७ कार्तिक २०८३ शनिबार
image/svg+xml
अन्य

परिवारले बिहे गर्न नदिएपछि टावर चढिन् युवती, तीन घण्टापछि फोनबाटै भयो विवाह

भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लामा प्रेमीसँग विवाह गर्न पाउनुपर्ने माग राख्दै एक युवती मोबाइल फोनको टावरमा चढेकी छन्। 

शुक्रबार बिहान टावरमा चढेकी १९ वर्षीया युवतीलाई तीन घण्टाभन्दा बढी समयपछि अनलाइन निकाह गराएर तल झारिएको हो। युवती मेहक र उनका प्रेमी नूरुद्दीन पाँच महिनादेखि प्रेम सम्बन्धमा थिए। तर, दुवैको परिवारले उनीहरूको विवाह गर्न सहमति दिएका थिएनन्।

नूरुद्दीन दुई महिनाअघि कामका लागि मुम्बई गएका थिए। शुक्रबार बिहान मेहकले विवाहको विषयमा आमासँग फेरि विवाद गरेकी थिइन्। त्यसपछि उनी घरबाट निस्किएर गाउँबाहिर रहेको मोबाइल टावरमा चढिन्। गाउँलेहरूले उनलाई तल झर्न आग्रह गरे पनि उनले प्रेमीसँग विवाह नगरेसम्म नझर्ने अडान लिइन्।

भारतीय सञ्चारमाध्यमका अनुसार घटनाबारे जानकारी पाएपछि दुवै परिवार, प्रहरी र गाउँले घटनास्थल पुगेका थिए। महिला प्रहरीसहितको टोलीले पनि युवतीलाई तल झर्न आग्रह गरेको थियो। तर, उनी आफ्नो माग पूरा नभएसम्म टावरबाट नओर्लिने अडानमा रहिन्।

अन्ततः गाउँलेहरूले दुवैको विवाह गराउने निर्णय गरे। त्यसपछि गाउँको मस्जिदका काजीलाई बोलाइयो। काजीले मुम्बईमा रहेका नूरुद्दीनसँग फोनमा कुरा गरे र विवाहका लागि उनको सहमति लिए। त्यसपछि टावरमा रहेकी मेहकसँग पनि फोनमार्फत कुरा गरेर निकाह स्वीकार गर्न लगाइयो।

दुवैले विवाह स्वीकार गरेको निश्चित भएपछि मेहक तल झर्न तयार भइन्। महिला प्रहरीको सहयोगमा उनलाई सुरक्षित रूपमा तल झारियो।

यद्यपि, मेहककी आमाले विवाहपछि पनि उक्त सम्बन्धप्रति असहमति जनाइन्। उनले ‘मलाई यो सम्बन्ध स्वीकार्य छैन। छोरी अझै त्यही केटासँग बस्न चाहन्छे भने घर छोड्न सक्छे’ भनेकी थिइन्। त्यसपछि प्रहरीले मेहक र उनका परिवारका सदस्यलाई प्रहरी चौकी लगेर परामर्श दिएको थियो। परामर्शपछि मेहकलाई आमासँगै घर पठाइएको प्रहरीले जनाएको छ।

प्रहरी चौकीका प्रमुख ब्रह्मानन्द गौरले यो प्रेम सम्बन्धसँग जोडिएको घटना भएको बताए। उनका अनुसार युवती प्रेमीसँग विवाह गर्न जिद्दी गर्दै टावर चढेकी थिइन्। निकाह सम्पन्न भएपछि उनलाई तल झारिएको हो। अहिलेका लागि उनलाई परिवारसँग घर पठाइएको छ। उजुरी आएमा थप कारबाही गरिनेछ।

प्रकाशित: ७ कार्तिक २०८३ १२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App