वीरगञ्ज–२४ का खुस महमुरले दृष्टिविहीन आफ्ना चार छोराछोरीले कुनै बेला आँखा देख्न सक्लान् भन्ने कल्पना पनि गरेका थिएनन् । सोच्नसम्म नसकेको यही घटनाले उनको जीवनमा खुशीयाली छरिदियो । उनका चारै जना छोराछोरी अहिले आँखा देख्छन् । मदरसामा पढ्न थालिसके । २५, १४ र आठ वर्षीय छोराका एक–एक वटा आँखा र ११ वर्षीया छोरीका दुइटा आँखा काठमाडौँस्थित तिलगंगा आँखा अस्पतालमा सफल प्रत्यारोपण भएको हो ।
'नसोचेको खुशी मिलेको छ,' उनी दंग छन्, 'अरू कोही मरेको नचिनेको दयालु मान्छेले दान गरेको आँखाले मेरा छोराछोरी संसार देख्न सक्ने भए ।' उनका अनुसार एउटा आँखा पाएका तीन छोराहरूले अर्को आँखा पनि प्राप्त गर्ने पालो कुरिरहेका छन् । आँखा देख्न पाएपछि उनका चारै छोराछोरीले 'आमाबा यस्ता हुँदा रहेछन्' भनेर रोएको उनी कहिल्यै बिर्सन सक्दैनन् । पटक–पटक गरेर उनका छोराछोरीका आँखाको नानी प्रत्यारोपण भएको हो ।
छाला
कसैले मरणोपरान्त दान गरेको छालाको सहारामा हाँसीखुशी बाँचिरहेकी छिन्, धादिङकी सरीता धिताल (१६) । चुलोमा खाजा पकाउँदै गर्दा आगोको लप्काले जलेकी उनलाई कीर्तिपुर अस्पताल अन्तर्गतको स्किन बैँकमा छालाको सफल प्रत्यारोपण गरियो । 'मलाई बचाउनका लागि जीवनदान दिने अपरिचित व्यक्ति र यो अस्पताललाई मुरीमुरी धन्यवाद !' उनको हर्षले सीमा नाघेको छ, 'आफू मरेपछि छाला दान गर्नुभयो, जुन छालाले म बाँच्न सफल भएँ ।'
धनुषा, महेन्द्रनगरकी शिक्षा तिमल्सिना पाँच वर्षकी भइन् । दुई वर्षअघि उनको पनि छाला प्रत्यारोपण गरियो । आफ्नै बुबाको छाला दानबाट नयाँ जीवन पाएकी उनले अहिले पढ्न सुरु गरेकी छिन् । मामाघर जाँदा पोलिएकी उनलाई दुई दिनपछि कीर्तिपुर अस्पताल ल्याइयो । उनको शरीरको लगभग ४० प्रतिशत भाग पोलिएको थियो । उनका बुबाले आफ्नो दाहिने तिघ्राको छाला दान गरेर छोरीको पोलिएको ज्यान जोगाए । 'नातिनीले नयाँ जीवन पाएकोमा खुशी छौँ हामी,' शिक्षाकी हजुरआमा पार्वतीले भनिन्, 'अहिले उसको स्वास्थ्य ठीक छ । टाँकाको सामान्य खतबाहेक केही देखिँदैन । काखीतिर मासु पलाउन थालेको छ । डाक्टरसाबले त्यसको पनि केहीपछि अप्रेसन गर्ने भन्नुभएको छ ।' उनका अनुसार शिक्षाको सातवटा अपरेसन गरेर छाला प्रत्यारोपण भयो । यसरी जीवित व्यक्तिको समेत छाला दान गरेर कसैको ज्यान अकाल मृत्युबाट जोगाउन सकिने उदाहरण हुन्, शिक्षा ।
मिर्गौला
ललितपुर, इमाडोलकी पवित्रा सुवेदी (३९) आफूलाई 'भाग्यमानी' मिर्गौला पीडित ठान्छिन् । डायलाइसिसतिर नलागी सीधै प्रत्यारोपणको मौका पाइन् । मिर्गौला कतै खोज्न भौँतारिनुपरेन । मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरमा उनको मिर्गौला प्रत्यारोपण सफल भयो ।
