‘तल (धरान) तिर असाध्यै गर्मी छ, त्यसैले गर्मी छल्न भेडेटार आइरहन्छौं,' धरान– १५ का उनले भने, ‘कतैबाट पाहुना, साथीभाइ आउँदा पनि यताको चिसो हावा नखुवाई फर्काउँदैनौं।'
धरानेमात्रै होइन, इटहरी, विराटनगर, इनरुवातिरबाट पनि पाहुना एवं साथीभाइ घुमाउन, प्रेमजोडी रमाउन सबैको पहिलो गन्तव्य हो भेडेटार। पूर्वको भ्रमणमा आउने आन्तरिक एवं बाह्य पर्यटकका लागि पनि छुटाउनै नमिल्ने गन्तव्य बन्दै छ।
यातायातको सहज पहुँचले पनि सबैलाई भेडेटारले लोभ्याएको छ। आखिर किन मानिस भेडेटारबाट यति धेरै मोहित छन् त?
‘यहाँ बाह्रैमास चिसो हुन्छ, यहाँको मौसम प्रकृतिक एसीभन्दा कम छैन,' होटल एसोसिएसन अफ भेडेटारका सचिव एवं होटल भेडेटार भ्युका सञ्चालक जितेन्द्र रुम्दाली भन्छन्, ‘खाने–बस्ने राम्रो सुविधा भएका होटल पनि छन्। मनोरम प्राकृतिक दृश्य, हिमाल पडाड र तराईलाई यहाँबाट नियाल्न सकिन्छ।'
भेडेटार (१,४२० मिटर) धनकुटाको भेडेटार गाविसमा पर्छ। यो धनकुटाको प्रवेशद्वार। धरानबाट नागबेली सडक हुँदै उकालो चढ्दादेखि नै प्राकृतिक सौन्दर्यले शीतलता प्रदान गर्छ, चिसो हुन थाल्छ। भेडटारछेउ पुगेपछि उभिएर यसो तल नियाल्दा हरियाली डाँडाबीच नागबेली कोसी राजमार्गको सुन्दर दृश्यले मन त्यसै पुलकित बन्छ।
भेडेटार पुगिसकेपछि त्यहाँको मौसममा कफीमात्रै पिएर समय कटाउन मनले मान्दैन। त्यति बेला तोम्बा, जाँडको निगार वा कोदोबाट बनेको लोकल रक्सीको स्वादले मन बुझाउन सकिन्छ। मन पर्ने खानेकुरा अर्डरबमोजिम उपलब्ध हुन्छ। भेडेटार आसपास उत्पादन भएको ताजा फलफूल र तरकारी कोसेली ल्याउन सकिन्छ। धनकुटामा मात्रै उत्पादन हुने नरिवल बिस्कुट राम्रो कोसेली हुन्छ।
भेडेटारमा बढी आन्तरिक पर्यटक आउँछन्। ४० प्रतिशतजति भारतीय हुन्छन्। बढी त बिहार र पश्चिम बंगालका। विगतमा धरानसम्म मात्रै शैक्षिक भ्रमणमा आउनेहरू अचेल भेडेटार पुग्न थालेका छन्।
पुस र माघमा मात्र चहलपहल कम हुन्छ। अरू बेला घुइँचो लाग्छ। पूर्वका ट्राभल एजेन्सी एवं टुर अपरेटरले प्याकेज बेच्न नसक्दा तेस्रो मुलुकका पर्यटक आगमन कम छ।
३ वर्षयता भेडेटारको होटल व्यावसायमा ठूलो लगानी भएको छ। स्तरीय होटल तथा लज खुलेका छन्। ३५ वटा राम्रा होटल छन्। ५० भन्दा बढी साना खाजाघर।
अचेल एनजिओ तथा आइएनजिओका सेमिनार र तालिम पनि भेडेटार केन्द्रित हुन थालेको छ। हरदम चिसो मौसम हुनु, तराई र पहाड दुवै क्षेत्रका लागि केन्द्र पनि भएकाले धरान, इटहरी, विराटनगर, इनरुवातिर केन्द्रित गोष्ठी यता सरेको हो। यहाँ ५ सय देखि ३ हजारसम्मका कोठा पाइन्छ। सादा खाना सरदर सय रुपैयाँ र मासुसहित ३ सय ५० रुपैयाँ पर्छ। पानीको भने अलिक दुःख छ।
