कुनै पनि परिवार नियोजनका साधन नअपनाई नियमित सहवासपश्चात् पनि दुई वर्षभित्र गर्भधारण हुन नसकेको अवस्थालाई निःसन्तान मानिन्छ । सन्तान हुन नसक्नुमा महिला तथा पुरुष दुवै समान रूपमा जिम्मेवार मानिन्छन् । कहिलेकाहीँ दुवैमा खराबी नहुँदानहुँदै पनि गर्भ रहन कैयौँ वर्ष लाग्न सक्छ । किनभने, गर्भ रहनु भनेको एउटा आकस्मिक घटना हो । स्वस्थ हुँदाहुँदै पनि पुरुषको शुक्रकीटले महिलाको अण्डा भेट्ने अवसर नपाएको हुन सक्छ । स्त्री राग रस वा पुरुष राग रसको कमीका कारण यस्तो हुन सक्छ ।
कतिपय अवस्थामा महिनावारी भएको समय र सहवासको समय नमिलेका कारण पनि सन्तान नहुन सक्छ । युवाहरू विवाह गर्नासाथ रोजगारीका लागि विदेश गएका हुन्छन् । दुई महिनाको बिदामा आएको समयमा घर परिवारबाट बच्चा पाउने दबाब हुन्छ । छोटो समयमै सन्तानको इच्छाका कारण तनाव पर्दा सन्तान जन्माउन सकेका हुँदैनन् । श्रीमान्–श्रीमती दुवैमा कुनै खराबी नभए पनि तनावका कारण समस्या उत्पन्न हुन्छ । कतिपयले उपचारका क्रममा भन्ने गरेको पाइन्छ, 'विवाह गरेको चारपाँच वर्ष भयो, सन्तानभएको छैन ।'
यस्ता समस्या लिएर आउनेका लागि ओम अस्पतालले शुक्रकीट फ्रिज गरेर उपचार गर्ने गरेको छ । श्रीमान्को शुक्रकीट जम्मा गरेर राख्ने र श्रीमान् विदेश गइसकेपछि पनि श्रीमतीको पाठेघरमा राखी उपचार गर्ने गरिन्छ । तर, यस्तो अवस्थालाई हाम्रो समाजले श्रीमान् विदेशमा भएको समयमा पनि कसरी गर्भवती भएको भनेर नकारात्मक दृष्टिले हेर्ने चलन छ । यसमा जनचेतना जगाउन जरूरी छ । श्रीमान्को शुक्रकीट नै श्रीमतीको पाठेघरमा राखिएको हुन्छ ।
'विदेशमा काम गर्न जाने कामदारमा शुक्रकीट उत्पादनमा ५० प्रतिशतसम्म कमी भएको हुन्छ । किनभने, त्यहाँको उच्च तापक्रमले यस्तो हुन सक्छ । विशेषगरी खाडी मुलुकमा काम गर्न जाने कामदारमा यस्तो समस्या देखिने गरेको छ । शुक्रकीट सामान्य अवस्थामा फर्कन करिब तीन महिना लाग्ने गर्छ । त्यस समयसम्म उनीहरू पुनः रोजगारीका लागि फर्किनुपर्ने हुन्छ । त्यसकारण पनि सन्तान चाहेको समयमा हुन सकेको हुँदैन । उनीहरूका लागि आईयूआई प्रविधिबाट उपचार गर्नुपर्ने हुन्छ । यस विधिद्वारा ओम अस्पतालमा करिब दुई हजारले सन्तान जन्माएका छन् ।
पुरुषमा सन्तान नहुने कारण
– वीर्यमा शुक्राणुको संख्या वा गतिमा कमी
– वीर्यमा शुक्रकीट उत्पादन नहुनु ।
– वीर्यमा संक्रमण
– शुक्राणुको बनावटमा खराबी
– हर्मोनमा गडबडी
– पुरुष कुनै कारणवश सहवास प्रक्रियामा असमर्थ हुनु
– शुक्रनली वा अन्य भागमा केही अवरोध भएमा ।
महिलामा सन्तान नहुने कारण
– अण्डाशयमा अण्डा नबन्ने अथवा थुपै साना–साना डिम्ब बने पनि नबढ्ने ।
– पाठेघरको नली पूरा बन्द भएमा, पिप या पानी जमेमा या अण्डा पकडिने काम नगरेमा ।