मिर्गौला दान दिने महिलाको तुलनामा पुरुष एकदमै कम छन् । त्यसमाथि श्रीमतीलाई आफ्नो एउटा मिर्गौला सुम्पिने श्रीमान् त औँलामै गन्न सकिन्छन् । पवित्राले आफूलाई भाग्यमानी ठान्नुको पहिलो कारण यही हो, मिर्गौलामा समस्या थाहा भएको लगभग दुई महिना बित्न नपाउँदै श्रीमान्बाट मिर्गौला पाउनु । 'मिर्गौला बिग्रिएपछि मरिन्छ भन्ने मात्र थाहा थियो,' अस्पतालको बेडबाटै उनले भनिन्, 'सबै सुन्दा त अहिले म आफूलाई भाग्यमानी मिर्गौला रोगी ठानेकी छु । कैयौँ मिर्गौला पीडितले सडकमा हात थापेर खानुपरेको छ । डायलाइसिसमा लाखौँ खर्च गर्नुपरेको छ । परिवारबाट हेलाँहोचो खेप्नुपरेको छ । मलाई त त्यस्तो केही भोग्नुपरेन ।' अब उनले श्रीमान् र तीन छोराछोरीसँगै खुशीसाथ बाँच्न सक्ने आश गरेकी छिन् ।
***
यसरी नेपालमा हाल आँखा, मिर्गैला र छाला दानबाट कैयौँ बिरामीले नयाँ जुनी पाइरहेका छन् । चिकित्सकहरूका अनुसार शरीरका आठवटा अंग दान गरेर अरूको शरीरमा प्रत्यारोपण गर्न सकिन्छ । नेपालमा पहिलोपटक सन् १९६७ मा वीर अस्पतालमा दान गरिएको आँखाको प्रत्यारोपण गरिएको थियो । त्यसपछि तिलगंगा आँखा अस्पतालमा आई ब्यांक स्थापना भएपछि सन् १९९४ देखि लगातार आँखा दान र प्रत्यारोपण भइरहेको छ । मिर्गाैलाको भने सन् २००८ मा त्रिवि शिक्षण अस्पतालमा पहिलोपटक सफल प्रत्यारोपण भयो । छाला प्रत्यारोपण भने सन् २०१४ बाट कीर्तिपुर अस्पतालको स्किन बैंकबाट थालियो।
भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार अंग प्रत्यारोपणको संशोधन विधेयक संसद्बाट पारित भएपछि केन्द्रले कलेजो प्रत्यारोपणको काम पनि थाल्न गृहकार्य सुरु गरिसकेको छ । 'त्यसका लागि तालिममा जनशक्ति पठाइसकेका छौँ,' उनले भने, 'मिर्गाैलाभन्दा केही जटिल भएकाले चुनौती भने धेरै छन् ।' कलेजोलगत्तै मुटु प्रत्यारोपण पनि थाल्न बाटो खुल्ने बताउँछन्, केन्द्रका मुटु सर्जन डा. सम्पूर्ण तुलाधर । भन्छन्, 'कलेजो थालिएपछि मुटुको पनि प्रत्यारोपण गर्ने आँट जुट्छ । तर, यसका लागि सरकारले भौतिक पूर्वाधार र जनशक्तिमा योभन्दा ज्यादै लगानी गर्नुपर्छ ।' संशोधन विधेयक पारित हुँदा हौसिएका अंग प्रत्यारोपण सम्बद्धहरू त्यतिले मात्र पुग्दैन भन्छन् । उनीहरूका अनुसार सरकारले चाँडै नियमावली बनाएर कार्यान्वयन थाल्नु पहिलो चुनौती हो।
'परिवार बाहेकले पनि दिन पाउनुपर्छ'
अंग प्रत्यारोपणको संशोधन विधेयक पास भएपछि अंग प्रत्यारोपण गर्न पाउने परिवारको दायरा फराकिलो भएको छ । पहिला परिवारका २३ जना सदस्यलाई मात्र चिन्ने कानुनले संशोधनपछि थप २८ जनालाई चिन्न सक्ने भयो । बिरामी र उनीहरूका आफन्तहरू यतिले मात्र पुग्दैन भन्छन् ।
डडेल्धुराका चक्रबहादुर खड्का (३३) मिर्गौला प्रत्यारोपणको पालो कुरेर बसेका छन् । उनकी ५३ वर्षीया आमाले मिर्गाैला दिँदै छिन् । 'वृद्ध भइसकेकी आमाको मिर्गाैला झिक्नुपर्ने भयो,' उनले भने, 'दायरा अझै फराकिलो भइदिए इच्छुक साथी वा अरू कसैले पनि दान गर्न सक्थे ।' श्रीमतीको मिर्गाैला पाउँदै गरेका शिवराम श्रेष्ठ (५६) पनि परिवार बाहेकले पनि इच्छाएमा दिन पाउने व्यवस्थाको आवश्यकता देख्छन्।
यो दायरा जति फराकिलो बनाउँदै लगिन्छ, विभिन्न विकृति थपिने पनि चुनौती रहन्छ भन्छन्, जानकारहरू। विकृति बढ्न नदिन सरकारको बलियो उपस्थिति हुनुपर्ने देख्छन्, डा. पुकारचन्द्र श्रेष्ठ।
प्रत्यारोपणको अधिकार निजीलाई पनि ?
