उदायो रसिलो राम्रो ऋतु–राज वसन्त यो ।।
लेखनाथ पौड्यालको 'वसन्त विचार' मा उल्लेखित पंक्तिजस्तै मुलुकमा वसन्तको रसिलो प्रभाव देखिएको छ । तराईमा यतिबेला मध्य वसन्त छाएको छ । बगैँचामा आँप र लिचीले मुजुरा छाडेका छन् । जंगलमा पलाँस राताम्मै छ । खेत–खरियानमा सिरसिर बतास चलेको छ । करेसामा कोइलीको कुहुकुहु गुञ्जन छ ।
धनुषा, पिडारीका २७ वर्षीय सन्तोष राउत वसन्तको यो रमाइलो रंगमा रम्न सकेनन् । परिवारको आवश्यकता पूरा गर्न गाउँको जमिन धितोमा राखेर खाडी मुलुक कतारतर्फ उड्दै गरेका उनले स्वदेशमा काम गर्ने वातावरण नबनेकाले मरुभूमि धाउनुपरे सुनाए ।
६ वर्षीया छोरीका बुवा सन्तोषले घर छाड्ने बेलामा ६ महिनाकी गर्भवती श्रीमतीले आसु झार्दै बिदा गरेको सुनाए । 'रङहरूको पर्व होली आउँदै छ, यस्तो बेला परिवारसँग छुट्टिएर जाँदा निकै नरमाइलो लाग्यो,' बुधबार विमानस्थलमा भेटिएका राउतले भने, 'खाडी जानु मेरो रहर हैन, बाध्यता हो ।'
उनीजस्तै बाध्यता बोकेर झन्डै १५ सय युवा दिनहुँ विदेसिइरहेका छन् । उमंगको यो ऋतुमा फुंग उडेका अनुहारसहित उनीहरु आशाको झोला काँधमा हालेर रेगिस्तान जाँदै छन् । स्वदेशको वसन्तमा रम्न नसकेका यी 'कोइली' हरू 'मरुउद्यान' भेटिने आशामा धमाधम उड्दै छन् ।
राउतले राजधानीको विमानस्थलमा वसन्त सपना सुनाउँदै गर्दा ललितपुर, सानेपानिवासी वनस्पतिविद तीर्थनारायण श्रेष्ठ तराईमा कुहु–कुहु गर्दै गरेको कोइली पहाडतर्फ आउँदै गरेको अनुमान गर्छन् । वसन्तमा कोइलीको कुहुकुहु सुन्दै आएका उनी अब छिट्टै आफ्नै करेसामा कोइली आउनेमा ढुक्क छन् । 'यतिबेला तराईमा मध्यवसन्त चढेको छ, त्यहाँ रमाएपछि तिनै कोइली राजधानीको वसन्तमा रम्म आउने छन्,' उनले भने, 'अघिल्ला वर्षझैँ अबको एक–डेढ सातापछि कोइलीको कुहु–कुहु राजधानीमा गुञ्जनेछ ।'
काठमाडौँमा वसन्त सुरुवात भएको श्रेष्ठ बताउँछन् । तराईको वसन्तमा रमाएका कोइली बिस्तारै पहाड चढ्दै राजधानी आउने उनको बुझाइ छ । कोइली आगमनसँगै राजधानीमा मध्यवसन्त सुरु हुने उनले सुनाए । फागुन–चैतलाई यहाँको वसन्त मौसम मान्छन् उनी । आरु, मयल र नास्पातीका फूलले स्वागत गरेको वसन्तलाई बेली, जाई, जुही, चम्पा, चमेलीले सिंगार्ने उनी बताउँछन् । हिउँद र ग्रीष्म ऋतुको बीचमा पर्ने वसन्तमा धेरैजसो बोटबिरुवा सक्रिय बन्ने उनी सुनाउँछन् ।
