४ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्य

हिप्पी सम्झँदै

काठमाडौं दरबार क्षेत्रको दक्षिण (नौतले दरबार अघिल्तिर) गल्लीबाट सुरु हुन्छ झोछेँ बजार। नेपाल भाषामा झो भनेको लहरै र छेँ भनेको घर। सडक दायाँबायाँ लहरै घर। पर्यटक केन्द्रित ती घरमा होटल, लज, रेस्टुरेन्ट, क्युरियो पसल आदि छन्।तिनका साइनबोर्डमा भने एउटै समानता भेटिन्छ, हरेकमा ‘फ्रिक स्ट्रिट' लेखिएका छन्। तर, अचेल फ्रिक (हिप्पी) हरू बिरलै भेटिन्छन्।
एक समय झोछेँ हिप्पीहरूको केन्द्र थियो। सन् १९६० देखि सन् १९७० को दशकसम्म झोछेँमा उनीहरूको बाक्लो जमघट हुन्थ्यो। लट्टा परेका लामा कपाल, बेलिबटन पाइन्ट, रङबिरङका कपडा लगाएका तन्नेरी। रक म्युजिक सुन्थे। गाँजा/चरेस तानेर दिन कटाउँथे। कसैको मतलब नभएका बेमतलबी आफ्नै संसारमा हराउँथे।
समय यस्तो आयो, तोरी तेलका लागि प्रख्यात झोछेँ हिप्पीकै कारण ‘फ्रिक स्ट्रिट' कहलियो। रेस्टुरेन्ट र पसलमा गाँजा–चरेस खुलेआम बिक्री गरिन्थ्यो। अचेल क्युरियो सामान बेच्न गोराको पछि व्यापारी लागेझैं गाँजा बेच्नेहरू लाग्थे। पुराना व्यवसायी मोहनकृष्ण मुलेपति सम्झन्छन्, ‘शोकेसमा चकलेट सजाएर राखेझैं गाँजा–चरेस राखिन्थ्यो। कतिले साइनबोर्डमै ‘ह्यासिस पाइन्छ' भनेर विज्ञापन गर्थे।'
त्यति बेला नेपालमा गाँजा/चरेस प्रतिबन्ध थिएन। त्यसैले हिप्पीहरू चिलिम र चुरोटमा भरेर बुङबुङती धुवाँ उडाउँथे। झोछेँको गल्लीमात्रै होइन दरबार क्षेत्रै गाँजाको धुवाँमा रङमङिन्थ्यो। मुस्लै छुट्थ्यो। गल्ली, मन्दिर र पाटीमा लठ्ठ पर्थे। उनीहरू लज/रेस्टुँरा र मन्दिरका भित्तामा गाँजाका पात, अर्धनग्न युवती, चिलिम, मण्डला, शिव, पार्वती, रक समूहका लोगो, परेवा, योगी आदिका चित्र कोर्थे।
ज्यादै स्वच्छन्द थिए। डार्कसाइड अफ दि मुन, विस यु वेयर हियर, अनोदर ब्रिक इन द वाललगायत गीत सुन्थे। मुलेपति भन्छन्, ‘ती गीतका क्यासेट र रेकर्ड प्लेयर उनीहरू नै लिएर आउँथे। बजाउँथे।'
शान्तिको खोजीमा निस्केका तन्नेरी हुन्, हिप्पी। पत्रकार शेखर खरेलको पुस्तक ‘मैले नदेखेका हिप्पी'मा उनीहरूलाई युद्धविरोधी युवा भनिएको छ। पुस्तकका अनुसार तिनले भियतनाममाथि अमेरिकी युद्धको विरोध गरे। र, सेनामा भर्ती हुनुपर्ने उर्दी लत्याउँदै लामो यात्रामा निस्के। बिन्दास फकिर बनेर।
उनीहरू शान्ति र भातृत्वको गीत गाउँदै हिँडे। त्यो जमातमा अमेरिकीमात्रै होइन, बेलायती, फ्रेन्च र जर्मनलगायत युवा पनि थिए। कतिपय आफैं गाडी चलाएर आए भने कति हवाईजहाजमा। उनीहरू काठमाडौंमै बस्थे। बौद्धनाथ, स्वयम्भू, काठमाडौं, पाटन र भक्तपुर दरबार क्षेत्र घुम्थे। टाढाटाढा जाँदैनथे। 
मन शान्तिको खोजीमा निक्लेका युवाले लागुऔषधमा आनन्द भेटे। चरेस व्यापारीले राम्रै कमाए। तर, क्षणिक आनन्दमा डुब्दा कतिले जीवनै गुमाउनुपर्योभ। स्वास्थ्य बिग्रियो। स्नो म्यान केक पाई शप सञ्चालक रामप्रसाद मानन्धर भन्छन्, ‘नशामा डुबेर कति हिप्पी मरेको समेत देख्नुपर्योई।'
सत्तरीको दशक सुरुमै दही व्यापारमा लागेका मुलेपतिसँग हिप्पीका धेरै सम्झना छन्। ती अँध्यारो कोठामा मोटो मैनबत्ती जलाएर बस्थे। ‘मैनबत्ती पग्लेको दृश्य देखेर रोमान्चित बन्थे,' उनले सुनाए, ‘पग्लेको मैनलाई झरनासँग तुलना गर्थे। एकोहोरिन्थे।'
उनको अनुभवमा हिप्पी शान्त थिए। मदिरा तान्नेहरू मोतपछि हिंस्रक बन्छन् तर गाँजा तान्नेहरू शान्त बन्छन्। झैझगडा गर्दैनन्। उनी सलाई कोरेर चिलिम सल्काइदिन्थे। ‘फोक्सै निचोरेर हिप्पीहरू स्वाट्ट तान्थे,' उनी हाँसे, ‘झुम्म भएपछि भित्तामा बाघका चित्र देख्दासमेत झम्टेला कि भनेर तर्सन्थे।'