अंग प्रत्यारोपणको अधिकार निजी अस्पताललाई पनि दिनु हुन्छ वा हुँदैन भन्नेमा सम्बद्धहरू विभाजित छन्। दिनु हुँदैन भन्नेहरू विकृति झन् बढाउने हो भने मात्र सरकारले निजीलाई यस्तो जिम्मा देओस् भन्ने चेतावनी दिन्छन्। अर्को पक्ष भने निगरानी गर्ने संयन्त्र भए निजीलाई दिनु हुँदैन भन्नु न्यायोचित तर्क होइन भन्छ।
मानव अंग प्रत्यारोपण केन्द्रकी चिकित्सक डा. कल्पना श्रेष्ठ निजीलाई दिए विकृति मौलाउने बताउँछिन्। 'यो अधिकार कुनै पनि हालतमा निजीलाई दिनु हुँदैन,' उनले भनिन्, 'निजीलाई दिइयो भने कुनै न कुनै तवरले विकृति झन् मौलाउँछ। सरकारको प्रत्यक्ष निगरानी रहने उसकै अस्पतालमा मात्र प्रत्यारोपण हुनुपर्छ।' अंगदानको महाअभियान चलाउनुपर्ने तर्क गर्ने पूर्वमुख्यसचिव लीलामणि पौडेल पनि निजी अस्पताललाई अंग प्रत्यारोपणको अधिकार दिइए अंग बेचबिखनजस्ता क्रुर घटना मौलाउन सक्नेतर्फ सरकार सचेत हुनुपर्ने बताउँछन्। उनले आफ्नो आँखा र छाला दान गर्ने इच्छापत्रमा हस्ताक्षर गरिसकेका छन्। निजी अस्पतालप्रति 'लोयल' सुनिने मानव अंग प्रत्यारोपण केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठ भने निजीलाई दिनु हुँदैन भन्नु उपयुक्त नभएको बताउँछन्। भन्छन्, 'बलियो सरकारी संयन्त्रले निगरानी गर्नुपर्छ। प्रत्यारोपणको काम निजीलाई दिनु हुँदैन भन्ने होइन।'
अंगदानका मुख्य समस्या
आँखा दान गरे अर्को जन्ममा अन्धो भइन्छ भन्ने अन्धविश्वासले धेरै मान्छे आँखा दानमा अहिले पनि हिचकिचाउँछन् भन्छन्, आई बैंकका म्यानेजर शंखनारायण त्वयना । उनका अनुसार धर्म, अन्धविश्वास, चेतना अभाव नै आँखा दानका समस्या हुन् । 'अंग दान भनेको भावना हो,' उनले भने, 'भित्रैदेखि आउने यो भावनालाई विभिन्न कुराले बाधा गरिरहेका छन् । यद्यपि, धर्ममा अंगदान पाप भनेर कतै लेखेको छैन ।' उनका अनुसार उच्च र तल्लो आर्थिकस्तरका दाता एकदमै कम छन् । मध्यम आर्थिक हैसियतकै मानिसहरू आँखा दानका लागि अग्रसर भइरहेका छन्।
आई बैँककी मेडिकल डाइरेक्टर डा.लिना वज्राचार्य आँखा दानलाई मात्र सम्बोधन गर्ने कानुन बन्नसके धेरैलाई ज्योति दिन सजिलो हुने बताउँछिन् । सवारी लाइसेन्सलगायत कागजमा उसको अंगदानको विवरण उल्लेख हुनुपर्ने उनको माग छ। रगतबाट सर्ने रोगका कारण हुने मृत्यु बाहेकमा आँखा दान गर्न मिल्ने उनी बताउँछिन्। 'अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तर कायम गरेर आँखा प्रत्यारोपण गरिरहेका छौँ,' उनले भनिन्, 'यसबाट देशभित्रका मात्र नभएर अन्य देशका नागरिकले समेत सेवा लिइरहेका छन्।'
