१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

५८०

''आजदेखि तिम्रो नाम ५८०।'' मोटो कालो फ्रेम भएको चश्मा, सेतो कपाल र छोटो कदका छत्रराज शाक्य सरले मलाई २०५२ फाल्गुण महिनामा बूढानीलकण्ठ स्कूलको विशाल चौर अगाडि भनेका ती शब्दहरु आजै जस्तो लाग्छ।

यो ५८० चाहिँ किन नि? मलाई धेरैले यो प्रश्न गर्छन्। मेरो इमेल, ट्विटर र अन्य थुप्रै व्यक्तिगत ठेगानामा मैले प्रयोग गर्ने गरेको छु। ५८० मेरो जीवनको अभिन्न अँग बन्न पुगेको छ।

बेलायत सरकारले सन् १९७२ मा स्थापना गरेको बूढानीलकण्ठमा हरेक वर्ष देशैभरिबाट छानिएर कक्षा ५देखि एसएलसीसम्म पढ्ने अवसर दिइन्छ। सन् १९७२ को पहिलो ब्याचदेखि नै स्कूलले विद्यार्थीलाई आफ्नो थर लेख्न पूर्ण निषेध लगायो। फलस्वरुप हरेक वर्षका कक्षालाई ००० देखि ९००।०० सम्मको नम्बरले चिनिन्छ। अनि मेरो क्लास चाहिँ ५००।० सी।

मैले धेरैपछिसम्म स्कूलमा आफ्नो हितैषी साथीका थर थाहा पाइन र थाहा पाउने शायद कोशिस पनि गरिन। बेलायत सरकारले आजभन्दा ४३ वर्षअघि नेपालको जातीय विभेदलाई बुझेर विद्यार्थीबीच सोको प्रभाव अन्त्य गर्ने प्रयास आजसम्म बूढानीलकण्ठमा जारी छ।

म गोरखाको विकट गाउँको पण्डित परिवारको छोरो। हजुरबाले मेरो ब्रतबन्ध नहुन्जेल मलाई भान्सामा छिर्न पनि निषेध गर्नुहुन्थ्यो। पानी पँधेरोमा कथित तल्लो जातका साथीभाइ छोएर पानी भर्ने कल्पना पनि गर्न सकिँदैनथ्यो मेरो बाल्यकालमा।

दश वर्षको उमेरमा बूढानीलकण्ठ स्कूल प्रवेश गर्दा मेरो गाउँले अनुभव मसँगै थिए। मैले शुरुका केही महिनामा केही साथीहरुको लहडमा जातमा सिनियर दाइहरु भन्दा अगाडि खाना खाने आँट पनि गरेँ। आवासीय स्कूलमा एक अर्का जुनियर सिनियर बारेमा आन्द्रा भूँडी थाहा पाइन्छ। शायद त्यसरी नै हामीले कथित तल्लो र माथिल्लो जातका साथीभाइका बारेमा थाहा पायौँ। र आफ्नो पृष्ठभूमीको अनुभव अनुरुप व्यवहार गर्यौँ।

आज ती अनुभव र आफ्नो व्यवहार अचम्म लाग्छ। अनि एकछिन ग्लानीबोध हुन्छ। एउटा दश वर्षको गाउँले केटाको मष्तिष्कमा हाम्रो सामाजिक परिवेशले जातीय भेदभावलाई कति गहिरो प्रभाव पारेको हुन्छ?

अनि विद्यालयको उचित वातावरणले त्यही बालकको अुनभव र दृष्टी कति छिटो परिवर्तन हुन्छ भन्ने म आफै उदाहरण हुँ। बूढानीलकण्ठमा पढाइ शुरु गरेको केही महिनामा न हामीलाई कसैको जात सम्बन्धी केही हेयभाव पैदा भयो न त त्यस किसिमको व्यवहार नै।

बूढानीलकण्ठले पचहत्तरै जिल्लाका विद्यार्थीलाई आआफ्नो कला, सँस्कृति र परम्पराबारे लेख्ने, बोल्ने अनि प्रदर्शन गर्ने अनगिन्ति अवसर दिन्छ। आफ्नो आवासीय भवनको साँस्कृतिक कार्यक्रम होस् या विभिन्न गीत प्रतियोगिता, त्यहाँ देश झल्किएकै हुन्छ। मैले त्यसरी नै जीवनको अमूल्य दश वर्ष बिताएँ सो स्कुलमा।