उनीहरू खर्च गर्न डराउँदैनथे। त्यति बेला झोछेँमा ओरेन्टल, जिसी, मनुमेन्ट, सेन्चुरी, अन्नपूर्ण, सायमी, लन्च बक्स, सुगत आदि होटल/लज थिए। त्यस्तै यिङयाङ, हंग्रीआई, डन्ट पास मि बाईलगायत रेस्टुँरा। तीमध्ये कति बन्द भइसके। केही अस्तित्वमा छन्। नयाँनयाँ होटल र रेस्टुराँ खुलेका छन्।
दुई–चार दिनमात्रै होइन, महिनौं यतै बस्थे हिप्पीहरू। कोही त वर्षदिनसम्मै बस्थे। उनीहरू दरबार स्क्वायरमा गाडी पार्क गर्थे। फर्कने बेला धेरैजसो आफूले ल्याएका ल्यान्डरोभर, डेम्लर बेन्ज, भक्सवागन, मर्सिडिज गाडी बेच्थे। कतिपय मिनीबस भक्तपुर रुटमा अझै चल्दै छन्। सन् १९७२ देखि सेन्चुरी लज चलाउँदै आएका सुमनलाल श्रेष्ठका अनुसार हिप्पीले सेकेन्ड ह्यान्ड सामान बेच्ने बेला वसन्तपुरमा मेलै लाग्थ्यो। उनीहरू गिटार, क्यासेट प्लेयर पनि बेच्थे।
झोछेँमा सुरुका दिनमा आपराधिक घटना भएनन्। असीको दशकमा ब्राउनसुगर, हिरोइन आदि भित्रिएपछि चोरी र ठग्ने प्रवृत्ति सुरु भएको श्रेष्ठ बताउँछन्। अचेल कहिलेकाहीँ हिप्पीझैं लाग्ने युवा झोछेँे आइपुग्छन्। 
आधुनिकीकरण भित्र्याउन हिप्पीको ठूलो योगदान छ। उनीहरूले केकलगायत कपितय परिकार बनाउन सिकाए। झोछेँभन्दा पहिला मरुहिटी थियो हिप्पीको जक्सन। पुराना क्युरियो व्यापारी एवं नेपाल प्रहरीका पूर्व डिएसपी पञ्चकुमार क्षेत्रीका अनुसार लज खुल्नुअघि हिप्पी विष्णुमती नजिक गल्लीमा सुत्थे। सुँगुर गन्हाउने ठाउँमा। 
मरुहिटीमा क्याम्प, यती, गार्डेन इन नामका होटल थिए। त्यहाँ चाय एन्ड पाई शप पनि थियो। हिप्पी गाँजा तानेर झोछेँतिर बरालिन्थे। पछि झोछेँमै लज खुले। रेस्टुँरा खुले। राति दुई बजेसम्म जाग्थ्यो झोछेँ। मध्यरातसम्म रेस्टुँरा खुल्थे। हिप्पीको संगतमा लागेर केही नेपाली युवा पनि गँजडी बने।
पछि सन् १९७० मा कर्ण शाक्यको परिवारले ठमेलमा काठमाडौं गेस्ट हाउस खोल्यो। बिस्तारै त्यता होटल/लज र पर्यटन सम्बद्ध पसल खुल्न थाले। विदेशी त्यतै लोभिए। आफ्ना युवा हिप्पी भएर बिग्रेकामा अमेरिका चिन्तित भयो। उसको आग्रहमा पछि गाँजा/चरेस सेवन र बिक्रीमा नेपालले प्रतिबन्ध लगायो। हिप्पी युग सकियो। 
आज दरबार क्षेत्र घुम्नेहरू झोछेँका गल्ली छिचोल्छन्। त्यहाँ कमैले रात बिताउँछन्। उहिलेका हिप्पी परिवारसहित पुरानो ठाउँ खोज्दै आउँछन्। उनीहरूको स्तर बढिसकेको छ। धेरैजसो तारे होटलमा बस्छन्।
नेपालमा पर्यटक चहलपहल गराउने श्रेय हिप्पीलाई जान्छ। उनीहरू स्वदेश फर्केपछि नेपालको मार्केटिङ गरिदिए। हिजोका हिप्पी आज पाका भइसके। नोस्टाल्जिक बन्दै ती परिवारसहित नेपाल घुम्न आउँछन्। पर्यटनविज्ञ ज्ञानेश्वर महतो भन्छन्, ‘हिजो पनि र आज पनि नेपालको मार्केटिङ गरिरहेका हिप्पी हाम्रा पर्यटन सद्भावना दूत हुन्।'
बद्लियो समय। टिनएजरको खानपिन गर्ने थलो बनेको छ झोछेँ। केक शप चलाउँदै आएका मानन्धरका ७५ प्रतिशत ग्राहक नेपाली। बाँकी विदेशी। मुस्किल छ लज चलाउनेलाई। भाडामा बसेकाहरू मर्कामा छन्। तैपनि व्यवसायी निराश छैनन्। दरबार क्षेत्र पर्यटन प्रवर्द्धन समितिका सल्लाहकार समेत रहेका सेन्चुरी लजका श्रेष्ठ भन्छन्, ‘ठमेल क्राउडेड भइसक्यो। झोछेँमा राम्रा होटल/रेस्टुँरा खुलिसके। त्यसैले झोछेँेका दिन फर्कनेमा आशावादी छौं।'
लुकिछिपी गाँजा व्यापार रोकिएको छैन। तर, गाँजाको मुस्लो भेटिँदैन। हिप्पी पनि छैनन्। हिप्पीले न्वारन गरिदिएको नाम ‘फ्रिक स्ट्रिट' एकादेशको कथा बनिसक्यो। मुलेपतिले भनेझैं– ती दिन सम्झँदा पनि सपनाजस्तो लाग्छ।