स्किन बैंकका सिनियर रजिस्ट्रार डा.विशाल कार्कीको अनुभवमा पनि भ्रमकै कारण प्रत्यारोपणले सोचेजति गति लिन सकिरहेको छैन। 'छाला काढ्ने वा निकाल्ने गलत शब्द प्रयोग गरिन्छ,' उनी भन्छन्, 'डर्माटोम नामको विद्युतीय मेसिनबाट नदेखिने भागको छालाको बाहिरी पातलो तहमात्र झिक्ने हो। जसबाट रगतसमेत बग्न वा घाउ बन्न पाउँदैन। तर, यहाँ त छाला पूरै निकाल्ने हो भन्ने बुझाइ छ।' उनका अनुसार एकजनाले दान गरेको छालाबाट ४० प्रतिशतभन्दा धेरै शरीर जलेका कम्तीमा दुईजना व्यक्तिलाई मृत्युको मुखबाट जोगाउन सकिन्छ।
केही तथ्य र कानुन
सरकारी अस्पतालको तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा वार्षिक ५६ हजार मानिस आगोले पोलिएर अस्पताल पुग्छन् । तीमध्ये २ हजार १ सय जनाको मृत्यु हुन्छ। महिला र बालबालिका नै धेरै हुन्छन् । खुला रूपमा आगो बालेर भान्सा गर्ने चलन मुख्य कारण बन्ने गर्छ।
स्किन बैंकका सिनियर रजिस्ट्रार डा. विशाल कार्कीका अनुसार शरीरको ४० प्रतिशतभन्दा बढी जल्नेहरूमा लगभग सबैको मृत्यु हुन्छ । विश्वमा एचआईभी र क्षयरोगभन्दा धेरै जलेर नै मृत्यु हुन्छ। अझ नेपालजस्ता देशमा त झन् क्षयरोग, एचआईभी र मलेरियाबाट मृत्यु हुनेको संख्या जोड्दा जलेर मृत्यु हुनेको बराबर रहन्छ । विश्व स्वास्थ्य संगठनले पोलिने समस्यालाई 'नेग्लेग्टेड' तर ठूलो समस्याका रूपमा लिन्छ । सन् २०१४ देखि सुरु भएको स्किन बैंकले पूर्व मुख्य न्यायाधीश भरतराज उप्रेतीको शरीरको छाला पहिलोपटक दानका रूपमा प्राप्त पुर्योप। गत वर्ष मृत्यु भएका चार जना व्यक्तिको शरीरको छाला प्राप्त भयो । त्यसबाट तीन जनाको ज्यान जोगिइसकेको छ । एक सयजना जतिले मरणोपरान्त छाला दान गर्ने प्रण गर्दै इच्छापत्र बुझाइसकेका छन् । हाल अस्पतालमा ३० प्रतिशतभन्दा धेरै पोलिएका सयभन्दा बढी बिरामी छन् । जसलाई छालाको अभावका कारण जोगाउनै मुस्किल छ भन्छन्, डा. कार्की । उनका अनुसार धेरैको ज्यान जानुको कारण गलत बुझाइ पनि हो । 'पोलिएपछि आधा घण्टा जति बग्ने पानीले घाउ भिजाएर तत्कालै अस्पताल पु¥याउनुपर्छ,' उनले भने, 'तर, पानीमा भिजाउनु हुन्नलगायत कुरा र ढिला अस्पताल पुग्ने कुराले घाउ झन् बढ्छ । जसले मृत्युको मुखमा पुर्या्उँछ।' उनका अनुसार पोलिएको बाहेक छाला संक्रमण भएको अवस्थामा पनि छाला प्रत्यारोपण गर्न सकिन्छ । छाला र रगतजन्य संक्रमण भएको अवस्थामा भने छाला दान गर्न मिल्दैन।
५ सय ६७ मा मिर्गौला सफल प्रत्यारोपण
हालसम्म नेपालमा ५ सय ६७ जनामा सफल मिर्गौला प्रत्यारोपण भएको छ । जसमध्ये सबैभन्दा धेरै त्रिवि शिक्षण अस्पतालमा ३ सय ३८ जना, मानव अंग प्रत्यारोपण केन्द्रमा १ सय १७ जना, वीर अस्पतालमा १ सय १० जना र कलेज अफ मेडिकल साइन्सेस, भरतपुरमा दुईजना रहेका छन् ।
