पिज्जामा भुइँकटहर राख्ने कि नराख्ने भन्ने विषयमा विश्वभर बहस हुने गर्छ।
तर, अस्ट्रेलियामा एक इटालियन सेफले पिज्जामा भुइँकटहर राख्न नमान्दा जागिर नै गुमाउनु परेको छ। उनले आफ्नो संस्कृतिको अपमान हुने भन्दै भुइँकटहर राख्न मानेका थिएनन्।
इटालियन सेफ डेभिड ताम्बुरेलालाई अस्ट्रेलियाको ब्रिस्बेनस्थित ला कोस्टा रेस्टुरेन्ट एन्ड बारले मे २० मा बर्खास्त गरेको थियो। रेस्टुरेन्टमा आयोजित एक कार्यक्रममा सहभागी पाहुनाका लागि ह्याम र भुइँकटहर राखिएको पिज्जा बनाउन व्यवस्थापनले निर्देशन दिएको थियो। तर, उनले उक्त निर्देशन मानेनन्। उक्त कार्यक्रममा ग्राहकले १५ हजार अस्ट्रेलियन डलरभन्दा बढी खर्च गरेका थिए।
अस्ट्रेलियाको फेयर वर्क कमिसनका अनुसार ताम्बुरेलाले चार वर्षको अवधिमा तीन पटकसम्म पिज्जामा भुइँकटहर राख्न अस्वीकार गरेका थिए। उनले इटालियनका रूपमा पिज्जामा भुइँकटहर राख्नु ‘आफ्नो संस्कृतिको अपमान’ भएको तर्क गरेका थिए। तर, व्यवस्थापनले उनको भुइँकटहर राख्न नमानेको विषयबाहेक सहकर्मीसँगको कुराकानी, भाषा र काम गर्ने व्यवहारबारे पनि गुनासो गरेको थियो।
बर्खास्त भएपछि ताम्बुरेलाले आफूलाई अन्यायपूर्ण रूपमा हटाइएको र कार्यस्थलमा लागेको चोटसँग पनि बर्खास्ती जोडिएको भन्दै फेयर वर्क कमिसनमा उजुरी दिएका थिए। काम गर्ने क्रममा धातुको रेलिङमा ठोक्किँदा उनको दाहिने हात दुई ठाउँमा भाँचिएको थियो।
तर, कमिसनले उनको उजुरी खारेज गर्यो। कमिसनर जेनिफर हन्टका अनुसार उनले कानुनले तोकेको २१ दिनको समयसीमा कटेपछि उजुरी दिएका थिए। समयसीमा थप्नुपर्ने असाधारण कारणसमेत देखाउन नसकेपछि उनको आवेदन खारेज भएको हो। यद्यपि, कमिसनले उनलाई बर्खास्त गर्नु कानुनसम्मत थियो वा थिएन भन्ने विषयमा निर्णय गरेन।
बर्खास्तीले ताम्बुरेलाको अस्ट्रेलियाको स्थायी बसोबास प्रक्रियामा समेत असर पारेको छ। उनी तीन वर्षभन्दा बढी समयदेखि रोजगारदाताको प्रायोजनमा स्थायी बसोबास पाउने प्रक्रियामा थिए। जागिर गुमेपछि उक्त प्रक्रिया प्रभावित भएको छ। अब उनले फेरि सुरुदेखि नै प्रक्रिया अघि बढाउनुपर्नेछ।
यसबिच, ताम्बुरेलाले ब्रिस्बेनकै अर्को इटालियन रेस्टुरेन्ट डोन गिनोमा मुख्य सेफको काम पाएका छन्। उनको नयाँ कार्यस्थलको पिज्जा मेनुमा भने भुइँकटहर छैन। यसअघि उनी कार्यरत ला कोस्टा रेस्टुरेन्ट पनि भाडा सम्झौता सकिएपछि जुलाईमा बन्द भइसकेको छ।
प्रकाशित: २० कार्तिक २०८३ १३:२७ शुक्रबार





