६ मंसिर २०८३ आइतबार
image/svg+xml
अन्य

विवाहको निम्तोसँगै सुनको औँठी उपहार दिने काव्या कति धनी छिन् ?

चर्चित भारतीय व्यवसायी काव्या मारनले आफ्नो विवाहको खुसी कम्पनीका कर्मचारीसँग पनि साटेकी छन्।

संगीतकार अनिरुद्ध रविचन्द्रसँग विवाह गरेपछि उनले सन ग्रुपका कर्मचारीलाई विवाहको निमन्त्रणासँगै सुनको औँठी उपहार दिएकी हुन्। उनको यो उपहार अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। यसबिच काव्या आफैँ कति धनी छिन् भन्ने विषयले पनि धेरैको ध्यान तानेको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा कर्मचारीहरूले उपहारको बाकस खोल्दै गरेको देखिन्छ। बाकसभित्र चकलेट, विवाहको निमन्त्रणा कार्ड र सुनको औँठी राखिएको छ। उपहार खोलेपछि कर्मचारीहरू आश्चर्यचकित भएका छन्। एक कर्मचारीले आफूहरूले सुनको सिक्का पाउने अपेक्षा गरे पनि बाकसभित्र सुनको औँठी भेटिएको बताए।

कर्मचारीलाई दिइएको निमन्त्रणा कार्डमा नोभेम्बर २५ मा विशेष दिवाभोज आयोजना हुने उल्लेख छ। दिउँसो १ बजेका लागि तय गरिएको उक्त कार्यक्रममा सन ग्रुपका कर्मचारीलाई निमन्त्रणा गरिएको छ। यद्यपि, कति कर्मचारीले सुनको औँठी पाए र त्यसको तौल तथा मूल्य कति हो भन्नेबारे आधिकारिक जानकारी सार्वजनिक भएको छैन।

काव्या मारनको व्यक्तिगत सम्पत्ति भारतीय सञ्चारमाध्यमका अनुसार पाँच अर्ब भारतीय रुपैयाँ रहेको अनुमान छ। यद्यपि, उनको वास्तविक व्यक्तिगत सम्पत्तिबारे आधिकारिक विवरण सार्वजनिक भएको छैन।

काव्या सन ग्रुपका अध्यक्ष तथा अर्बपति व्यवसायी कलानिधि मारनकी छोरी हुन्। उनी सन टिभी नेटवर्ककी कार्यकारी निर्देशक र इन्डियन प्रिमियर लिग (आइपिएल) टिम सनराइजर्स हैदराबादकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन्। उनी सनराइजर्स हैदराबादको सहमालिकसमेत हुन्।

फोर्ब्सको सन् २०२६ को विवरणअनुसार उनका बुबा कलानिधि मारनको सम्पत्ति करिब दुई अर्ब ५० करोड अमेरिकी डलर रहेको अनुमान छ। कलानिधिले सन् १९९३ मा सन टिभी नेटवर्क स्थापना गरेका थिए। उनको नेतृत्वमा यो कम्पनी भारतका ठुला क्षेत्रीय सञ्चारमाध्यममध्ये एक बनेको छ।

काव्या र अनिरुद्धको विवाह नोभेम्बर ११ मा ग्रीसमा भएको थियो। उनीहरूले परम्परागत हिन्दु विवाह विधिभन्दा फरक ‘सेल्फ रिस्पेक्ट म्यारिज’ अर्थात् आत्मसम्मानमा आधारित विवाह पद्धति अपनाएका थिए। यस पद्धतिमा पुरोहित वा परम्परागत धार्मिक विधि अनिवार्य हुँदैन। विवाहमा उनीहरूले एक अर्कालाई जीवनसाथीका रूपमा स्वीकार गर्दै माला र औँठी साटेका थिए।

विवाह समारोहमा दक्षिण भारतीय फिल्म क्षेत्रका चर्चित कलाकार र राजनीतिक व्यक्तित्व सहभागी भएका थिए। सुपरस्टार रजनीकान्त तथा तमिलनाडुका पूर्वमुख्यमन्त्री एमके स्टालिन पनि विवाह समारोहमा सहभागी भएका थिए।

विवाहपछि नोभेम्बर २१ मा चेन्नईमा काव्या र अनिरुद्धको भव्य रिसेप्सन आयोजना हुँदैछ। उक्त समारोहमा फिल्म, क्रिकेट, व्यवसाय र राजनीति क्षेत्रका चर्चित व्यक्तित्व सहभागी हुने अपेक्षा गरिएको छ। नवविवाहित जोडीलाई बधाई दिन बलिउड अभिनेता शाहरुख खान पनि सहभागी हुने चर्चा छ।

प्रकाशित: ५ मंसिर २०८३ १५:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App