त्रिवि शिक्षण अस्पतालकी चिकित्सक डा. दिव्यासिंह शाहका अनुसार अन्य रोगको शल्यक्रियामा जस्तो मिर्गौलामा सफल÷असफलको मापन गर्न मिल्दैन । मिर्गौला प्रत्यारोपण सफल भएपछिका वर्षहरूमा हेरेर यसलाई मापन गर्नुपर्ने हुन्छ । नेपालको सन्दर्भमा मिर्गौला प्रत्यारोपण सफल भएका बिरामीहरूमा नयाँ मिर्गौलाले एक वर्षको अन्त्यसम्ममा काम गर्ने सम्भावना ९६ प्रतिशत र पाँच वर्षको अन्त्यसम्ममा ८८ प्रतिशत सम्भावना रहन्छ । नेपालमा मिर्गौला प्रत्यारोपण सुरु भएको १० वर्ष पुगिनसकेकाले सफलता मापन गर्न नसकिने डा. शाह बताउँछिन्।
उनका अनुसार प्रत्यारोपणपछि उचित हेरचाह र औषधिको नियमित सेवन गर्ने व्यक्ति जति लामो समयसम्म पनि बाँच्न सक्छ । प्रत्यारोपणपछि ५०÷६० वर्षसम्म बाँचेका उदाहरण पनि संसारमा रहेको उनी बताउँछिन् । तर, प्रत्यारोपण गरेपछि स्वास्थ्य सतर्कतामा विशेष ध्यान दिन उनी सुझाव दिन्छिन् । उनका अनुसार प्रत्यारोपण गरेका बिरामीले प्रयोग गर्ने औषधिले रोगप्रतिरोधात्मक क्षमता ह्रास गराउने भएकाले खानपान, आनीबानीमा सुधार ल्याउन जरुरी छ ।
आँखाको नानी प्रत्यारोपण
आँखा बैंकको स्थापना भएपछि आँखा प्रत्यारोपण सेवाले निरन्तरता पाएको हो । आँखा बैँकले मानिसको मृत्युपश्चात् आँखाको नानी दान गर्ने दाताहरूबाट नानी संकलन, परीक्षण र सञ्चयलगायत काम गर्छ र आवश्यक परेका व्यक्तिलाई नानी उपलब्ध गराउँछ । बैंकले सुरुवाती दिनमा पशुपतिको आर्यघाटलगायत विभिन्न ठाँउमा गएर आँखा दानसम्बन्धी जनचेतना जगाई नानी संकलनको काम गथ्र्यो । अहिले बैंकले उक्त कार्यसँगै काठमाडौँमा रहेका तीनवटा ठूला अस्पताल वीर, त्रिवि शिक्षण र पाटन अस्पतालमा परामर्शदाताहरू खटाई नानी संकलन गरिरहेको छ ।
तिलगंगा आँखा प्रतिष्ठानमा रहेको आँखा बैंकले देशभरका आँखा अस्पतालमा आवश्यक नानी उपलब्ध गराउँदै आएको छ । नेपालमा हालसम्म ११ हजार जनाले आँखाको नानी प्राप्त गरेका छन् । यस्तै, बैंकमा अहिले ६३ हजार जना दाताले मृत्युपछि आँखाको नानी दान गर्ने प्रण गरिसकेका छन् । आँखाको नानी प्रत्यारोपण गरेका व्यक्तिले आजीवन आँखा देख्न सक्छन् । प्रत्यारोपण गरिएको आँखा पुनः अर्को व्यक्तिलाई समेत प्रत्यारोपण गर्न सकिन्छ।
प्रतिष्ठानले गत वर्षसम्म आँखाको नानी प्रत्यारोपण गर्ने सबैलाई निःशुल्क सेवा उपलब्ध गराउँदै आएको थियो । खर्च गर्न सक्नेबाट मात्र पाँच हजार रुपैयाँ लिन थालेको छ ।
नानी प्रत्यारोपण गर्न सकिने अवस्था
जन्मजात फुलो परेर वा आँखामा चोट लाग्दा समयमा नै उपचार नपाएपछि आँखाको नानीमा समस्या देखापर्छ । गाउँघरमा नानीमा लागेको चोटलाई अज्ञानको कारणले विभिन्न घरेलु वा अन्य परम्परागत उपायले उपचार गर्दा थप समस्या आउँछ र ज्योति नै गुम्छ । विशेषगरी किसान र मजदुर परिवारमा नानीमा चोट लाग्ने समस्या हुन्छ । धान काट्ने क्रममा धानको बालाले नानीमा दाग लाग्ने र दृष्टि नै गुम्ने खतरा बढी रहने गरेको तिलगंगाकी डा. लिना वज्राचार्य बताउँछिन् । यसको एकमात्र उपचार आँखाको नानी प्रत्यारोपणबाट पुनः दृष्टि दिलाउनु नै हो ।
के हो मस्तिष्क मृत्यु ?
