७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

'जिउन झन् गाह्रो छ !'

काठमाडौं– सहिद भएर जानेहरू हो – जिएर त हेर जिउन झन् गाह्रो छ! भूपी शेरचनका कविताको पंक्तिजस्तै छ नारायण श्रेष्ठको जिन्दगी । विगत डेढ दशकदेखि सिफल क्षेत्रमा मजदुरी गर्दै आएका श्रेष्ठ ग्यासका सिलिन्डर बोकेर घर–घरमा पु¥याउने गर्छन् । तर पछिल्लो समयमा देखिएको ग्यासको अभावसँगै जिउन समस्या पर्न थालेको उनी सुनाउँछन्।राणाशासनविरुद्धको लडाइँमा विसं १९९७ माघ १३ गते सहादत प्राप्त गरेका सहिद धर्मभक्त माथेमाको सहादतस्थल नजिकै रित्तो साइकल गुडाउँदै गरेका ६७ वर्षीय श्रेष्ठले यस्तै अवस्था रहे जिउन झनै गाह्रो हुने प्रतिक्रिया दिए ।

'नाकाबन्दीका कारण विगत चार महिनादेखि छाक टार्न समेत समस्या परेको छ,' उनले भने, 'आम्दानी छैन, बजारमा सामान मंहगो छ ।' उनको जस्तै समस्या राख्छिन् कमलादेवी श्रेष्ठ । सहादतस्थलको ठिक दक्षिणतिर रहेको उनको घरबाट धर्मभक्त माथेमाको सालिक प्रस्ट देखिन्छ । ग्यास सकिएर दाउरामा खाना बनाउँदै गरेकी कमलादेवी सहिदको सपना खेर गएको सुनाउँछिन् । 'उहाँहरुले देश र जनताका लागि जीवन बलिदान गर्नुभयो,' उनले भनिन्, 'अहिले न देशको हाल ठिक छ न जनताको अवस्था राम्रो छ ।'

ग्यास र दाउराको लाइनमा जिन्दगी गुजार्नुपर्ने अहिलेको अवस्था निकै दुःखदायी रहेको उनले सुनाइन् ।

देश र जनताको लागि जिवन आहुति दिने वीर सहिदको सम्झनामा सहिद सप्ताह मनाइँदै गर्दा मुलुक संकटमा छ, सर्वसाधारण चरम अभावमा छन् । कोही तेलको लाइनमा उभिएका छन् त कहिले ग्यासको लाइनमा अडिएका छन् । दिनभर इन्धनको लाइनमा बस्न विवश सर्वसाधारण साँझ घर पुग्दा भने लाइन ‐बिजुली) पाउँदैनन् । उनीहरुका दिन र रात दुवै अँध्यारो हुने गरेको छ । दुःखजिलो गरेर गुजारा चलाउँदै आएकालाई यतिबेला बाँच्नै समस्या परेको छ ।

टेकुमा रहेको शुक्रराज शास्त्रीलाई झुन्ड्याइएको खरीको रुखछेउ बदाम बेच्दै गरेकी अम्बिका बस्नेत हिउँदमा पात झरेको रुखले पालुवा हाल्ने गरे पनि आफ्नो जीवनमा आशाको पालुवा कहिल्यै नपलाएको सुनाउँछिन् ।

भूकम्पले दोलखा फस्कुमा रहेको घर भत्काएको छ । नाकाबन्दीले राजधानीमा बाँच्न समस्या पारेको छ । आर्थिक अभावका कारण सन्तानले राम्रो शिक्षा हासिल गर्न सकेनन् । अब उनको साहरा यही बदामको दाना भएको छ । 'यसैबाट सबै खर्च जुटाउने गरेको छु,' उनले भनिन्, 'दुःख गरेर कमाएको पैसाले पनि चाहिएको सामान किन्न नपाउँदा झनै दुःख लाग्छ ।'

उनी आफूअगाडिको खरीको बोटमा देशको झन्डा देख्छिन् । यही रुखमा शास्त्री सहिद भएको पनि उनलाई थाहा छ । सहिदको सम्मानमा वर्षमा एकदिन रुखमा आएर माल्यार्पण गरेको उनी देख्छिन् । 'वर्षमा एकपटक मन्त्रीहरु आउँछन्, फूलमाला चढाउँछन् जान्छन्,' उनले भनिन्, 'हामीले चुनावाका बेला नेता देखेजस्तो खरीको बोटले पाएको सम्मान पनि यत्ति हो ।'

काठमाडौंको शोभाभगवतीस्थित दशरथ चन्द र गंगाला श्रेष्ठको सालिकछेउको अवस्था पनि उस्तै छ । शोभाभगवती मन्दिरका ७४ वर्षीय पुजारी लक्ष्मण कपाली सहिदको बलिदानी खेर गएको सम्झन्छन् । 'उहाँहरुलाई गोली हान्दा मेरो आमा यो मन्दिरमा काम गर्नु हुन्थ्यो,' उनले भने, 'आमाले त्यतिबेलाको अवस्था वर्णन गर्दा सहिदप्रति श्रद्धाभाव बढेर आउँछ ।' सहिदले देशका लागि छाती थापेर गोली खाए पनि मुलुक बनाउन अहिले कोही लागिनपरेको उनको गुनासो छ । 'आमाको समयभन्दा अहिले झनै अभाव रहेको महसुस गर्दैछु,' उनले भने, 'अहिले पैसा तिरेर पनि सामान किन्न पाइएको छैन ।'

