सरकारी पक्ष र उनीहरुको बहस नोटपछि अदालतले आफ्नो अन्तिम फैसला सुनाउने छ।
व्यक्ति हत्या र अपहरणसम्मको आरोप लागेका गुन्डा नाइकेविरुद्ध दायर भएको यो नै पहिलो र अन्तिम मुद्दा हो। विभागले लामासँग २७ करोड १ लाख अवैध सम्पत्ति रहेको दाबी गर्दै मुद्दा दायर गरेको थियो। अर्का डन मनाङेसँग १४ करोड ७३ लाख रुपैयाँ बराबरको स्रोत नखुलेको अवैध सम्पत्ति रहेको दाबी गरिएको थियो। एमाले कार्यकर्ता बस्नेतसँग ११ करोड ४१ लाख, चक्रे मिलनसँग ७ करोड ८ लाख र गिरीसँग २ करोड ९४ लाख अवैध स्रोतबाट आर्जन गरेको सम्पत्ति रहेको विभागको आरोपपत्रमा दाबी गरिएको थियो।
लामा भौतिक योजनामन्त्री विजयकुमार गच्छदारको पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्›ीय सदस्य हुन्। पर्शुराम बस्नेत एमाले युवासंघका कार्यकर्ता हुन्।
सम्पत्ति शुद्दीकरण विभागले आपराधिक पृष्ठभूमि भएका अन्य व्यक्तिबारे पनि अनुसन्धान भइरहेको भने पनि हालसम्म मुद्दा दायर गरेको छैन। विभागले विदेशी र स्वेदशी कम्पनी र व्यापारीमाथि अनुसन्धान गरिरहेको भए पनि पहिल्ला वर्ष नयाँ मुद्दा दायर हुन सकेको छैन।
अवैध धन्दावाट आर्जन गरेको सम्पत्ति उनीहरुले पारिवारिक सदस्य, नातेदार र कामदारको नामबाट खरिदबिक्री गरेको देखिएको थियो। उनीहरुले बढीजसो ७० वर्ष उमेर पुगेका पारिवारिक सदस्य र कामदारका नामबाट आर्थिक कारोबार गरिरहेको अनुसन्धानमा पाइएको थियो।
विभागको अनुसन्धानमा सबैभन्दा लामो सम्पत्तिको फेहरिस्त लामाको देखिएको छ। काभ्रे, खहरेपाँगुका लामा र उनको परिवारका नाममा विभिन्न कम्पनी, पेट्रोल पम्प र जग्गामा लगानी देखिएको छ। उनले आफूसहित बाबु, श्रीमती र भाइका नाममा सम्पत्ति राखेका थिए। लामाको नाममा काठमाडौं, भक्तपुर र ललितपुरमा २ सय ५ रोपनी जग्गा छ। सिरुवा निर्माण कम्पनी, वाइबा कन्स्ट्रक्सन कम्पनी, स्मृति निर्माण फर्म र मेलम्ची क्रसर उद्योग उनको नाममा दर्ता छ। कोटेश्वरस्थित जिएलएन आयल स्टोरमा पाँच लाख, पुरानो बानेश्वरको न्यु लक्ष्मी आयल स्टोरमा भाइका नाममा पाँच लाख लगानी अनुसन्धानमा देखिएको थियो।
लामापछि धनी देखिएका पर्शुरामको पनि नगद मौज्दात धेरै खुल्न सकेको छैन। उनी र उनका सहयोगी मुकेश बस्नेतका नाममा मोरङमा ४२ रोपनी जग्गा देखिएको थियो। मोरङमा उनकी श्रीमती र सहयोगीका नाममा घर तथा जग्गा भए पनि ती सबै बिक्री गरिसकेको देखिएको थियो। उनी र उनका सहयोगीका नाममा तीनवटा गाडी र तीनवटा मोटरसाइकल, एडजोन एड्भरटाइजिङ, पिआर हार्डवेयर, बगलामुखी बिल्डर्स, गजलक्ष्मी ट्रेड, मेरो ट्राभल्स, वेलकम पार्टी प्यालेस र टेकेन्› निर्माण सेवा रहेको दाबी आरोपपत्रमा गरिएको थियो। नेपाल बजार इन्टरनेसनलमा २१ हजार कित्ता सेयर पनि उनको नाममा फेला परेको थियो।
दीपक मनाङेको नाममा कुनै पनि अचल सम्पत्ति फेला परेको थिएन। उनकी श्रीमतीका नाममा काठमाडौंमा करिब तीन रोपनी जग्गा र घर तथा नुवाकोटमा ७७ रोपनी १३ आना जग्गा फेला परेको थियो। उनको गोसाइँकुण्ड क्रसर रोडा ढुंगाको नाममा मकवानपुरमा १४ कट्ठा जग्गा खुलेको थियो। विभिन्न बैंकमा उनको नाममा २ हजार ५ सय ६२ रुपैयाँ रहेको खुलेको थियो भने उनकी श्रीमतीका नाममा ५६ हजार देखिएको थियो। दीपकको नाममा गोसाइकुण्ड क्रसर, ओम मल्टिपरपोज, इच्छामाई र वेस्ट पोइन्ट ढुंगा रोडामा गरी करिब ५० लाख सेयर लगानी रहेको आरोपत्रपमा दाबी गरिएको थियो।
चक्रे मिलनको चल र अचल दुवै सम्पत्ति कम मात्र खुलेको थियो। काठमाडौंमा उनको नाममा सात आना जग्गा र बैंकमा २ लाख ४८ हजार रुपैयाँ तथा परिवारको नाममा काठमाडौं र गोरखामा गरी करिब ३० रोपनी जग्गा देखिएको थियो।
प्रकाशित: २६ पुस २०७२ २१:१० आइतबार