मानव अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन– २०७२ मा मस्तिष्क मृत्युलाई मस्तिष्क स्टेम (ब्रेन स्टेम) को मृत्यु भनेर परिभाषित गरेको छ । यसअनुसार मस्तिष्क मृत्यु शब्दले मस्तिष्कको ग्रहण गर्ने र प्रतिक्रिया दिने क्रियाकलापमा अपरिवर्तनीय क्षति भएको अवस्थालाई जनाउँछ । यस्तै बिरामीको शरीरमा प्राकृतिक रूपमा श्वास–प्रश्वास नरहेको हुनुपर्छ । जसका लागि चिकित्सकले व्यक्तिको अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ । परीक्षणका लागि बिरामीको परिवारको सदस्यको लिखित स्वीकृति लिनुपर्ने बाध्यात्मक व्यवस्था छ । मस्तिष्क मृत्युको सुनिश्चितताको लागि एकपटक परिक्षण गरी फेरी छ घण्टापछि स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ। तर, रोग निदान नभएको, शरीरको न्यूनतम तापक्रम ३५ डिग्री सेल्सियसभन्दा कम भएको, न्यूनतम रक्तचाप सिस्टोलिक ९० मिलिलिटर मर्करीभन्दा कम भए, आन्तरिक ग्रन्थीमा असन्तुलन भए, बिरामी लट्ठ पार्ने औषधिको प्रयोगबाट मुच्र्छा परेको अवस्थामा चिकित्सकले बिरामीको मस्तिष्क मृत्यु भए÷नभएको परीक्षण गर्न पाउँदैनन्।
चिकित्सकहरूका अनुसार दुर्घटना, ब्रेन ह्यामरेज, स्ट्रोकका कारण मस्तिष्क मृत्यु हुने गर्छ । रोग तथा अन्य संक्रमणका कारण मृत्यु भएका व्यक्तिको अंगहरूमा पनि संक्रमण हुने भएकाले त्यस्ता व्यक्तिको सबै अंग निकाल्न असम्भव रहन्छ । केही अंगहरू भने परीक्षणमार्फत निकाल्न मिल्ने चिकित्सकहरू बताउँछन् ।
घोषणापछिका प्रक्रियाहरू
अंग प्रत्यारोपण विधेयकको दफा १२(घ)ले दुई पटकसम्म स्वास्थ्य परीक्षणबाट मस्तिष्क मृत्यु भएको देखिएमा त्यस्ता बिरामीको मृत्यु भएकै घोषणा गर्नुपर्ने उल्लेख छ । घोषणाअघि नै त्यसको विस्तृत विवरण परिवारका सदस्यलाई उपलब्ध गराउनुपर्नेछ । बेवारिसे बिरामीका हकमा भने जिल्ला प्रशासनलाई सूचना दिनुपर्ने व्यवस्था छ । परीक्षण र घोषणामा संलग्न हुने चिकित्सक एमबीबीएस गरेको, कम्तीमा पाँच वर्षको अनुभवी र नेपाली नागरिक हुनुपर्नेछ । मस्तिष्क मृत्युको घोषणा गर्ने र अंग प्रत्यारोपण गर्ने चिकित्सक अलग–अलग हुनुपर्नेछ । एउटा काममा संलग्न व्यक्ति अर्कोमा सहभागी हुन नपाउने व्यवस्था छ । यतिमात्र नभएर मृतकले जीवित छँदै आफ्नो शरीरको अंगदान नगर्ने लिखित इच्छा व्यक्त गरे परिवारका सदस्यले उसको शरीरको अंगदान गर्न नसक्ने व्यवस्थासमेत गरिएको छ ।
काठमाडौँमा मात्र वर्षमा एक हजार मानिसको मस्तिष्क मृत्यु हुने गर्छ । एक वर्षमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई हजार मिर्गौला, दुई हजार फोक्सो, एक हजार कलेजो, एक हजार मुटु, एक हजार प्यांक्रियाज र दुई हजार आँखाका नानी आवश्यक भएका व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ ।
'पेयर एक्सचेन्ज'को व्यवस्था
नयाँ ऐनले दुई वा दुईभन्दा बढी परिवारका सदस्यका नजिकका नातेदारले एक आपसमा मिलेर अंगदान गर्न सक्ने व्यवस्था गरेको छ। परिवारका नजिकको सदस्यको मिर्गौलालगायत अंग आफन्तलाई नमिलेमा वा म्याच नभएमा अर्को बिरामीको नातेदारको अंग मिल्न गएमा आपसमा साटफेर गर्न सक्ने व्यवस्था यो ऐनमा छ । अर्थात्, दुई वा यसभन्दा बढी परिवारले उनीहरूको नजिकको नातेदारको माध्यमले गरिएको अंगदान आपसमा साट्न सक्छन्। यसअन्तर्गत कुनै सदस्यलाई अंग प्रत्यारोपण गर्नुपर्ने अवस्थामा त्यस्ता परिवारका आफ्नो नजिकको नातेदार नमिली प्रत्यारोपण हुन नसक्ने अवस्था भएमा र त्यसरी प्रत्यारोपण गर्न खोजिएमा अंग अर्को परिवारको सदस्यसँग मिल्ने भएमा आपसी सहमतिका आधारमा लिखित रूपमा एकअर्काको परिवारका सदस्यले अंगदान गर्न सक्ने व्यवस्था गरिएको छ ।
