२३ पुस २०८२ बुधबार
image/svg+xml
अन्य

फेरिँदो पहिरन

बिहेको धेरै वर्षसम्म पनि रत्नदेवी ढुंगानाको पहिरन एकैखाले थियो– सारी र फरिया।
काठमाडौं, जोरपाटीनिवासी यी ७५ वर्षीयाले पाँच वर्षयता भने आफ्नो पहिरनशैली केही विस्तार गरेकी छन्। हिजोआज उनी प्रायः कुर्तासुरुवालमा भेटिन्छिन्।

धेरै वर्ष सारी र फरियामा सीमित रहेको उनको फेसन छोरी इन्दिराको करले फेरिन थाल्यो। 'सुरुमा सासूससुराको डर हुन्थ्यो। इच्छा भए पनि आफूले भनेजस्तो लगाउन सकिँदैनथ्यो,' उनी भन्छिन्, 'पछि छोरी र नातिनातिनाले कर गरे, सजिलो हुन्छ भनेर सहमत गराउन थाले। अनि मलाई पनि कुर्ता लगाउन इच्छा लागेर आयो। अहिले सारी र फरियाभन्दा कुर्तासुरुवाल साह्रै नै सजिलो लाग्छ।'

समय बदलिँदो छ। मान्छेका चाहना र रहर पनि बदलिँदैछ। खानपानसँगै लवाइखवाइ बदलिँदैछ। सहर मात्र होइन, गाउँघर पनि फेसनमा धेरै नै अगाडि बढिसकेका छन्। अहिले सहरका गल्ली, मल, फिल्म हलमा मान्छेको जमात हेर्दा लाग्छ, यहाँ कुनै फेसन सो चलिरहेको छ। केही वर्ष अघिसम्म युवा जमातमा फेसनको रौनक छाउने अहिले उमेर पाकिसकेकाहरु पनि 'केश जति फुले पनि काया कलिलै छ' भन्ने सोच्न थालिसकेका छन्।

त्यसो त पहिलेपहिले समाज र परिवारको डरले आफ्नो इच्छा भए पनि अरुजस्तो ड्रेसअप गर्न नसकेकाहरु अहिले छोरीबुहारी र नातिनातिनाको करले फेसनेबल बन्दैछन्।

सातदोबाटोकी लक्ष्मी शर्माले बिहेपछि आफ्नो उमेर ४० वर्ष नपुग्दासम्म सारी मात्र लगाइन्। 'त्यो जमानामा विवाहपछि सारी र फरियाबाहेक अरु लुगा लगाउँछु भनेर सोच्न पनि सकिँदैनथ्यो,' उनी अहिले सम्झन्छिन्, 'पछि छोरीहरु ठूला भएर आमालाई पनि मोडर्न बनाउन पर्योे भन्ने सोचे होलान् अनि कुर्ता लगाउन कर गरे।'

सुरुसुरुमा अप्ठ्यारो लागे पनि पछि सजिलो लाग्यो उनलाई। बिस्तारै बानी पर्दै गयो। अहिले त उनी घरबाट बाहिर निस्कँदा प्यान्ट र टप्ससमेत लगाएर हिँड्न थालेकी छन्।
photo 02
चाबहिलकी मीना भुसालको फेसन कथा भने रोचक छ। उनले कहिल्यै आफ्ना इच्छा चाहनालाई मर्न दिइनन्। पहिल्यैदेखि नयाँनयाँ फेसनमा चासो राख्थिन्। ७० पुग्नै आँटेकी मीना अहिले पनि नातिनातिनासँग फिल्म हेर्न जाँदा प्यान्ट र टिसर्ट लगाएर हिँड्छिन्। 'बाटोमा सबैले अचम्म मान्दै हेर्छन्,' उनी हाँसिन्। विवाहपछि वषर्ौं पहिला आफू पनि सारीमै सीमित भए पनि छोरीज्वाइँले कर गरेर सारीबाट सजिलो पोसाकमै बदले। अहिले त उनलाई पार्टीमा जाँदा पनि सारी साह्रै झन्झटिलो लाग्छ। 'अहिले उनीहरु विवाहको पार्टीमा त सारी लगाउनू न, मम्मी भन्छन्,' उनले सुनाइन्। उमेरले पाको भएपछि फेसनेबल र आधुनिक देखिन मन लाग्ने उनका अनगिन्ती चाहनालाई न उमेरले छेक्यो, न परिवार र समाजले। 'मैले त आइब्रो ट्याटु पनि बनाएकी छु,' हाँस्दै भनिन्, 'घर बस्दा पनि म नयाँनयाँ लुगा ट्राई गरिरहन्छु।'

