अस्ट्रेलियाली वैज्ञानिकहरूले पश्चिमी अस्ट्रेलियाको गोल्डफिल्ड क्षेत्रमा शैतानको जस्तो देखिने सिङ भएको एक नयाँ स्थानीय मौरी प्रजाति पत्ता लगाएका छन्। अनुसन्धानकर्ताहरूले यो नयाँ प्रजातिलाई यसको विशिष्ट शारीरिक बनावटका कारण ‘मेगाचिल लुसिफर’ नाम दिएका छन्।
यस नयाँ मौरी प्रजातिको नामकरणको मुख्य कारण पोथी मौरीको अनुहारमा रहेका अत्यन्त विशिष्ट, प्रमुख सिङहरू हुन्। कर्टिन विश्वविद्यालयका वैज्ञानिक तथा अध्ययनकी प्रमुख डा किट प्रेन्डरगास्ट ले बताइन् कि उनले नयाँ प्रजातिको विवरण लेखिरहेको समयमा नेटफ्लिक्सको कार्यक्रम लुसिफर हेरिरहेकी थिइन्, जसबाट उनी नाम राख्न प्रेरित भइन्। उनले भनिन्, ‘पोथीको अनुहारमा यी अविश्वसनीय साना सिङहरू थिए’ नाम एकदमै मिल्दोजुल्दो थियो।
डा प्रेन्डरगास्टका अनुसार यी सिङहरू परागकण वा अमृत जम्मा गर्न वा गुँडको लागि राल जस्ता सामग्रीहरू जम्मा गर्न प्रतिरक्षा संयन्त्रको रूपमा प्रयोग हुन सक्ने अनुमान गरिएको छ। यो मौरी समूहमा विगत २० वर्षमा पत्ता लागेको यो पहिलो नयाँ सदस्य हो।
मेगाचिल लुसिफर पर्थबाट करिब ४७० किलोमिटर पूर्वमा रहेको पश्चिमी अस्ट्रेलियाको गोल्डफिल्ड्स क्षेत्रको ब्रेमर पर्वतमालामा मात्र उम्रने दुर्लभ जङ्गली फूल अवलोकन गर्ने क्रममा फेला परेको थियो।
जर्नल अफ हाइमेनोप्टेरा रिसर्चमा प्रकाशित प्रतिवेदनका अनुसार ‘लुसिफर’ को नामले ल्याटिनमा ‘प्रकाश ल्याउने’ भन्ने अर्थ राख्छ । जसको सन्दर्भमा यो अध्ययनले स्थानीय मौरी प्रजातिहरूको राम्रो संरक्षण र लोपोन्मुख बिरुवाहरूको परागसेचन कसरी हुन्छ भन्ने विषयमा थप अनुसन्धान आवश्यक रहेको बताएका छन्।एजेन्सी
प्रकाशित: २५ कार्तिक २०८२ ११:०६ मंगलबार





