बेलायतका पल लुकास ३७ वर्षका हुँदा सन् २०२२ मा उनको लिंगको छालाले ढाकेको भागमुनि फूलगोभीजस्तो गाँठो पलायो। त्यसपछि कुहिएको माछाजस्तो दुर्गन्ध आउने तरल पदार्थ बग्न थाल्यो। उनलाई अत्यधिक पीडा हुनुका साथै पिसाबको धारामा पनि असामान्य परिवर्तन देखियो।
सुरुमा उनले फंगल संक्रमण भएको ठानेर अनलाइनबाट औषधि किने। तर, उनकी पत्नी निकीले चिकित्सकसँग जाँच गराउन जोड दिइन्। परीक्षणपछि उनलाई लिंगको क्यान्सर भएको पुष्टि भयो।
'क्यान्सर भन्ने शब्द सुनेर म निकै डराएको थिएँ। मलाई अब सबै सकियो जस्तो लागेको थियो,' अहिले ४० वर्षका लुकासले हाइप प्रेससँग भने।
उनलाई लिंगको क्यान्सरबारे खासै जानकारी थिएन। उपचारका क्रममा लिंगको केही भाग गुमाउनुपर्ने हुन सक्ने थाहा पाएपछि उनी झन् चिन्तित भए।
अक्टोबर २०२२ मा चिकित्सकले शल्यक्रियामार्फत उनको लिंग पूर्ण रूपमा हटाए। यस प्रक्रियालाई चिकित्सकीय भाषामा पेनक्टोमी भनिन्छ। त्यसपछि विभिन्न चरणका शल्यक्रियामार्फत नयाँ लिंग बनाउने प्रक्रिया सुरु भयो।
लुकासका अनुसार नयाँ लिंग बनाउने प्रक्रियाले उनलाई फेरि आफ्नो शरीरप्रति सहज महसुस गर्न र आत्मविश्वास फर्काउन मद्दत गरेको छ। 'अहिले म फेरि आफ्नो शरीरमा खुसी महसुस गर्छु र निकीका लागि आफू आकर्षक छु भन्ने लाग्छ,' उनले पत्नीबारे भने।
बेलायतको डड्लीका स्थानीय सरकारसम्बन्धी कार्यालयमा काम गर्ने लुकासले सुरुमा चिकित्सकले लिंगको टुप्पोमा रहेको गाँठो मात्र हटाउने ठानेका थिए। तर, शल्यक्रिया भएको करिब २४ घण्टापछि मात्र उनको सम्पूर्ण लिंग हटाइएको जानकारी दिइयो। त्यसअघि पिसाब निकाल्ने नली हटाउँदा नै लिंग नरहेको उनले शंका गरिसकेका थिए।
'मलाई असह्य पीडा र असहजता भइरहेको थियो। त्यसैले एक हिसाबले पीडाबाट छुटकारा पाइने भयो भन्ने लागेर राहत पनि महसुस गरेको थिएँ,' उनले भने।
अस्पतालबाट घर फर्किएको दोस्रो रात पत्नी निकीले घाउको पट्टी फेर्दा उनले शल्यक्रियापछि आफ्नो शरीरमा आएको परिवर्तन स्पष्ट देखे। 'मैले सिरानीमुनि मुख लुकाएँ र रोएँ,' उनले सम्झिए, 'मैले निकीलाई चाहेमा आफूलाई छाड्न सक्ने बताएँ। उनको पनि आफ्नै जीवन थियो। अब म लिंग नभएको पुरुष थिएँ र आफूलाई बेकार महसुस गरिरहेको थिएँ।'
तर, निकीले उनलाई छाडिनन्। उनले लुकासको शरीर सफा गर्न, घाउको पट्टी र पिसाब निकाल्ने नलीको हेरचाह गर्न तथा पटक पटक अस्पताल जाँदा साथ दिन थालिन्।
