ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालका अनुसार कार्कीमाथि आइएस्सीको नक्कली प्रमाणपत्र पेस गरेको अभियोग छ। उनलाई ललितपुर कुपण्डोलबाट पक्राउ गरी ब्युरोको हिरासतमा लिइएको छ। सिलवालका अनुसार कार्कीका विषयमा थप अनुसन्धान गर्न अदालतबाट ५ दिनको म्यादसमेत लिइएको छ।
अनुसन्धान क्रममा नक्कली पाइलट कार्कीले ठमेलस्थित अस्कल क्याम्पसका नाममा आइएस्सीको नक्कली शैक्षिक प्रमाणपत्र बनाएको फेला परेको छ। उनले अस्कलबाट २०६२/६३ मा पास भएको प्रमाणपत्र बनाएको पाइएको सिलवालले जानकारी दिए।
सिलवालका अनुसार कार्कीलाई एक महिनाको अनुसन्धानपछि समाइएको हो। धनुषा, भरतपुर–१ घर भएका कार्की हाल ललितपुर, टिकाथलीमा बस्छन्। 'प्रमाणपत्र शंकास्पद भेटिएपछि हामीले उनीमाथि निगरानी गरेका थियौं। उनको घर, साथीभाइसँग जमघट हुने स्थान, नियमित आउजाउ गर्ने स्थान सबैतिर हाम्रो टोलीले अनुसन्धान गरिरहेको थियो,' सिलवालले भने, 'अनुसन्धानका सबै प्रक्रिया पूरा भएपछि र प्रमाणहरु जुटिसकेपछि कुपण्डोलमा व्यक्तिगत कामले आएको समयमा हामीले उनलाई नियन्त्रणमा लियौं।'
ब्युरोले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी विमान चालकहरु वायुसेवामा कार्यरत रहेको भन्ने सूचनाका आधारमा छानबिन प्रक्रिया अगाडि बढाएको थियो। यसका लागि ब्युरोले 'अप्रेसन हक' नामक अभियान चलाएको थियो। अभियानले नक्कली प्रमाणपत्रका आधारमा पाइलट बनेकाहरुको खोजी गर्नेछ। अहिले पक्राउ परेका कार्की अभियानको पहिलो सफलता रहेको सिलवालले जानकारी दिए।
सिलवालका अनुसार ब्युरोले अप्रेसन हकअन्तर्गत झन्डै ६० जना पाइलटको अनुसन्धान गरिरहेको छ। 'नक्कली प्रमाणपत्रका आधारमा पाइलट बनेका भनिएका ६ दर्जन जति शंकास्पद पाइलटका विषयमा अनुसन्धान अगाडि बढाएका छौं,' उनले भने, 'सबै अनुसन्धान सकिएपछि नतिजा छिट्टै बाहिर ल्याउनेछौं।'
ब्युरोले मंगलबार पक्राउ परेका कार्कीलाई सरकारी छाप दस्तखत कीर्ते ऐनअनुसार कारबाही अगाडि बढाउने भएको छ। कार्कीले आइएस्सीको नक्कली प्रमाणपत्रका आधारमा फिलिपिन्सको डेल्टा एयरलाइन्सबाट सन् २००९/१० मा पाइलट कोर्स गरेका थिए। पाइलट कोर्स पूरा गरेर नेपाल फर्केका कार्कीले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट इजाजत पत्र (लाइसेन्स) समेत लिएका छन्। उनको व्यक्तिगत पाइलट इजाजत पत्र नम्बर सिपिएल (ए) ४८६ हो।
प्राधिकरणबाट प्राप्त उक्त इजाजतपत्रका आधारमा कार्कीले गोमा एयरमा को–पाइलटको जागिर खाएका हुन्। गोमा एयरमा को–पाइलटका रुपमा कार्यरत कार्की उडान अवधि पूरा गरी क्याप्टेन बन्नका लागि अमेरिकाबाट हालै मात्र एपिटिएल कोर्स पूरा गरेर फर्केका हुन्। नक्कली प्रमाणपत्र फेला परेपछि प्राधिकरणले उनको इजाजत पत्र निलम्बन गरेको छ।
प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा कार्कीले आफूलाई जसरी पनि पाइलट बन्नुपर्ने भएकाले नक्कली प्रमाणपत्र बनाएको बताएका छन्। धनुषाको जानकी सेकेन्डरी स्कुलबाट २०५२ सालमा एसएलसी पास गरेका कार्कीले भारतको लखनउस्थित एक कलेजबाट आइएस्सी अध्ययन गरेको प्रहरीसमक्ष बयान दिएका छन्। डिआइजी सिलवालले उनका विषयमा थप अनुसन्धान जारी रहेको जानकारी दिए।
ब्युरोले यसअघि नक्कली प्रमाणपत्रधारी १७ जना डाक्टरलाई पक्रेको थियो। नक्कली डाक्टर पक्राउका लागि ब्युरोले अप्रेसन क्वाक चलाएको थियो। पक्राउमा परेका १७ डाक्टरमध्ये नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स लिएकाको लाइसेन्स निलम्बन भएको छ भने अन्यले लाइसेन्स परीक्षामा सहभागी नै हुन नपाउने निर्णय भएको छ। उनीहरुका विषयमा पनि अदालतमा मुद्दा चलिरहेको छ। यसैगरी, प्रहरीको अपराध महाशाखाले केही दिनअघि नक्कली प्रमाणपत्र बनाइदिने गिरोहसहित १० जना इन्जिनियर पक्रेको थियो।
प्रकाशित: २२ वैशाख २०७३ २१:२८ बुधबार