होटल बढ्दै जाँदा प्राकृतिक सौन्दर्यमा असर पुग्ने हो कि भन्ने चिन्ता पनि छ। पहिला बजारमा मात्रै घर एवं होटल थिए। खाली डाँडातिर पिकनिक खानेको घुइँचो लाग्थ्यो। ती डाँडामा निजी घर तथा ठूला होटल बनेकाले ‘पिकनिक स्पट' मासियो। घुम्न आउनेको संख्या बढे पनि पिकनिकेको समूह देखिन छाडेको छ। त्यसैले होटल एसोसिएसन अफ भेडेटारले वरपरका सामुदायिक वन क्षेत्रमा पिकनिक स्पट बनाउन पहल थालिसकेको छ।
पर्यटकको बसाइ लम्ब्याउन व्यवसायीले घोडचढी व्यवस्था गर्ने, भेडेटारबाटै साइक्लिङ, प्याराग्लाइडिङ र नमस्ते झरनामा क्यानोनिङ गराउन पहल गरेका छन्। स्थानीयस्तरबाट प्रशस्तै प्रयास भइरहे पनि राज्यबाट भेडेटार र आसपास पर्यटन विकासमा ध्यान नदिएको गुनासो भेडेटार गाविसका पूर्व उपाध्यक्ष एवं नाम्जे पर्यटन पूर्वाधार विकास समितिका उपाध्यक्ष जगत राई बताउँछन्। ‘हामीले सकेसम्म पूर्वाधार निर्माण र पर्यटन प्रवर्द्धनको प्रयास गरिरहेकै छौं, यसमा राज्यको पनि उत्तिकै साथ चाहिन्छ,' उनले भने।
भेडेटार नजिक कोलडाँडाबाट प्याराग्लाइडिङ उडान परीक्षण भइरहे पनि व्यावसायिक उडानको स्वीकृति मिलेको छैन। धरानका युवा बेलाबेला भेडेटार, नाम्जे हुँदै डाँडाबजारतिर साइक्लिङमा जान्छन् । नमस्ते झरनामा कोर एडभेन्चर नेपालले क्यानोनिङ प्याकेज सुरु गरिसकेको छ।
ग्रेटर भेडेटार
बजारमा मात्रै मन अडिन नमाने भेडेटार सेरोफेरोमा घुम्न धेरै ठाउँ छन्। एक रात बजार र अर्को रात गाउँमा बिताउन सकिन्छ।
शैलुङ डाँडा
भेडेटार बजारदेखि पश्चिमपट्टिको थुम्का शैलुङ डाँडा हो। यो डाँडा चार्ल्स प्वाइन्टको नामले परिचित छ। ०३८ सालमा बेलायतका युवराज चार्ल्स यहाँ चढेका थिए। जहाँ ०५५ सालमा सरकार, जिविस र गाविसको लगानीमा ४ तले भ्यु टावर निर्माण बनेको छ। यहाँबाट दक्षिणतिर धरान, इटहरी, विराटनगरलगायत तराईको समथर भूभाग र कोसी ब्यारेजको सुन्दर दृश्य हेर्न सकिन्छ। साथै सगरमाथा, मकालु, कञ्चनजंघा, कुम्भकर्णलगायत हिमशृंखला दृश्यावलोकन गर्न सकिन्छ।
सिम्सुवा झरना
भेडेटारबाट करिब ९ किलोमिटर तल गएपछि सिम्सुवा (नमस्ते) झरना पुगिन्छ। करिब ५० मिटर माथिबाट झरना खस्छ। कोसी राजमार्गको सिम्सुवा मोडसम्म गाडी एवं मोटरसाइकलमा पुगिन्छ, त्यहाँबाट डेढ किलोमिटर हिँडेर जानुपर्छ। झरनासम्म पुग्न २ ठाउँमा अप्ठ्यारो गरी भर्यायङबाट पार हुनुपर्छ। त्यसले थोरै समय भए पनि यात्रा कठिन तर रोमाञ्चक हुन्छ। झरनाछेउमा बसेर हावामा उडेर आउने पानीको कणको स्पर्श अनुभूत गर्दा सारा दुःख बिर्सिइन्छ।
नाम्जे गाउँ