यस्तो छ सहादत स्थल

भनिन्छ– सहिदले देखाएको बाटो हिँड्नू । सिफल ओरालोमा रहेको धर्मभक्त माथेमाको सालिक भने बाटो विस्तारक्रममा हटाएर केही पर सारिएको छ । बाटो फराकिलो पारिएको छ । यही बाटो तेलको लाइन लागेका सवारी र ग्यासको लाइन लागेका सिलिन्डरले साँघुरिएको छ ।

'सहिदको प्रतिमा सहादतप्राप्त गरेको स्थलभन्दा केही पर सारिएको छ,' कुलबहादुर पौडेल भन्छन्, 'यस्तो लाग्छ, सहिदलाई लुकाइएको छ ।' सहादतस्थललाई पर्यटकीय स्थलको रुपमा विकसित गर्नुपर्ने उनको बुझाइ छ । राणाहरुले १९९७ माघ १३ गते सिफलमा बकैनाको रुखमा झुन्ड्याएर हत्या गरेका थिए ।

समाजसेवी रमेश महर्जन सहादतस्थलको जगेर्नाका लागि महानगरपालिकमा बारम्बार ताकेता लगाए पनि त्यसको सुनुवाइ नहुने गरेको सुनाउँछन् । 'हरेक वर्ष आश्वासन दिइन्छ तर त्यो पूरा नहुँदै कार्यकारी फेरिन्छन्,' उनले भने, 'त्यसैले यो ओझेलमा परेको छ ।' यो क्षेत्रमा हरियाली पार्क बनाउने योजना रहेको उनले सुनाए ।

शुक्रराज शास्त्रीलाई झुन्ड्याइएको टेकुमा रहेको खरीको बोटको अवस्था उस्तै छ । सहिद सप्ताहको अवसर पारेर खरीको बोटलाई केही रंगाइएको छ । त्यसमा फूल बाँधिएको छ । खरीको बोटको मास्तिर नेपालको झन्डा टाँगिएको छ । तलतिर सानो सिलालेख छ । वरिपरि सवारीको भिड देखिन्छन् । कोलाहल छ । यसलाई व्यवस्थित बनाउने कुनै योजना देखिन्न ।

प्रजातन्त्र प्राप्तिका लागि भएको क्रान्तिका क्रममा विसं १९९७ सालमा सबैभन्दा पहिले यहाँ शुक्रराज शास्त्रीलाई माघ १० गते खरिबोटको रुखमा झुन्ड्याएर राणाशासकले हत्या गरेका थिए । धेरैलाई त यो बोट के हो, किन राखिएको भन्ने पत्तो पनि छैन । 'कुनै पवित्र रुख होला, त्यसैले त यहाँ फूल देखिन्छ,' बस कुर्देै गरेका नवराज सिवाकोटीले भने, 'यसबारे अरू केही थाहा छैन ।'

सहिद शुक्रराजबारे जानकारी राखेका उनलाई यही बोट हो भनेर भन्दा अचम्ममा परेका थिए । 'यस्तो ठाउँमा त सजिलै जानकारी हुने केही राख्नुपर्ने नि,' उनले सुझाए । शोभा भगवती मन्दिरनजिकै रहेको सहिद दशरथ चन्द र गंगालाल श्रेष्ठको सहादतस्थलको अवस्था त झनै नाजुक छ । सहिदद्वयको प्रतिमाको पूर्वतर्फ विष्णुमती दुर्गन्धित छ, अगाडि रहेको निर्मल तीर्थ फोहरले भरिएको छ । राणाशासनको विरोध गरेकै निहुँमा तत्कालीन राणाशासकले विसं १९९७ साल माघ १५ गतेका दिन उनीहरुलाई मृत्युदण्ड दिएको यो स्थान पनि गुमनामजस्तै देखिन्छ ।

सहिद गंगालाल प्रगति क्लबका अध्यक्ष देवरत्न डंगोल चाँडैै यस ठाउँमा केही सुधार हुने सुनाउँछन् । 'हामीले योजना बनाएर माथिल्लो निकायमा पठाएका छांै,' उनले भने, 'अहिलेको स्थितिभन्दा केही सुधार होला भन्ने आशा लिएका छौं ।'

काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ पर्याप्त ठाउँको अभावमा सहादतस्थल व्यवस्थित बनाउन नसकिएको सुनाउँछन् । टेकुको खरी बोटमा ठाउँको अभावका कारण केही गर्न नसकिएको बताउँदै उनले सिफल र शोभाभगवतीमा यस वर्ष केही काम गर्ने उनले बताए ।

प्रकाशित: १५ माघ २०७२ २१:४५ शुक्रबार