना औंल्याएको स्थानीयले बताएको उल्लेख छ। समुद्री सतहदेखि एक हजार दुई सय मिटर उचाइमा रहेको सो डाँडामा बहुमूल्य खनिजहरू तामा, सुन र फलाम रहेको स्थानीयले बताएका छन्।
राकास पहरा नामक भीर रहेको त्यहाँ करिब सय वर्षअघि तामाको धावा निस्केको स्थानीयवासीले बताएका छन्। राकस पहराको फेदमा खनिएको ठुलो सुरुङ अहिले पनि रहेकाले स्थानीयको भनाइ थप विश्वसनीय हुन सक्ने मगरको भनाइ छ। आसपासमा रहेका घ्याम्पा आकारका ढुंगगा बजाउँदा बाजाजस्तो आवाज आउने, जंगलबिचको पहराका विभिन्न ठाउँमा प्वाल रहेको र त्यसबाट तातो र चिसो हावा निस्कने गरेको स्थानीयले बताए।
घ्याम्पो आकारको ढुंगा भएकैले घ्याम्पाथुम्का भन्ने गरिएको सो ठाउँमा सिद्धबाबा र महाकालीस्थान मन्दिरसमेत रहेकाले परापूर्वकालदेखि महत्त्वपूर्ण रहेको अनुमान स्थानीयको छ। घ्याम्पाथुम्काको पश्चिमतर्फ करिब पाँच सय मिटर तल रहेका भीरमा अडिएजस्तो देखिने दुई ढुंगालाई भाले–पोथी ढुंगा भन्ने गरिएको र लठीले हिर्काउँदा ढोल र ट्याम्कु बाजाजस्तो आवाज आउने गरेको छ।
उत्तरपश्चिमपटि तीन सय मिटर टाढा झाँक्री पहरा र विशाल अनौठो चट्टानले घेरिएको ढुंगैढुंगाको थुप्रो रहेको मगरले बताएकी छन्। स्थानीयका अनुसार करिब एक सय वर्ष पहिले त्यहाँ वनझाँक्री बस्ने गरेकाले त्यसको नाम झाँक्री पहरा रहन गएको हो। विभिन्न ठाउँबाट अवलोकन गर्न आउनेले त्यहाँको ढुंगा कुखुराको चारो र मल बन्ने बताउने गरेका छन्।
प्रत्यक्षदर्शी मगरका अनुसार घ्याम्पाथुम्काको उत्तर–पश्चिमतर्फ एक हजार मिटर टाढा रहेको राकस पहरामा तामाको धावा निकालेको सुरुङ रहेको छ। त्यहाँ करिब एक हजार दुई मिटरजति सुरुङ रहेको स्थानीय ७७ वर्षीय ज्येष्ठ नागरिक लालबहादुर सुनुवारले बताए। आफू तन्नेरी हुँदाताका आमाबुबाले त्यहाँबाट तामाको धावा निकालेको लालबहादुरले मगरलाई बताएका छन्। सो सुरुङ अहिले पनि कायम रहेको मगरले बताएकी छन्।
बिरलै मान्छे पुग्ने सो ठाउँमा रहेको राकस पहरानजिकै थुप्रै प्वाल र गुफा आकारका साना–ठुला प्वाल रहेका र त्यसमध्ये एउटा प्वालबाट तातो बाफ र अर्कोबाट चिसो हावा निस्कने गरेको स्थानीय बताउँछन्।
स्थानीय युवा ध्रव घलेमगरका अनुसार २०४२ सालतिर खनिज तथा भूगर्भसम्बन्धी प्रारम्भिक अध्ययन हुँदा सो क्षेत्रमा तामा, सुन र फलामजस्ता धातुजन्य पदार्थको अवशेष देखिएको थियो। त्यसपछि भने यसबारे विस्तृत र वैज्ञानिक अध्ययन नभएकाले यथार्थ अवस्था अझै अस्पष्ट रहेको गाउँले बताउँछन्।
गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले त्यहाँ तामाखानी रहेको स्थानीयबाट कुरा आएको बताउँदै गाउँपालिकाले यसबारे अध्ययन गर्ने बताए। घ्याम्पेडाँडामा तामाखानी भए नभएको कुरा छिटै अध्ययन गर्ने अध्यक्ष मगरले बताए।
प्रकाशित: १ वैशाख २०८३ ०९:५६ मंगलबार





-600x400-wm.jpg)