शल्यक्रियाले उनीहरूको वैवाहिक सम्बन्ध बिगारेन। तर, आफ्नो कारण पत्नीको यौनजीवन प्रभावित भएको ठानेर लुकास निकै तनावमा थिए। 'उनी यौनसम्पर्कविहीन सम्बन्धमा बाँचिरहेकी छन् भन्ने सोचेर मलाई धेरै दोषी महसुस हुन्थ्यो। अब कसरी अघि बढ्ने भन्ने बाटो नै देखेको थिइनँ,' उनले भने।
शल्यक्रियापछि लुकासको दैनिक जीवन पनि बदलियो। पिसाब निस्कने मार्गमा परिवर्तन गरिएकाले उनले बसेर पिसाब फेर्नुपर्ने भयो। पुरुषका सार्वजनिक शौचालय प्रयोग गर्न पनि उनलाई कठिन हुन थाल्यो।
'धेरै शौचालय फोहोर हुन्छन्, ट्वाइलेट पेपर हुँदैन, शौच गर्ने छुट्टाछुट्टै कोठा पनि पर्याप्त हुँदैनन् र ढोकाका चुकुलसमेत बिग्रिएका हुन्छन्,' उनले भने। नयाँ परिस्थितिलाई स्वीकार गर्न उनले मनोपरामर्श समेत लिए।
जुलाई २०२३ मा उनले क्यान्सरमुक्त भएको खबर पाए। शल्यक्रियापछि थप क्यान्सर उपचार आवश्यक नपर्ने जानकारी पनि दिइयो। आफूलाई 'दुर्भाग्यबिचको भाग्यमानी' ठान्ने लुकासले नयाँ लिंग बनाउने विकल्प रहेको थाहा पाए। तर, सुरुमा उनलाई यो सम्भव होला भन्ने विश्वास थिएन।
'नयाँ लिंग बनाउने कुरा मलाई परीको कथाजस्तो लाग्थ्यो। बेलायतको वेस्ट मिडल्यान्ड्समा बस्ने सामान्य मानिसको जीवनमा यस्तो हुन्छ भन्ने लागेको थिएन,' उनले भने।
चिकित्सकले प्रक्रिया बुझाउँदा उनलाई विज्ञानकथामा देखाइने प्रविधिजस्तो लागेको थियो। तर, शल्यक्रिया गर्नुअघि उनले करिब १०० पाउन्ड अर्थात् ४५ किलोग्राम तौल घटाउनुपर्ने भयो। त्यसपछि उनले सन् २०२५ को सुरुवातदेखि तौल घटाउन मेहनत गर्न थाले।
'१० वर्षपछि पछाडि फर्केर हेर्दा मैले प्रयास गरेको भए के हुन्थ्यो होला भनेर सोच्न नपरोस् भन्ने चाहन्थेँ,' उनले भने।
लुकासले नयाँ लिंग बनाउने जटिल शल्यक्रिया तीन चरणमा गर्ने निर्णय गरे। पहिलो चरणमा लिंग र पिसाब निस्कने मार्ग बनाइयो। दोस्रो चरणमा लिंगको टुप्पोको आकार बनाउने र तेस्रो चरणमा लिंगमा कडापन ल्याउन सहयोग गर्ने उपकरण जडान गर्ने योजना छ।
मार्च २०२६ मा लन्डनस्थित युनिभर्सिटी कलेज अस्पतालका चिकित्सकले पहिलो शल्यक्रिया गरे। यसमा बायाँ पाखुराको छाला र तन्तु प्रयोग गरेर नयाँ लिंग बनाइयो। पिसाब निस्कने मार्ग बनाउन पनि पाखुराकै तन्तु प्रयोग गरियो। लुकासले यसलाई 'एउटा नलीभित्र अर्को नली' बनाएजस्तो प्रक्रिया भनेर वर्णन गरेका छन्।
नौ घण्टाभन्दा बढी चलेको शल्यक्रियामा चिकित्सकले उनको पाखुराबाट स्नायु र धमनीसमेत लिएर जननांग क्षेत्रमा रहेका स्नायु तथा रक्तनलीसँग जोडे। लुकासले धेरै तौल घटाएकाले पेटमा रहेको अतिरिक्त छालाको पनि उपयोग गरियो। त्यस छालाले पाखुराबाट तन्तु निकालिएको भाग पुनः बनाइएको थियो। उनले ठट्टा गर्दै यसलाई 'पेट कस्ने शल्यक्रियाको थप फाइदा' भनेका छन्।