फेसनले व्यक्तित्व देखाउने भएकाले आफूलाई सुहाउने, सजिलो लाग्ने र राम्रो देखाउने जस्तो पहिरन लगाए पनि हुने उनको सुझाव छ। 'उमेरमा पनि म आफैंले जिन्स प्यान्ट, मिनिस्कर्ट लगाएँ। अहिले आफूलाई सुहाउने प्यारालल प्यान्ट, टिसर्ट र कहिलेकाहीँ गाउन पनि लगाउँछु।' कुर्ता, टप्स, प्यान्टमात्र होइन, त्योसँग कस्तो जुत्ता लगाउने, कस्तो चस्मा लगाउने भन्ने पनि उनलाई चासो हुन्छ। उनको यस्तो फेसनेबल बानीलाई आफ्ना श्रीमान हेमलाल भूसालले पनि सकारे। 'उमेर जति भए पनि मन बूढो हुँदैन,' हेमलाल भूसाल भन्छन्, 'एकबारको जिन्दगीमा सबै कुरा परीक्षण गर्नुपर्छ। त्यसमा पनि आफ्नो इच्छा जेमा छ, त्यही गर्नुपर्छ।'

पुरुष होस् वा महिला, युवा हुन वा पाका सबैलाई आफू सुन्दर देखिने रहर हुन्छ। अब कसैलाई पनि पहिरनसँग 'एक्सपेरिमेन्ट' गर्न डर लाग्दैन। आफूलाई राम्रो सुहाउने र व्यक्तित्व झल्किने कपडाप्रति अहिले युवाको मात्र होइन, बैंस ढल्किसकेकाको पनि रुचि बढेको छ। 'मेरो विचारमा प्रायः सबै ड्रेसअप गर्न अलि रुचाउने मान्छे 'फेसन कन्सस' हुन्छन्। अन्तर्राष्ट्रिय सेलिब्रेटीका बारेमा अपडेट हुने मान्छे र कुनै फेसन उद्योगसँग सम्बन्धित मान्छे अलि धेरै नै चासो राख्छन्,' मीना भन्छिन्।

पछिल्ला केही वर्षमा नेपालका सहरी क्षेत्रमा युवा पुस्ता 'फेसनेबल' बन्दैछ। उनीहरु अचेल स्टाइल, रंग र ढाँचासँग परीक्षण गर्न रमाउँछन्। सूचना प्रविधि, फेसन च्यानल, फिल्म र म्युजिक भिडियोमा अभ्यस्त पुस्ता अझ धेरै 'फेसन कन्सस' छ। त्यसैले पनि आफ्ना आमा, हजुरआमालाई पनि राम्रो र मोडर्न बनाउन खोज्छन् उनीहरु। धेरै वर्षदेखि इच्छालाई दबाएर राखेकाहरु पनि अब फेसनेबल बन्दैछन्। राजधानी र देशका प्रमुख सहरमा देखिने स्टाइल अन्तर्राष्ट्रिय ट्रेन्ड र फेसनबाट प्रभावित भएको प्रस्टै देखिन्छ।

नेपाल प्रहरीबाट अवकाश पाएका पूर्व नायव महानिरीक्षक ज्ञानेन्द्रविक्रम महत भने फेसनसँगै अध्यात्ममा धेरै रुचि राख्छन्। 'मान्छे जति व्यस्त हुन्छ, उति नै स्वस्थ शरीर हुन्छ र मन पनि कलिलो हुन्छ,' उनी हाँस्दै भन्छन्, 'अवकाशप्राप्त भएँ तर मलाई मैले काम नभएको जस्तो कहिल्यै महसुस गरिनँ।' समाजसेवा र अध्यात्मका काममा उनी सधैं नै व्यस्त भइरहन्छन्। उमेर पुगेकाले पनि फेसन गर्नुपर्छ। आफ्नो इच्छाअनुसार पहिरन लगाउन पर्छ भन्नेमा उनको पनि दुईमत छैन। 'उमेरले ६० पुगेँ तर म कहिल्यै आफूलाई बूढो फिल गर्दिनँ। मान्छेले जे महसुस गर्छ, त्यस्तै हुँदोरहेछ,' उनले हाँस्दै सुनाए।