नयाँ प्रावधानमा मस्तिष्क मृत्यु भएर अंगदान गरेपछि अंगदान गर्ने परिवार, अंगदान गर्ने केन्द्र र प्रत्यारोपण गराउने केन्द्रलाई सरकारले आर्थिक सहयोग गर्ने व्यवस्थासमेत छ।
नातेदारको दायरा बढ्यो
ऐनले नजिकको नातेदारको परिभाषा विस्तृत बनाएको छ । विगतमा थोरै नातेदारमा सीमित रहेकोमा नयाँ ऐनले नातेदारको संख्यालाई बढाएको छ। अब 'नजिकको नातेदार' भन्नाले सो व्यक्तिको 'छोरा, छोरी, आमा, बाबु, दाजु, भाइ, दिदी, बहिनी, काका, भतिजा, भतिजी, बाबुतर्फको बाजे, बज्यै, छोरातर्फको नाति, नातिनी, छोरीतर्फको नाति, नातिनी र विगत दुई वर्षदेखि अटुट रूपमा नाता–सम्बन्ध कायम रही आएको पति, पत्नी, धर्मपुत्र, धर्मपुत्री, सौतेनी आमा, सौतेनी बाबु र सासु, ससुरा' समेत भनेर परिभाषित गरिएको थियो । विधेयकमा भने यीसहित मामा, माइजू, भाञ्जा, साला, साली, फुपू, आमाजू, भदा, भदै, भिनाजु, ज्वाइँ र जेठानलाई पनि थपिएको छ ।
दुर्घटनामा मृत्यु भएकाको अंग निकाल्न मिल्ने
निश्चित व्यवस्था तोकी दुर्घटनाबाट मृत्यु भएका व्यक्तिको पनि अंग झिक्न सकिने व्यवस्था गरेको छ । दफा १६(क) मा शव परीक्षण गर्नुअघि अंग झिक्न सक्ने व्यवस्था छ । जसअनुसार, मृतकको दुर्घटनाबाटै मृत्यु भएको कुरामा समिति विश्वस्त भएमा समितिको स्वीकृतिमा शव परीक्षण गर्नुअघि शरीरबाट अंग झिक्न सकिने उल्लेख छ । त्यसैगरी अंग प्रत्यारोपण गर्ने निकायले पनि प्राथमिकता तोकी यस्तो प्रकृतिको मृतकबाट झिकिएको अंग पाउनेहरूको सूची बनाउनेछ । प्राथमिकताक्रमअनुसार व्यक्तिलाई अंग वितरण गरिनेछ।
सजायमा छुट
ऐनको दफा २४ मा मानव अंग प्रत्यारोपणको अपराध र दण्डसजायको व्यवस्था छ । जसअनुसार, प्रक्रिया नपु¥याई र इच्छाविपरीत अंग झिकेमा अपराध मानिन्छ । 'यसरी अंग झिकिने व्यक्ति सोही कारणले तीन महिनाभित्र मरेमा त्यस्तो अपराध गर्ने व्यक्तिलाई सर्वस्वसहित जन्मकैद हुनेछ' भन्ने व्यवस्था रहेको प्रावधानलाई संशोधन गरेर सजाय जन्मकैदमा सीमित गरी सर्वस्वसहितको भन्ने व्यवस्था झिकिएको छ । कम सजायको व्यवस्थाबाट मानव अंग प्रत्यारोपणको अपराधमा संलग्न हुनेको मनोबल बढ्ने देखिन्छ ।
आठ व्यक्तिले नयाँ जीवन पाउने
ऐनले हजारौँ नेपालीको ज्यान बचाउनुका साथै अंग प्रत्यारोपणका लागि विदेशिएर लाखौँ रुपैयाँ खर्च गर्नुपर्ने परिस्थितिलाई सहज बनाएको छ । चिकित्सकहरूका अनुसार 'ब्रेन डेथ' भएका एक जनाका सबै अंग उपयुक्त तरिकाले प्रयोगमा ल्याउन सकिए आठजना बिरामीलाई नयाँ जीवन दिन सकिन्छ । अंगदानको घोषणा गरेका व्यक्ति सडक दुर्घटना, ब्रेन ह्यामरेज, स्ट्रोकलगायत रोगबाट मृत्यु भई पोस्टमार्टम गर्नु नपर्दा मुटु, फोक्सो, मिर्गौला, आँखाको नानी, कलेजो, प्याङ्क्रियाज, सानो आन्द्रालगायत संवेदनशील अंग झिकेर अन्य व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । तथ्यांकअनुसार काठमाडौँ उपत्यकामा मात्रै बर्सेनि एक हजार मानिसको सडक दुर्घटना, ब्रेन ह्यामरेज लगायतबाट मृत्यु हुने गरेको छ । हरेक वर्ष औसत २७ सयजना नेपालीको मिर्गौला प्रत्यारोपण गर्न नसकेर मृत्यु भइरहेको छ । एक हजारभन्दा बढी नेपालीको कलेजो फेर्न नपाएर मृत्यु हुने गरेको छ ।
मानव अंग प्रत्यारोपण केन्द्रसँगै त्रिवि शिक्षण अस्पतालले समेत कलेजको प्रत्यारोपणका लागि आवश्यक तयारी अगाडि बढाएका छन् । तर, मुटु र प्याङ्क्रियाजका लागि अझै केही समय लाग्ने बताइन्छ । मुटुमा भल्भको प्रत्यारोपण भने हुने गर्छ । हड्डीको भने बिरामीको आन्तरिक प्रत्यारोपण भइरहेको छ । ऐन आएपछि हड्डी बैंकको स्थापना गरी प्रत्यारोपण कार्य अगाडि बढाउन सकिने चिकित्सकहरूले बताएका छन् ।
कति समयमा झिक्नुपर्ने र कतिसम्म टिक्छ ?
