टोनी हेगनले खिचेका तस्बिरसँगै त्यतिबेलाका जीवन्त दृश्यसमेत नियालेका इतिहासकार, साहित्यकार र संस्कृतिविदले पुरानो काठमाडांैले आफ्नो मौलिकपना गुमाएको सुनाए। सुन्दर सहर अहिले अव्यवस्थित बन्दै गएको उनीहरुको बुझाइ छ। कुनै बेला राजधानी 'काठमाडांै सहर हेर्न लाग्यो रहर' थियो। यतिबेला यो 'रहर हराएको सहर बन्न' पुगेको छ।
'संस्कृतिविद तेजेश्वरबाबु ग्वंग काठमाडौंको अवस्था लाटोबुंगोको कथाजस्तो भएको बताउँछन्।
पुरानो काठमाडौं अहिलेको अवस्थामा आउँदा 'फुरौला' नभएर 'उफ्रौला' भएको उनी सुनाउँछन्। पुरानो सहरको रहनसहन, परम्परा, रुपरेखा, लुगालवेदा, गहनागुडिया र खानपान सबै अन्तर्राष्ट्रिय संस्कृतिको चपेटामा परेको बताउँदै उनले शान्त काठमाडांै कोलाहाल सहर बनेको सुनाए।
विसं १९९२ मा भक्तपुरमा जन्मेका ग्वंगलाई बाल्यकालमा खर्पनमा बसेर काठमाडौंसम्मको यात्रा सुरु गरेको सम्झना छ। खर्पनपछि लहरी, ट्रलीबस, मोटर र मोटरसाइकल हुँदै भक्तपुरदेखि काठमाडांैसम्मको यात्रा तय गरेका उनले प्रत्येक दिन यहाँका खुला फाँटमा घर मात्र थपिएको महसुस गरेका छन्।
'लहलहाउँदा धान फल्ने फाँटमा घर फल्न थाले,' उनले भने, 'खुला सडकमा सवारीको चाप बढ्दै गयो।' मठमन्दिरको पुरानो यो सहर अहिले घरघरमा छोपिएको बताउँछन्। 'मठमन्दिर, हरियाली र सुन्दर फाँटको सहरमा अहिले घरैघर भरिएका छन्,' उनले भने, 'पुरानो सहरले आफ्नो मौलिकता गुमाएको छ।'
काठमाडौं सहरले समयको विभिन्न चरण पार गर्ने क्रममा राजनीतिक परिवर्तनसँगै वातावरणीय परिवर्तन पनि झेलेको छ। चराको चिरबिराहटमा रमाउने सहरका बासिन्दा अहिले टि्वटर र फेसबुकमा रमाउने गरेका छन्। यहाँ कोइलीको आवाज होइन, मोटरगाडीको कोलाहल सुनिन थालेको छ।
विसं १९७९ मा जन्मेका साहित्यकार मदनमणि दीक्षित पुरानो काठमाडौं अहिले बिथोलिएको सुनाउँछन्। उनले काठमाडांैको परिवर्तनलाई विभिन्न चरणमा चित्रण गर्छन्। विसं १९९० अघिको काठमाडौं, १९९० देखि २००७ सालसम्मको काठमाडांै। २०४६ सालअघिको काठमाडांै हँदै अहिलेको अवस्थामा आउँदा यसले आफ्नो मौलिकपन पूरै गुमाएको उनले सुनाए।
काठमाडौंको भौतिक, राजनीतिक र सामाजिक परिवर्तनसँगै यहाँका मानिसको स्वभावमा समेत थुप्रै परिवर्तन आएको उनी सुनाउँछन्। घरको छानामा झिँगटी हाल्दा सम्पन्न देखिने राजधानी यतिबेला घरका भित्तामा मार्बल सजाउने अवस्थामा आइपुगेको उनले देखेका छन्।
विसं १९९० पछि घर बनाउँदा सिमेन्टको प्रयोग भएको सम्झने उनी यतिबेला सहर सिमेन्टको जंगलमा परिणत भएको बताउँछन्। ९० को भूकम्पपछि झिँगटी, टायल हाल्ने चलन बढेको राजधानीमा २००७ सालपछि ढलाने युग सुरु भएको पनि उनैले देखे।
उतिबेला कोइलीको कुहु–कुहु सुनिने काठमाडौ अहिले चराविहीनजस्तै बन्दै गएको उनले बताए। 'अब त चराको चिरबिराहट नै सुनिन छाड्यो,' दीक्षितले भने, 'जुरेली, गांैथलीको बथान देख्न मुश्किल भयो।'
२०४६ पछि सहरमा तीव्र परिवर्तन आएको उनको बुझाइ छ। '२०२३ सालमा कालिकास्थानमा आएर बस्दा कोइलीको आवाज सुन्थेँ,' उनले भने, 'वरिपरि घर थपिँदै गए, चराका चिरबिराहट हराउँदै गए।' २०३० सालसम्म कोठामा गौँथलीले गुँड लगाएको उनलाई याद छ। त्यसपछि सहरमा यो पवित्र चरो हराउँदै गएको उनले देखेका छन्।
विभिन्न राजनीतिक परिवर्तन भोगेको यो सहरले आफूलाई भने व्यवस्थित गर्न नसकेको उनी सुनाउँछन्। सहर व्यवस्थित गर्ने थुप्रै योजना बने पनि कार्यान्वयन नहँुदा अहिलेको अवस्था आइपुगेको दीक्षितले बताए।
काठमाडौंले आफ्नो पोसाक पनि गुमाउँदै गएको उनले सम्भि्कए। 'दौरासुरुवाल हराए, जिन्स सर्ट आए, परम्परागत पोसाक जात्रा र उत्सवमा मात्र सीमित हुन थालेको छ।'
विसं १९९० को महाभूकम्प जाँदा इतिहासकार पुरुषोत्तमशममेर जबरा आठ वर्षका थिए। हालको निर्वाचन आयोग रहेको स्थानमा रहेको 'दरबार' को माथिल्लो तलामा बसेका यी बालकलाई भूकम्पलगत्तै आफन्तले बाहिर निकालेका थिए ।
२०७२ वैशाख १२ गते भूकम्प जाँदा पनि उनी कुपन्डोलस्थित निवासको माथिल्लो तलामा थिए। भूकम्पको समयमा घरभित्रै बसेका ९२ वर्षीय यी वृद्ध आफन्तकै सहयोगमा बाहिर निस्किए।
'९० सालको भूकम्पमा बाहिर निस्कँदा सबैतिर खुला स्थान थिए,' पुरानो काठमाडौ र अहिलेको काठमाडौंको तुलना गर्दै उनले भने, '७२ सालको भूकम्पमा बाहिर निस्कँदा सबैतिर घरैघर।'
त्यतिबेला खुला सडकमा साइकलको पाइडल चाल्दै गन्तव्य पुग्नुको मज्जा उनले लिएका छन्। 'अहिले त सडकमा हिँड्नै मुश्किल छ,' उनले सम्भि्कए, 'सबैतिर घनाबस्तीले छाएको छ।'
प्रकाशित: १४ फाल्गुन २०७२ २२:०६ शुक्रबार





