१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

उपन्यासमा किसुनजी

हरि अधिकारी आफैमा कहलिएका पुस्तक समीक्षक हुन्। उनका कतिपय समीक्षा विवादित पनि छन्। पत्रकारिता, नेपाली कांग्रेसको राजनीति, साहित्य सृजनालगायत अखबारी लेखनमा बेलाबेलामा छाउने अधिकारीको पछिल्लो कृति 'एक्लो नायक' एकसरो अध्ययन पछि यसलाई कस्तोखाले पुस्तक भन्ने अन्योल रह्यो।लेखकले उपन्यास विधामा यसलाई हुलिदिएका छन्। सँगै लेखकीय भूमिकामै यसको स्वरूपबारे स्पष्टीकरण पेश गरेका छन् । भन्छन्, 'एक्लो नायक विशुद्ध आख्यान होइन न त यो विशुद्ध ऐतिहासिक वृत्तान्त नै हो। यसमा मैलै समसामयिक नेपालको इतिहासलाई आख्यानात्मक ढंगले प्रस्तुत गर्ने जमर्को गरेको छु।' खासमा यो पुस्तक के हो र कुन विधामा यसलाई राख्न सकिन्छ भन्नेबारे लेखक आफै अन्योलग्रस्त रहेको अवस्थामा पाठकले यसको परख कसरी गर्ने हुन्? त्यो निकट भविष्यमा थाहा होला नै!

'कृति तयार गर्दा ऐतिहासिक तथ्यहरूलाई भाँचकुँच गरेको छैन र कसैकाप्रति पूर्वाग्रह राखेको छैन' भन्न्ने दाबी उनको छ। 'सन्त' विशेषण पाएका कांग्रेसी नेता कृष्णप्रसाद भट्टराईको जीवनमा आधारित भनिएको कृति कांग्रेसको राजनीतिक यात्राहरूको बयानले भरिएको छ। यात्राका सारथीहरूको भूमिका, उनीहरूको जीवनी र कतिपयको निजी मामला र प्रेमलीला पनि छताछुल्ला पारिदिएका छन् अधिकारीले। विशेषगरी अधिकारीको रोचक भाषाशैलीका कारण उनको टिप्पणी अति नकारात्मक हुँदाहुँदै पनि पाठकले रूचिपूर्ण ढंगले पढ्दै आएका हुन्। यो उपन्यासपछि उनलाई आरोप लाग्न सक्नेछ– धेरै लेखकलाई स्तरीय लेख्न नसकेको भनी ठोक्ने अधिकारी आफैलेचाहिँ खोइ त गज्जब लेख्ने सकेको? तथापि, यस कृतिमा उनले कांग्रेसको राजनीतिक इतिहासलाई रोचक ढंगले कथात्मकरूपमा पस्किएका छन्। तथ्यहरू भाँचकुँच गरेको छैन भन्ने उनको दाबी सही होला, तर कृतिको समग्र अध्ययनबाट भन्न सकिन्छ– कथानात्मक र औपन्यासिक पारामा लेखिएकाले यसलाई सन्दर्भगन्थका रूपमा लिन भने सकिन्न।

कृतिमा समावेश सामग्री, पुस्तकको नाम 'एक्लो नायक' र मुखपृष्ठमा छाएिको नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसादको तस्बिरले पुस्तक उनको जीवनसँग सम्बन्धित हो भनेर बु‰न सकिन्छ। कृतिको वरिपरि किसुनजी घुमिरहे पनि लेखक कतिपय प्रसंगमा बहकिएर अन्तै पुगेका छन्। निश्चितरूपमा उनको राजनीतिक जीवनका आरोह–अवरोह र कांग्रेसभित्र उनको चट्टानी अडानबारे यसमा चर्चा गरिएको छ। किसुनजी, विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंहजस्ता शीर्षहरूको चर्चा यत्रतत्र छ। किसुनजीको जीवनको आखिरी समयको वर्णनबाट प्रारम्भ छ। जहाँ किसुनजीकी सहयोगी बन्न आइपुगेकी अमिता कपालीको राजनीतिक जीवन खोतल्ने र उनले खेलको सहयोगी भूमिकालाई सुन्दर र रोमाञ्चक ढंगले प्रस्तुत गरिएको छ।