उनी वसन्तमा जीवनको संकेत देख्छन् । त्यसैले यसलाई श्रृष्टिको समय मान्छन् । शिवरात्रि पनि यसै समय पर्ने भएकाले यसको धार्मिक, जैविक र साँस्कृतिक महŒव रहेको उनी सुनाउँछन् । राणा शासनको समय मधेसबाट शिवरात्रिबाहेक अन्य समय राजधानी आउन कागजपत्र आवश्यक पर्ने नियम थियो । त्यसैले उतिबेला थुप्रै मधेसी नागरिक शिवरात्रिमा राजधानी आउने गरेको इतिहास उनी सम्झन्छन् । 'तराईबाट राजधानीको वसन्तमा रम्न कोइली आएझैँ थुप्रै मधेसी शिवरात्रि मनाउन आउँथे,' उनले भने, 'केही समय यहाँ रमाउँथे र घर फर्कन्थे ।'
०००
जनकपुरको वसन्त छाडेर आएका धनुषाका सन्तोष राजधानीमा पनि रम्न सकेनन् । मंगलबारको नाइटबस चढेर आएका उनी बुधबार बिहान सोझै विमानस्थल पुगेका थिए । 'गाउँमा मात्र हैन, काठमाडौँमा पनि कमाउने र रमाउने व्यवस्था छैन,' उनले भने, 'त्यसैले यहाँ पनि रोकिन सकिन ।'
नेपालमा छाइरहेको वसन्त छाडेर कैयौं युवा मरुभूमिजस्तो रुखो ठाउँमा फूल फूलाउन प्रयत्नशील छन् । २०६५ सालयता करिब ४१ लाख युवायुवती श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ । आर्थिक वर्ष ०७१ र ७२ मा मात्र ५ लाख १२ हजार जना बिदेसिएको विभागले जनाएको छ ।
वसन्तको सपना बोकेर बिदेसिने युवाले मुलुकको वातावरण राम्रो भए स्वदेशमै आएर केही गर्ने आकांक्षा बोकेका हुन्छन् । तर, मुलुक सुध्रिएको उनीहरुले देख्न पाएका छैनन् ।
संस्कृतविद तेजेश्वरबाबु ग्वंगः राजनीतिको कठ्याँग्रिदो शिशिरले मुलुकलाई उजाड बनाएको सुनाउँछन् । इमान्दारीसाथ युवाको शिक्षा र रोजगारमा ध्यान नदिएसम्म मुलुकमा कहिल्यै वसन्त नआउने उनको बुझाइ छ ।
'जबसम्म रोजगारका लागि बिदेसिएका 'कोइलीहरू' स्वदेश फिर्ने वातावरण बन्दैन, तबसम्म मुलुकमा साँचो अर्थमा वसन्त आउँदैन,' उनले भने, 'जतिबेला यहाँका शासकमा चेतनाको न्यानो पलाउँछ, तब मात्र वसन्त आगमन हुनेछ ।'
राजनीतिक अस्थिरताले बिग्रँदै गएको मुलुक भूकम्प र नाकाबन्दीले थप मारमा परेको उनको बुझाइ छ । 'राज्यले बेघर जनतालाई नयाँ घर बनाइदिनुप¥यो,' उनले भने, 'तब मात्र पुनर्निर्माणको वसन्त सुरु हुनेछ ।'
वसन्तको प्रभाव वनस्पती र वनस्पतीको प्रभाव मानिसमा पर्ने पर्छ । वसन्तलाई ऋतुहरूको राजा बताउँछन् उनी । भन्छन्, 'हिउँद ऋतुको चिसो कम हुँदै जाँदा वसन्त ऋतुको उदय हुन्छ, चराचुरुंगीको चिरबिराहटसँगै हिउँदभरि उजाड रुखमा नयाँ उमंग र उत्तेजना ल्याउँछ ।'