सडकमै नाच्थे 
रामप्रसाद मानन्धर 
सञ्चालक, स्नो म्यान केकसप 
हिप्पीहरू सडकमै बसेर गाँजा तान्थे। गितार बजाउँदै गाउँथे। सडकमै नाच्थे। राति दुई बजेसम्म रमाइलो गर्थे। अचेल राति १० नबज्दै झोछेँ बन्द हुन्छ। न अबेरसम्म पसल खोल्न पाइन्छ न पर्यटक नै छन्। उनीहरू मन खोलेर खर्च गर्थे। मस्ती गर्दागर्दै कति त पैसा सकिएर मगन्ते बने। कति त नशामा डुबेर यतै बिते। 
अन्यायमा पर्यौं 
सुमनलाल श्रेष्ठ 
सञ्चालक, सेन्चुरी लज 
काठमाडौं दरबार क्षेत्र प्रवेश गर्ने ठाउँ दमकलछेउमा काठमाडौं महानगरपालिकाको टिकट काउन्टर छ। विदेशीले ७५० रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्छ। त्यसले गर्दा झोछेँका होटल/रेस्टुरेन्टमात्र जान्छु भन्नेहरूलाई मर्का परेको छ। त्यो काउन्टर नौतले दरबार मुन्तिर राखिदिए झोछेँ आउनेले टिकट काट्नुपर्दैन। त्यसका लागि संघर्ष गरेको वर्षौं भयो तर, महानगरपालिकाले सुनेन। हामीमाथि अन्याय भयो। 

पर्यटन गुरु
पञ्चकुमार क्षेत्री
सञ्चालक, क्युरियो पसल 
गाँजा र चरेस खाएर विदेशीले क्षणिक आनन्द लिए। त्यही लागुऔषधले नेपालमा पर्यटक भित्र्यायो। हिप्पीहरू नशामा झुम्ममात्रै भएनन्, तिनले नेपाललाई विदेशमा चिनाउन पनि योगदान गरे। नेपालभित्र पनि कतिपय खाना केक, लस्सी आदि बनाउन सिकाए। सभ्यता सिकाए। तिनीहरू आएकैले लज/रेस्टुँरा र अरू पसल खुले। त्यसैले हिप्पी पर्यटन गुरु पनि हुन्। 

ड्रममा लस्सी 
मोहनकृष्ण मुलेपति 
सञ्चालक, हिमालयन गेस्ट हाउस 
हामीले त्यति बेला हिमालयन कोल्ड डिं्रंक्स चलाएका थियौं। लस्सी, मिल्क सेक, फ्रुट सलाद बेच्थ्यौं। चरेसको नशामा लठ्ठिएका हिप्पीलाई घाँटी सुक्थ्यो। प्यास लाग्थ्यो। उनीहरू लस्सी खान हाम्रोमा आउँथे। लस्सीको माग यति धेरै हुन्थ्यो कि हामी टिनको ठूलो ड्रममा लस्सी बनाउँथ्यौं। जगले उभाउँदै गिलासमा भरेर बेच्थ्यौं। पैसा राख्न कन्तुर स्यानो भएकाले हामी टिनमै राख्थ्यौं।

प्रकाशित: ६ असार २०७१ २३:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App