भारतको उत्तर प्रदेशस्थित सीतापुरमा दुई बच्चाकी एक आमाले श्रीमान् र प्रेमी दुवैसँग एउटै घरमा बस्ने चाहना राखेकी छन्।
उनले दुवै पुरुषको जिम्मेवारी र समयसमेत बाँडफाँट गरेर प्रहरीलाई ड्युटी चार्ट बुझाएपछि घटना चर्चामा आएको छ।
महमुदाबाद क्षेत्रको फुलवारीपुरकी ती विवाहित महिलाले गत मार्च २१ मा प्रेमीसँग मन्दिरमा विवाह गरेको दाबी गरेकी छन्। उनी अब श्रीमान्, प्रेमी र दुई बच्चासहित एउटै घरमा बस्न चाहन्छिन्। उनले प्रहरीलाई बुझाएको ड्युटी चार्टअनुसार प्रेमी दिनभरि उनी र बच्चाहरूसँग रहनेछन् भने श्रीमान् राति उनीसँग बस्नेछन्।
अचम्मको कुरा त के छ भने उनका श्रीमान् पनि यो कुरामा सहमत रहेको बताइएको छ। उनले श्रीमती र प्रेमी दुवैलाई नछोड्ने बताएका छन्। आवश्यक परे घर छोड्नसमेत तयार रहेको उनको भनाइ छ।
दैनिक जागरणका अनुसार प्रेमी यसअघि पनि श्रीमानको घरमा आउने र बस्ने गर्थे। श्रीमानले उनलाई आफ्नो भाइ भनेर चिनाउने गरेका थिए। पछि उनीहरूबिचको निकटता प्रेममा परिणत भएको र दुवैले मन्दिरमा विवाह गरेको बताइएको छ।
तर, महिलाका सासू-ससुरा र परिवारका अन्य सदस्यले भने यो सम्बन्धको विरोध गरेका छन्। घरमा विवाद बढेपछि महिला श्रीमान्, प्रेमी र दुई बच्चासहित प्रहरी चौकी पुगेकी थिइन्। प्रहरीले तीनै जनासँग छलफल गरेर समस्या समाधान गर्ने प्रयास गरे पनि महिला दुवै पुरुषसँगै बस्ने अडानमा रहेकी छन्।
उनले प्रहरीलाई आफ्नो ड्युटी चार्टअनुसार व्यवस्था मिलाइदिन आग्रह गरेकी छन्। श्रीमान् र प्रेमी दुवैलाई ‘म्यानेज’ गर्ने उनको यो अनौठो तरिकाले अहिले स्थानीय क्षेत्रमा चर्चा पाएको छ।
प्रकाशित: ५ मंसिर २०८३ १७:२८ शनिबार





