७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

महाभूकम्प सम्झाउने चित्रहरु

काठमाडौं- चित्रकार ज्योतिप्रकाश बिकेले गत वैशाखको महाभूकम्पका त्रासदीहरुलाई चित्रमा उतारेका छन्। नेपाल आर्ट काउन्सिलमा चैत ७ देखि जारी एकल प्रदर्शनीका चित्रमा पीडामात्र हैन भत्किएका संरचनालाई पूर्णरुप दिने प्रयास पनि उनले गरेका छन्।एउटी आमाले राहत सामाग्री बोक्दै गरेको र अर्कोतर्फ साना बालबालिकाले खानेकुरा खाँदै गरेको चित्रले दैनिकी सुधारिँदै गएको पनि देखाउँछ। चित्रको दुई छेउमा पत्रपत्रिकामा त्यतिखेर छापिएका श्रद्धाञ्जलीका अक्षरहरुबाट फूलेका फूलको सृजना गरिएको छ।

उनले उक्त चित्रको मूल्य १० लाख रुपैयाँ तोकेका छन्। यसबाट आएको एक लाख रुपैयाँ बालक सोनी अवालेका परिवारलाई प्रदान गरिनेछ भने बाँकी नौ लाख रुपैयाँबाट भुकम्पले भत्केको स्कुल निर्माणमा सहयोग गरिने उनले जानकारी दिए। तर चित्र सरकारी निकायलाई किनीदिन आग्रह गरेका छन्। किनकि यो चित्र नेपालको त्यो दिन झल्काउने भएकाले पनि विदेशीलाई बेच्न चाहन्नन्। अरु ६ वटा चित्र भने उनको विदेशी स्वदेशी ग्राहकहरुले खरिद गरिसकेका छन्।

अर्को एक चित्रमा सगरमाथा र मन्दिरका झल्लरहरुले नेपाल र नेपालीको धैर्य र साहसको स्वरुप देखाउन खोजिएको छ। भाँडोको बिर्कोमा कोरिएको सगरमाथा र क्यानभासको चित्र मिलनले चित्रलाई नयाँ रुप दिएको छ। डेस्टिनी नामक उक्त चित्रको मूल्य उनले ५० हजार तोकेका छन्। जुन एक विदेशीले किन्न सहमति जनाएका छन्।

उनको यो छैटौं एकल प्रदर्शनीमा २७ वटा चित्र सजाइएका छन्। चित्रमा एक्रेलिक र मिक्स मिडियाका विविध रंगहरु संयोजन गरिएका छन्। प्रदर्शनीमा दुई लाख रुपैयाँ बराबरका चित्रहरु बिकिसकेका छन्। प्रदर्शनी गर्न करिब तीन लाख रुपैयाँ खर्च लागेको ज्योतिप्रकाशले बताए। उनको चित्रकला प्रदर्शनी आउँदो बुधबारसम्म चल्नेछ।

प्रकाशित: १३ चैत्र २०७२ २१:४० शनिबार