वनस्पतीमा परेको वसन्त प्रभावले मानिसको चेतनामा नयाँ उमंग ल्याउने उनको बुझाइ छ । मानिसको मनमा वसन्त छाउनुपर्ने उनी सुनाउँछन् । त्यसका लागि वरपरको माहौल र परिवेश वसन्तमय हुनुपर्ने उनको भनाइ छ ।
वनस्पतीविद श्रेष्ठ वसन्तमा पश्चिमी वायुको प्रभाव घट्ने र पूर्वी वायुको प्रभाव बढ्ने बताउँछन् । वसन्तलाई समागमको ऋतु मान्छन् । वसन्तको प्रभावले वर्ष राम्रो रहने उनको बुझाइ छ । उमंगको यो तरंगले मानिसलाई वर्षभरि ऊर्जा दिने उनले बताए । 'नेचरको पाना क्यालेन्डरजस्तो पल्टँदैन,' उनले भने, 'बरु पोखरीको पानीबाट उठेको तरंगझँै सबैतिर तरंगित हुन्छ ।'
भौगोलिक विविधताका कारण सिंगो मुलुकको वसन्त एकै नहुने उनी सुनाउँछन् । तिथिले श्रीपञ्चमीबाट वसन्त सुरुवात भएको मानिए पनि तापक्रमअनुसार तराई, पहाड र हिमालमा केही ढिलोचाँडो हुने बताउँछन् । उनका अनुसार तराईमा माघ–फागुन, पहाडमा फागुन–चैत र हिमालतिर वैशाख–जेठलाई वसन्तको महिना मानिन्छ ।
'तराईको वसन्त पिक भनेको होली पूर्णिमा हो,' उनले भने, 'होलीमा सबै नागरिक रंगिन अनुहारसहित नाँचगान गर्दै रमाउँछन् ।'
धनुषाका सन्तोषको अनुहार यसपालिको होलीमा रंगीन हुने छैन । होलीको समय उनी अरबको तातोमा मजदुरी गर्दै हुनेछन् । 'परिवारसँग होली मनाउनुको रमाइलो बेग्लै,' उनले भने, परिवार छाडेपछि कहीँ पनि रमाइलो हुँदैन ।'
समाजसास्त्री बलराम आचार्य पछिल्लो समय गरिबीको संख्या केही घटे पनि गरिब र धनीबीचको दुरी भने निकै बढेको बताउँछन् । मुलुकको समृद्धिले सबै तहका जनतालाई नछोएसम्म नागरिक साँचो अर्थमा खुसी हुन नसक्ने उनको ठम्याइ छ ।
वसन्तलाई श्रृष्टिको सुरुवात मानेजस्तै युवालाई समृद्धिको सुरुवात मान्ने उनी युवाको आवाज राज्यले नसुनेको बताउँछन् । वसन्तलाई नयाँ श्रृष्टिको सुरुवात मान्दै यसै वसन्तदेखि राष्ट्रप्रमुखसहित सबै नेताको सोचमा नयाँ पालुवा पलाओस् भन्ने चाहन्छन् ।
देशमै केही गर्न चाहने नागरिकको आवाज सुन्दै उनीहरुका लागि 'गरिखाने' अवस्था सिर्जना गर्नुपर्ने उनले बताए । सर्वसाधारण पनि आफ्नो काम गरेर अगाडि बढ्नुपर्नेमा अरुको देखा–सिखिमा अल्झेको उनको गुनासो छ ।
संस्कृतविद् तेजेश्वरबाबु बेरोजगार युवाको खाडीतर्फको लर्को रोक्ने कदम चालिहाल्न जरुरी भएको उनी बताउँछन् । समयमै राज्यले नसोचे वसन्तमा पलाएका आँप र लिचीका मुजुराले मात्र हैन, कलिला सन्तानका मुस्कान र गर्भवती श्रीमतीको मौन आग्रहले पनि उनीहरुको पाइला रोक्न नसक्ने उनको बुझाइ छ ।
प्रकाशित: २८ फाल्गुन २०७२ २२:१९ शुक्रबार