शल्यक्रियापछिको निको हुने प्रक्रिया भने लामो र चिन्ताजनक थियो। नयाँ बनाइएको लिंगमा रक्तसञ्चार राम्रो होस् भनेर सुरुका दुई हप्तासम्म त्यसलाई ४५ डिग्रीको कोणमा अड्याएर राख्नुपरेको थियो। नर्सहरूले पनि पटक पटक जाँच गर्थे। यस क्रममा साना संक्रमणजस्ता केही समस्या देखिए पनि ठुलो जटिलता आएन।
आफ्नो नयाँ शरीरलाई राम्ररी हेर्न र छाम्न पाउँदा लुकासले त्यसको आकारबारे अनौठो तुलना गरे। 'यो त सुँड भएको जनावरको नाकजस्तो देखिन्छ,' उनले हाँस्दै भने। 'छुँदा नरम र न्यानो लाग्छ।'
नयाँ लिंग बनाउने प्रक्रिया अझै पूरा भएको छैन। उनले अन्तिम शल्यक्रिया सन् २०२७ को वसन्त वा गर्मीयाममा हुने आशा गरेका छन्। अहिले नयाँ लिंगमा संवेदना बिस्तारै फर्किन थालेको छ। स्नायुहरू नयाँ तन्तुमा बढ्दै जाँदा कम्मरमुनिको भाग र नयाँ लिंगका विभिन्न ठाउँमा सानो विद्युतीय झट्काजस्तो अनुभूति हुने उनी बताउँछन्।
भविष्यमा यौनसम्बन्धी संवेदना पनि फर्किने उनको आशा छ। उल्लेखनीय कुरा के छ भने, लुकास र निकीले शल्यक्रियामार्फत बनाइएको नयाँ लिंग प्रयोग गरेर यौनसम्पर्कसमेत गरिसकेका छन्।
'अहिलेसम्म संवेदना पूर्ण रूपमा फर्किएको छैन। पूर्ण यौन संवेदना फर्किन केही वर्ष लाग्न सक्छ। तर, नयाँ लिंग प्रयोग गरेर पहिलोपटक यौनसम्पर्क गर्नु निकै भावनात्मक र अविस्मरणीय अनुभव थियो,' उनले भने।
यो अनुभवले लुकासले आफूलाई हेर्ने दृष्टिकोण पनि बदलिएको छ। उनलाई पहिले लिंग गुमाउनु भनेको पुरुषको पहिचान नै गुमाउनु हो भन्ने लाग्थ्यो। अहिले भने उनी त्यसलाई फरक रूपमा हेर्छन्।
'लिंग पूर्ण रूपमा हटाउनुपर्ने अवस्था पुरुषका लागि संसार नै समाप्त भएजस्तो लाग्न सक्छ। सुरुमा मलाई पनि त्यस्तै लागेको थियो,' उनले भने, 'तर, यो अनुभवले मलाई अरूको भावना बुझ्ने र उनीहरूप्रति संवेदनशील हुने बनाएको छ। साथै, म पत्नीको अझ नजिक भएको छु।'
यस्तो क्यान्सरको उपचार गराइरहेका पुरुषलाई लुकासले आत्मविश्वास नगुमाउन सन्देश दिएका छन्।
'म विगतको आफूलाई शंका नगर्न भन्थेँ। पुरुषको पहिचान शरीरका दुई खुट्टाबिचको अंगमा मात्र सीमित हुँदैन। पत्नीले तपाईंलाई तपाईं भएकै कारण माया गर्छिन्, सम्बन्ध यौनसम्पर्कमा मात्र निर्भर हुँदैन,' उनले भने, 'यो अनुभव निकै पीडादायी भए पनि मलाई लाग्छ, म पहिलेभन्दा राम्रो व्यक्ति बनेको छु र निकीसँगको मेरो सम्बन्ध अहिले पहिलेभन्दा राम्रो छ।'
प्रकाशित: १० कार्तिक २०८३ १५:११ मंगलबार





-600x400.jpg)