उनी रामेछापको गाउँसारामा जन्मे/हुर्के। जवान भएपछि सेनामा भर्ती भए। भाग्यले उनलाई धुन्चे ब्यारेक पुर्याहयो। पाँच वर्षपछि सैनिक मोह भंग भयो। जागिर छाडिदिए। धुन्चेमै काम गर्न थाले, होटलको भान्छे बनेर।
धुन्चेमा सात वर्ष काम गरेपछि लाङटाङ पदमार्गमा उकालिए। क्याङ्जिन जाने बाटोको लामा होटलमा काम गर्न थाले। त्यहीँ बस्दा बस्दै सुर्का गाउँकी ऋतु तामाङसँग पिरती बस्यो। परिणामः अन्तरजातीय विवाह भयो।
बिहेपछि उनीहरूले शेर्पा गाउँमा घर बनाए। तामाङ सम्पदा मार्गमा पर्छ, शेर्पा गाउँ। कति अरूकोमा काम गर्ने भनेर ०५९ मा क्याङ्जिनस्थित भाडाको घरमा 'याक होटल' चलाए। बूढाबूढी मेहनती, कमाइ राम्रै भयो। जीवन चलिरह्यो।
एक दिन (०६४ वैशाख) गन्जोला पास गर्न गएका फ्रेन्च केटा हत्तारिँदै होटल आए। उनीहरूले हाई क्याम्पमा क्यानेडियन महिला लडेको बताए। 'टीकाबहादुर तपाईं गएर ती महिलाको उद्धार गर्नुपर्योी,' आफ्नो होटलमा बास बसेर गएका पर्यटकको आग्रह टार्न सकेनन्, उनले।
आपद्मा परेकाको सहयोग गर्नु त मानवीय धर्म नै हो। दुई सहयोगी लिएर उनी त्यता लागे। राति १० बज्यो ती महिलालाई बोकेर याक होटल ल्याइपुर्याहउँदा। एक्लै पदयात्रामा गएकी महिला दुर्घटनामा परिछन्। राति तातोपानीमा डुबाएर घुँडा सेकाइदिए, टीकाबहादुरले।
भोलिपल्ट तिनले त्यहीँ रेस्ट गरिन्। अर्को बिहान घोडामा राखेर उनलाई लामा होटल झारियो। त्यहाँबाट डोकोमा बोकेर स्याफ्रुबेसी। स्याफ्रुबाट मोटरमा काठमाडौं। न उनले ती क्यानेडियनको नाम सोधे न फोन नम्बर।
भोलिपल्ट गाउँ फर्के उनी। सामान्य जुत्ता लाएर पर्यटक उद्धारमा निस्केका टीकाबहादुरलाई चिसोले समात्यो। बिरामी परे। झाँक्री देखाए, भएन। काठमाडौं धाए, भएन। छ महिना अस्पताल बस्नुपर्यो । दुःखको कुरा ०६५ मंसिर ३ गते खुट्टा काट्नुपर्योन। देब्रे घुँडाभन्दा मास्तिर काटियो।
'विदेशीको ज्यान बच्यो,' ४५ वर्षे टीकाबहादुरले भने, 'मेरो खुट्टा गुम्यो।'
खुट्टा गुमेपछि होटल चलाउन सकेनन्। 'एकचोटि गन्जोला पास गरेरै छाड्छु' भन्ने ती क्यानेडियनसम्म उनको दुःखको खबर पुगेन सायद। पुगेको भए भेट्न आउँथिन् होला!
त्यति बेला तामाङ सम्पदा मार्गमा चहलपहल बढ्दै थियो। उनी शेर्पा गाउँ फर्केर घरमा गेस्ट हाउस खोले। उनको सुपर भ्यु गेस्ट हाउसमा पाँच कोठा र डाइनिङ हल छ।
नक्कली खुट्टा हालेका छन्। बैसाखी टेक्छन्। खाना पकाउँछन्। सबलांगझैं काम गर्छन्।
'खाना निकै मिठो बनाउँछन्, टीकाबहादुर,' काठमाडौंका पर्यटनकर्मी राजकुमार थापा तारिफ गर्छन्, 'दाइको मेहनत देख्दा प्रेरणा मिल्छ।'
उनका दुई छोरा र एक छोरी काठमाडौंमा पढ्दै छन्। खुट्टा गुमे पनि हरेश नखाई जीवनमा अघि बढे। भर्खरभर्खर पदमार्गमा चहलपहल हुन थालेको थियो। वैशाख १२ गते फेरि बज्रपात भयो। भुइँचालोले लाङटाङ पदमार्गलाई समस्यामा पार्यो।।
'सय–दुई सय जम्मा गरेर बनाएको घर भुइँचालोले एकैछाक पार्योग,' उनको गेस्ट हाउस बस्नै नहुने भयो। अहिले आम्दानी छैन। खर्चमात्रै। कति दिन यसरी चल्ला! तर, उनी आशावादी छन्, 'बर्खापछि त पर्यटक आउलान् नि!'
शेर्पा गाउँबाट मास्तिर लागे लामा होटल हुँदै क्याङ्जिन पुगिन्छ। तल झरे स्याफ्रुबेसी। भुइँचालोले लामा होटलभन्दा माथि बढी समस्या पारेको छ। तामाङ सम्पदा मार्गको पदयात्रा स्याफ्रुबेसीबाट गटलाङ, तातोपानी, थुमन, टिमुरे, बृदिम, शेर्पा गाउँ हुँदै स्याफ्रु पुगेर टुंगिन्छ।
'पर्यटक बस्नलायक टहरा बनाउँछौं,' ऋतुको उपचार गराउन काठमाडौं आएका बेला गत बुधबार टीकाबहादुरले भने, 'बर्खापछि तामाङ सम्पदा मार्गमा पर्यटक घुमाउन सकिन्छ।'
प्रकाशित: १८ असार २०७२ २०:४९ शुक्रबार