भेडेटारबाट अढाइ किलोमिर पूर्वमा छ नाम्जे गाउँ। सन् २०१२ मा सिएनएनले पुग्नैपर्ने विश्वका उत्कृष्ट १२ गाउँमध्ये नाम्जेलाई आठौंमा छनोट गरेपछि यो गाउँको चर्चा चुलियो। पर्यटक संख्या ह्वात्तै बढ्यो। त्यसअघि यो गाउँ भेडेटारको छायामा परेर गुमनाम थियो। गाउँ हेर्न आउनेहरू बढेपछि गाउँले मिलेर होमस्टे सुरु गरेका छन् भने होटल, लज पनि थपिएको छ। यहाँको हावापानी र मगर संस्कृतिले पर्यटकलाई लोभ्याउँछ। भेडेटार ६, ७ र ८ मा ९७ प्रतिशत मगर जातिको बसोबास छ। पूर्वका मगर जातिले मात्रै नाच्ने हुर्रा नाच यहीँ हेर्न पाइन्छ। नाम्जे डाँडामा मगर जातिको पुर्खाहरूको लास गाडिएको थियो, पहिले। अमेरिकन आर्किटेक्चरको टिमले त्यहीँको २ सय १३ वटा चिहानबाट ढुंगा संकलन गर्योो र सामूहिक चिहान ‘आत्मा बस्ने घर' बनाइदियो। यसलाई विश्वको १७ औं अचम्मको घर मानिन्छ।
पाथिभरा मन्दिर
भेडेटारदेखि पश्चिमतर्फ आधा घन्टा हिँडे मन्दिर पुगिन्छ। यो मन्दिर ताप्लेजुङको प्रसिद्ध पाथिभरा देवीको शाखा हो। भाकल गरेर पनि ताप्लेजुङ पुग्न नसक्नेहरू यहाँ पूजा गर्छन्। मंगलबार र शनिबार भीड हुन्छ। यहाँबाट आकाश खुलेका बेला कुम्भकर्णको काखमा रहेको ताप्लेजुङको मुख्य पाथिभरा मन्दिर देख्न सकिन्छ।
साँगुरी गढी
यो गढी भेडेटारबाट ३ किलोमिटर पश्चिमतर्फ छ। त्यहाँसम्म पुग्न सहायक बाटो खुलेकाले सजिलै पुग्न सकिन्छ। यो लिम्बुवानी राजाको सामरिक महत्र्वको गढी थियो। यहाँ १० वटा ढुंगाको कोठा भएको किल्लाको अवशेष देख्न सकिन्छ। ती सबै ढुंगा धरान फुस्रे नजिकैको तामाखाम खोलाबाट ल्याइएको अनुमान गरिन्छ। किनभने गढी क्षेत्रमा त्यस खालको ढुंगा नै छैन। तत्कालीन समयमा सिपाही लहरै धरानसम्म उभिएर हात हातमा ती ढुंगा बोकेर ल्याएको बूढापाकाको भनाइ छ। यो गढीबाट धरानको सुन्दर दृश्य हेर्न सकिन्छ।
मनशान्त ग्यालरी
वैशाख ०७१ देखि भेडेटार बजारमा सञ्चालनमा आएको मनशान्त ग्यालरी रिसोर्ट खानेकुराका परिकारले भन्दा पनि त्यहाँको कलाकृतिले आर्कषणको केन्द्रमा छ। रिसोर्ट प्रवेश गरेदेखि नै देखिने मूर्ति एवं कलाकृतिले मोहित बनाउँछ। त्यहाँ खेर गएको बाँस र त्यसका जराबाट बनेका विभिन्न आकृति सजाइएका छन्। बाँसकै टेबल, बाँसकै कुर्सी र खाटमात्रै होइन, बाँसबाटै बनेको कफी ग्लास, प्लेट, वाइन ग्लासले पनि आकर्षित गर्छ। कलाकार रोजन राईले होटल सञ्चालनमा ल्याएका हुन्। पर्यटकले कलालाई बुझ्ने भएकाले होटलमा लगानी गरेको उनको भनाइ छ। ४० लाखभन्दा बढी लगानी भइसकेको रिसोर्टको डेकोरेसनका लागि धेरै खर्च भएको छ। त्यहाँ वाइन ग्लास, कफी ग्लास उपहार किन्न पाइन्छ।
प्रकाशित: ६ असार २०७१ २३:४७ शुक्रबार