'म ड्रेसिङको कुरामा एकदम कन्सस छु। पूर्व उच्च पदाधिकारीको हैसियतमा विभिन्न कार्यक्रममा गइरहनुपर्छ। त्यसमा पनि औपचारिक र अनौपचारिक दुवैखाले समारोह हुन्छन्। अनुशासित संगठनमा जागिर खाएपछि चिटिक्क त पर्नैपर्छ,' महत भन्छन्। पहिरनले मानिसको व्यक्तित्व झल्काउने मात्र नभई आत्मविश्वास पनि बढाउने उनी बताउँछन्। अनअफिसियलमा क्याजुअल पहिरन रुचाउने उनको पोसाकको छनोट धेरैजस्तो भने मौसममा पनि भर पर्छ। उनमा धेरै गरगहना र एक्सेसरिजमा सोख त छैन तर ड्रेसिङ सेन्समा उनकी श्रीमती मीना महतले पनि धेरै प्रतिक्रिया दिने गरेकी छन्।

उनी १९९० पछि योगसाधनामा लागे। योगसाधना उनका लागि जीवनको हिस्सा हो। 'स्वास्थ्य मात्र होइन, यो जीवनको सत्य हो,' उनी अध्यात्मको महŒव प्रस्ट्याउँछन्। उनको श्रीमती मीना महत पनि धेरै योगसाधना र समाजसेवामा व्यस्त रहन्छिन्। ड्रेसिङमा उनी परफेक्ट छिन्। कलर सेन्स उनको राम्रो भएको बताउँछन् महत।

उनका अनुसार मानिस सधैं कुनै न कुनै रुपमा सक्रिय हुनुपर्छ। उमेर जति भए पनि, आफ्नो अवस्थाले भ्याएसम्म आफ्नो रुचिका विषयमा पनि संलग्न भए स्वस्थ भइने उनको धारणा छ। अवकाश पाए पनि उनी निरन्तर रुपमा प्रहरी अधिकारीसँग सम्पर्कमा रहन्छन्। 'मान्छेहरुलाई सहयोग गर्छु। सरकारी निकाय, अन्य निकायलाई पनि सहकार्य गर्छु,' उनी भन्छन्। अध्यात्ममा निकै रुचि भएकाले नै उनी देवघाटको मौलाकाली मन्दिरमा कार्यकारी सल्लाहकार भएर काम पनि गरिरहेका छन्। 'आध्यात्मिक र धार्मिक काममा जोडिएको छु। विशेषगरी प्रहरीसँग जनताको धेरै काम, सरोकारका विषय धेरै हुन्छन्। म अवकाश पाए पनि उहाँहरुलाई आफ्ना तर्फबाट सघाइरहेको छु। देशको नागरिक हैसियतले मेरो जिम्मेवारी पनि हो,' अवकाशपछिको जीवनबारे उनी भन्छन्।

फेसनले मानिसको व्यक्तित्वलाई असर गरिरहेकाले राम्रो फेसन गर्न जरुरी भएको बालुवाटारस्थित बिई लेबल्सका फेसन डिजाइनर विजय गौतम बताउँछन्। अहिलेको समयमा फेसनबाट कोही पनि अछुतो नभएकाले फेसन सुहाउने खालको गर्नुपर्ने उनको सुझाव छ। मौसम, अवसर वा कार्यक्रम, आफ्नो शारीरिक बनावट, छालाको रंग लगायत कुरालाई ध्यान दिई पहिरन छनोट गर्न सके मात्र मान्छे फेसनेबल देखिने उनको भनाइ छ। 'अरुलाई सुहाएको पहिरनले आफूलाई पनि सुहाउँछ भन्ने हुँदैन। फेसन सजिलो हुनुपर्छ, जसले गर्दा यसले ऊर्जा र आत्मविश्वास दिन सक्छ,' गौतम भन्छन्।

प्रकाशित: ३१ वैशाख २०७३ २३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App