भर्खरै बूढानीलकण्ठ स्कूलमा भएको एउटा कार्यक्रममा मैले त्यहाँका विद्यार्थीलाई आफ्नो नाम र रोल नम्बर मात्र लेख्ने परम्परालाई सुनौलो अवसरका रुपमा लिई देशमा भइरहेको जातीय, भाषिक र क्षत्रीय द्न्द्वलाई मल्हम लगाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएको थिएँ। त्यहाँ पढ्दा हामीले रोल नम्बर सिस्टमको खासै गहन मन्थन गरेनौँ। हरेक भेषभूषा,कला,जात,धर्म र सँस्कृतिले गमक्क फुलेको छ। सो विद्यालयमा प्रचलित परम्पराले आजको हाम्रो राजनैतिकमन्थनमा एउटा योगदान दिन्छ नै।

शायद त्यही शिक्षाले होला मलाई अमेरिकादेखि युरोपको करिब एक दशकको बसाइमा विभिन्न जाति र रँगका साथीभाइसँग घुलमिल हुन सँगै पढ्न र काम गर्न कहिल्यै असजिलो भएन। जातीय सद्भाव र सम्मान अनि विविधतालाई सेलिब्रेट गर्ने परम्पार हृदयदेखि नै ुुप्रष्फुटितुु हुन्छ मभित्र।

पण्डितको छोरो होस् या विश्वकर्माको, अरबपतिको छोरी या दर्जीका बूढानीलकण्ठमा सँगै बसियो, खाइयो र पढियो। आज मलाई ती अनुभवले धनी बनाएका छन्। देशमा बढ्दै गइरहेको क्षत्रीय र जातीय द्न्द्वमा आफनो देशभरिका विभिन्न रँग र पृष्ठभूमीका साथीहरुको याद आउँछ। आँखा रसिलो हुन्छ।

करिब ७० वर्षपछि नेपालीले आफ्नो सँविधान आफैले लेखेका छन्। यो ऐतिहासिक उपलब्धी तराई मधेशमा भइरहेको आन्दोलन र भारतीय नाकाबन्दीले नराम्ररी ओझेलमा परेको छ। विडम्बना, ओली सरकारको सयदिन नाघ्दा समेत गहनतापूर्वक समस्या समाधान गर्नेतर्फ पहल भएको देखिदैन। अझ केही हप्तामा भारत भ्रमण गरी आफ्नो सत्ता टिकाउन मोदीको आशीर्वाद लिन चाहन्छन्। आन्दोलनको शुरुका महिनामा मधेश समुदाय र तराइमा भइरहेको आन्दोलनलाई उखान टुक्काले उडाइदिए र आफूलाई एन्टी मधेशीको पगरी गुथे।

विभिन्न समुदाय र जातजाति बीच कायम सद्भाव र सहकार्यमा सम्भावित दरारले विकासमा ब्रेक मात्र लगाउँदैन, यसले अतिवादीलाई विस्तारै भूमिका पनि दिन्छ। देशको लगभग ७० प्रतिशत जनसंख्या १८ देखि ४० वर्षको बीचमा छ। यी युवालाई आफ्नो जात र धर्मभन्दा उचित शिक्षा र रोजगारीको चिन्ता बढी छ। तराईका कैयन् युवाहरु आज रोजगारीका निम्ति खाडी पुगेका छन्।

हाम्रा युवा देश बनाउन उत्सुक छन्। एक अर्काको संस्कृति र परम्परा सेलिब्रेट गर्छन्। अर्काको चाडपर्व आफ्नै ठान्छन्। म राईको साकेलादेखि नेवारको म्हः पूजा अनि गुरुङको ल्होसार उत्सुकतापूर्वक प्रतीक्षा गर्छु हरेक वर्ष। यी पर्वले बाल्यकालदेखि सँगै हुर्केका साथीभाइ र उनीहरुका परिवारसँगको सम्बन्ध अझ गहिर्याउने मौका दिन्छन्। आफूले मनाउने दशैँ तिहारमा प्राय स्वदेशी र विदेशी साथीहरुलाई सहभागी गराउँछु।

यस्ता परम्परा आज राजनैतिक र क्षत्रिय भूमरीमा पर्नु हाम्रो वियोग हो। बरु मलाई त्यही ५८० नै मनपर्छ र कहिलेकाहीँ लाग्छ, सारा देशलाई एक एक रोल नम्बर किन नदिने?

प्रकाशित: २२ माघ २०७२ २१:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App