– पाठेघरको झिल्ली क्षय रोग अथवा कुनै कारणबाट पातलो हुनु ।
– हर्मोनमा गडबडी ।
– पाठेघरको झिल्लीमा मासु बढ्नु ।
– गर्भाशयको मुख ज्यादै सानो हुनु ।
महिलामा गर्नुपर्ने जाँच
– पाठेघरको झिल्लीमा क्षय रोग भएको हो या होइन ।
– महिनावारी भएको दोस्रो वा तेस्रो दिनमा हर्मोनको जाँच ।
– रगतको सामान्य जाँच
– भित्री अल्ट्रासाउन्डद्वारा अण्डाको जाँच
– दुरबिन प्रविधिद्वारा पाठेघरको भित्री भाग तथा नलीको जाँच
– सहवासपश्चात् शुक्रकीटको जाँच
पुरुषमा गर्नुपर्ने जाँच
– रगतको सामान्य जाँच
– वीर्यको विशेष जाँच
– आवश्यकताअनुसार टेस्टिकुलर बायोप्सी गर्ने
– हर्मोनको जाँच
सबै किसिमको जाँचपश्चात् नै कुनै निष्कर्षमा पुग्न सकिन्छ । त्यसपछिमात्र उपचारको विधि अपनाउनुपर्छ ।
उपचार विधि
– सबै जाँचपश्चात् श्रीमान्–श्रीमतीको सामान्य उपचार गर्ने
– आर्टिफिसियल इन्सेमिनेसनविद पार्टनर्स स्पर्म
– आर्टिफिसियल इन्सेमिनेसनविद डोनर्स स्पर्म
– टेस्टट्युब बेबी
– आईएभीएफविद डोनर स्पर्म
– एग डोनेसन
– सिमेन एन्ड एम्ब्रियो बैंक
– डोनर एम्ब्रियो ट्रान्सफर
– इन्ट्रासाइटोप्लाज्मिक स्पर्म इन्जेक्सन
सामान्य उपचारअन्तर्गत महिनावारी भएको तेस्रो दिनबाट अण्डा बन्ने औषधि दिएर महिनावारी भएको नौ दिनबाट 'ट्रान्सभ्यागिनल सोनोग्राफी'बाट अण्डा बनेको गतिविधि हेरिन्छ । कसैकसैलाई हर्मोनको इन्जेक्सन पनि दिनुपर्ने हुन्छ । अण्डा फुटेपछि प्राकृतिक सहवासको सल्लाह दिइन्छ र यसबाट गर्भधारण गर्ने अवसर बढ्न जान्छ ।
आईयूआई प्रविधिमा महिनावारी भएको दोस्रो दिनबाट अण्डा बन्ने औषधि दिएर नौ दिनबाट टीभीएसबाट अण्डा बनेको गतिविधि हेरिन्छ । कसैकसैलाई हर्मोनको इन्जेक्सन पनि दिनुपर्ने हुन्छ । महिनावारी भएको १४–१५ दिनमा जब अण्डा फुट्छ तब श्रीमान्को वीर्य संकलन गरी आईभीएफ मिडियामा हेरेर मसिनो नलीको माध्यमबाट श्रीमतीको पाठेघरमा राखिन्छ । यो प्रक्रिया पीडादायक हुँदैन । यसमा बिरामीलाई अस्पताल पनि भर्ना हुनुपर्ने आवश्यकता पर्दैन ।
श्रीमान्को वीर्य संख्या निकै कम भएको या शुक्राणुको अभाव भएको अवस्थामा श्रीमान्–श्रीमती दुवैको सहमति बमोजिम दाताको शुक्राणु लिएर यो प्रविधि अपनाइन्छ । आईयूआई प्रविधिका लागि पाठेघरको एउटा नली भए पनि खुल्ला भएको हुनुपर्छ र पाठेघरको झिल्ली पनि स्वस्थ हुनुपर्छ । यदि महिलाको पाठेघरको दुवै नली बन्द भएमा, नलीहरू शल्य क्रियाद्वारा निकालिएमा, छपटकसम्म आईयूआई सफल नभएमा, बाँझोपनको कुनै कारण पत्ता नलागेमा आईभीएफ (टेस्टट्युव बेबी) विधि अपनाइन्छ । सर्वप्रथम निःसन्तान हुनुको कारण निक्र्याेल गर्नु जरुरी हुन्छ ।
प्रकाशित: २३ माघ २०७२ ०१:२२ शनिबार