दुई अध्यायमा विभक्त किसुनजीका आखिरी दिनचर्याको कलात्मक प्रस्तुतिपछि लेखक तेस्रो अध्यायदेखि नै राजनीतिमा हामफालेका छन्। नेपाली कांग्रेसमा राजालाई बिन्तीपत्र हालेर जेलमुक्त हुन नचाहने किसुनजीको अडानको चर्चामात्र गरिएको छैन, समवयी नेताहरूका कतिपय कदमलाई तिनको कमजोरी भन्ने काम पनि गरेका छन् अधिकारीले। कांग्रेसको राजनीतिलाई अधिकारीले आफ्नो दृष्टिले जचेको कुरा र विषयलाई ठाउँ दिएका छन्।

कांग्रेस राजनीतिमा किसुनजी बीपी र गशेणमानबीचका सम्बन्धलाई शालीन र सम्मानित ढंगले पेश गर्न सफल अधिकारीले कांग्रेसका अर्का नेता गिरिजाप्रसाद कोइरालाको राजनीतिक भूमिकाबारे भने ठाउँठाउँमा प्रश्न उठाएका छन् र आलोचनात्मक टिप्पणी पनि गरेका छन्। २०४२ सालको सत्याग्रह र २०४६ सालको जनआन्दोनलमा कांग्रेस महामन्त्री रहेका कोइराला पदीय जिम्मेवारीअनुसार सक्रिय हुन नचाहेको घटना विवरणसहितका टिप्पणीले पाठकलाई एकप्रकारको गोप्य सूचना नै दिएको छ। पुस्तकमा कांग्रेसको राजनीतिक इतिहासको जति धेरै व्याख्या र विवरण छन्, त्यही अनुपातमा किसुनजीको अन्तरिम प्रधानमन्त्रित्वकाल, २०५६ को आमनिर्वाचनपछिको समय र उनको राजिनामाजस्ता महत्वपूर्ण घटनालाई भने संक्षेपीकरण गरिएको छ। २०४३ सालको राष्ट्रिय पञ्चायतमा भाग नलिने नीतिका पछाडि किसुनजीको अडान देखाइएको छ। तर, ०४४ सालको स्थानीय चुनाव अर्थात् नगर र गाउँ पञ्चायत चुनावलाई कांग्रेसले कुन प्रयोजनले प्रयोग गर्योए? त्यसको चुरो राजनीति केलाइएको छैन। गिरिजाले राष्ट्रिय सहमतिको नाममा पञ्चायतविरुद्ध कुनै युद्ध नछेड्ने र किसुनजी तथा गणेशमान आन्दोलनबाटै पञ्चायत फयाँक्ने रणनीतिमा होमिएको त्यो कालखण्डमा 'पञ्चायतको आउटपोस्ट कब्जा गर्ने' रणनीतिका भित्री पक्ष केलाउन सकेका छैनन् लेखकले।

लेखनकला, कथानक वर्णनले सम्पन्न पुस्तकमा कांग्रेसको राजनीतिक इतिहास सिलसिलेबार छैन। उनी कतै धेरै डुबेका छन्, कतै सहतमा मात्र देखापरेका छन्। खासगरी, कांग्रेसको राजनीतिक इतिहासबारे चासो राख्ने किसुनजीका अनुयायीका लागि पुस्तक पठनीय सामग्री हुनसक्छ। नेपाली कांग्रेसको राजनीतिमा सधैँ एउटा धार र आफ्नै धारणामा रमाउने किसुनजी कसरी एक्लो नायक बने? राजनीतिबाट पर रहेका बखत किसुनजीका अनुयायी झनै बढेको देखिन्थ्यो, त्यस्ता लोकप्रिय नेता कसरी एक्लो हुन्छन र! यसको उत्तर पुस्तकमा भेटिँदैन।

प्रकाशित: १२ चैत्र २०७२ २३:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App