पूर्ण रूपमा मृत्यु भइसकेपछि मात्र छालाको बाहिरी पत्र र आँखाको नानी झिक्नुपर्छ । तर, मिर्गौलालगायत अंग भने मस्तिष्क मृत्युलगत्तै झिक्नुपर्छ। मृत्युको तीन घण्टाभित्र झिकिसक्नुपर्ने छाला पाँच वर्षसम्म सञ्चित गर्न सकिन्छ । कीर्तिपुर अस्पतालका अनुसार मृत्युको खबर पाएलगत्तै डाक्टरसहितको टोली घरमै वा अस्पतालमा पुगिसक्छ। धार्मिक आस्था र प्रक्रियामा बाधा नपुग्ने गरी ४५ मिनेटमै छालाको बाहिरी पत्र झिक्ने काम सम्पन्न भइसक्छ। आँखाको केसमा भने गर्मीमा आठ घण्टा र जाडोमा १५ घण्टाभित्र आँखाको कोर्निया अर्थात् नानी झिक्नुपर्छ। त्यसलाई १४ दिनसम्म सञ्चित गर्न सकिन्छ । नानी झिक्न कुनै पनि टेस्ट गर्नुपर्दैन । तर, रिजेक्ट हुन सक्ने सम्भावना रहन्छ । रक्त सञ्चार भएन भने आँखाले त्यो नानी नलिएको बुझ्नुपर्छ । दुवै आँखा नदेख्ने, युवा उमेरका र दुर्गमतिरका बिरामीले आँखाको नानी प्राप्त गर्ने प्राथमिकता पाउँछन् ।
लाग्ने खर्च
आँखा प्रत्यारोपण गर्दा पाँच हजार रुपैयाँ लिइन्छ । आर्थिक अवस्था हेरेर निःशुल्क पनि हुन्छ । यस्तै, छाला प्रत्यारोपणमा दुईदेखि तीन लाख रुपैयाँ खर्च लाग्छ । गहिरो र सतही पोलिएकोमा फरक–फरक अपरेसन र खर्च लाग्छ । यसमा पनि अपांग र ओठतालुमा प्रत्यारोपण हुने बच्चालाई निःशुल्क व्यवस्था छ। मिर्गौला प्रत्यारोपणमा आर्थिक अवस्था हेरेर निःशुल्क जस्तै छ भन्छन्, डा. पुकारचन्द्र श्रेष्ठ । 'अपरेसनमा सरकारी अनुदान दुई लाख र औषधिमा एक लाख गरेर तीन लाख पाउँछन्,' उनले भने, 'यसमा पनि पुरुषले महिलालाई गरे ५० हजार रुपैयाँ थप पाउँछन्। यति गर्दा गरिब जनताले लगभग निःशुल्क सेवा पाएका छन् ।' उनका अनुसार अनुदानका लागि जिल्ला जनस्वास्थ्य कार्यालयको सिफारिस आवश्यक पर्छ।
भारतको भन्दा 'पाँच गुणा' कम रुपैयाँमा सहजै मिर्गौला प्रत्यारोपण सम्पन्न गर्न सकेको बताए, पटनाका श्यामकुमार तिवारीले । उनकी ४१ वर्षीया श्रीमतीलाई उनले मिर्गौला दिएर जोगाए । मानव अंग प्रत्यारोपण केन्द्रमा उनीहरूको प्रत्यारोपण भएको हो । 'हाम्रो देशमा १७ लाख जति आईसी खर्च हुन्थ्यो,' उनले भने, 'पाँच गुणा कम खर्चमा यहाँ सजिलै भइदियो । दलालको कुनै डर भएन । हामी एकदम खुशी छौँ । नेपालीहरू यो मानेमा भाग्यमानी छन् ।'
प्रकाशित: २५ माघ २०७२ ०२:२६ सोमबार





